बेलायतमा पहिलोपटक कोभिड-१९ बिरामीहरूमा भ्याक्सिन प्रयोग

बेलायतमा कोभिड–१९ बिरामीहरूलाई बिहीबार पहिलोपटक कोरोना भाइरस खोप लगाइएको छ, जुन सफल हुनेमा विशेषज्ञहरू ८० प्रतिशत विश्वस्त छन्।

परीक्षणका लागि छानिएका ८ सय जनामध्ये दुईजना स्वयंसेवकलाई भ्याक्सिन लगाइएको छ। अक्सफोर्ड विश्वविद्यालयको एक टोलीले तीन महिनाको अनुसन्धानपछि उक्त भ्याक्सिन तयार पारेको हो।

परीक्षणका लागि छानिएकामध्ये आधालाई कोरोना भाइरसविरुद्धको खोप र अर्को आधालाई मेनिन्जाइटिसविरुद्धको खोप लगाइने छ। दुईमध्ये कुनचाहिँ खोप लगाइयो भन्ने जानकारी बिरामीहरूलाई नदिइने चिकित्सकले बताएका छन्।

पहिलो चरणको खोपका लागि छानिएका दुईमध्ये एक एलिसा ग्रानाटो भन्छिन्, ‘म एक वैज्ञानिक हुँ, त्यसैले म जहाँ भए पनि वैज्ञानिक प्रक्रियालाई सहयोग गर्न चाहन्थें।’

जेनर इन्स्टिच्यूटका भ्याक्सिनोलोजीका प्राध्यापक सारा गिलबर्टले पूर्व परीक्षण अनुसन्धानको नेतृत्व गरेकी थिइन्। उनले यो खोप प्रभावकारी हुनेछ भन्नेमा आफू ८० प्रतिशत विश्वस्त रहेको बिबिसीले जनाएको छ।

‘व्यक्तिगतरुपमा यो खोप सफल हुन्छ भन्नेमा मलाई विश्वास छ। अवश्य पनि, हामीले यसको परीक्षण गर्नुपर्नेछ र परीक्षण गरिएका व्यक्तिहरुबाट तथ्याङ्क लिनु पर्छ,’ उनले भनिन् ‘हामीले यो भ्याक्सिन वास्तवमै प्रभावकारी हुने भन्ने कुरा प्रमाणित गर्नपर्ने हुन्छ र जनमानसमा यसको व्यापक प्रयोग गर्नुअघि कोरोनाभाइरस संक्रमित हुनबाट रोक्नपर्छ।’

यो भ्याक्सिन चिम्पान्जीबाट लिइएको साधारण चिसो भाइरसको कमजोर संस्करणबाट बनाइएको हो र यसलाई मानवमा बढ्न नसक्ने गरी अनुकूलित गरिएको छ।

अनुसन्धानकर्ताहरुका अनुसार यो ईन्जेक्सन लगाइएपछि बिरामीको कोशिकाले कोरोनाभाइरस प्राेटिन उत्पादन गर्न थाल्छ।

त्यसपछि  यसले बिरामीमा रोग प्रतिरोधात्मक शक्तिलाई क्रियाशिल बनाउँछ र एन्टिबडीहरू उत्पादन गर्न मदत गरी कोरोना संक्रमणलाई नष्ट गर्ने ‘किलर टी–सेल’ हरूलाई सक्रिय पार्छ।

बिरामी पुनः कोरोनाभाइरसको सम्पर्कमा आएमा सोही  एन्टिबडी र टी–सेलहरू क्रियाशिल भई भाइरसलाई लक्षित गर्ने र मार्ने काम गर्छ।

‘यदि हामीले त्यसलाई समात्न सकेनौं भने, हामी भ्याक्सिनले केही महिनामा काम गर्छ कि गर्दैन भन्न सक्दैनौं।,’ गिलबर्टले थपिन्, ‘तर हाम्रो अनुमानमा यस रोगका थप घटनाहरू भविष्यमा पनि आउनेछन् किनकि यो भाइरस हटिसकेको छैन।’

अनुसन्धानकर्ताहरुले आगामी केही महिनामा लगभग पाँच हजार व्यक्तिमा एउटा अर्को व्यापक परीक्षण गर्ने जनाएका छन्। 

एजेन्जी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय