भुल्केका वडाध्यक्ष भन्छन्- ‘जनता आत्तिएका छन् तर जाँच गर्ने सामग्री र स्वास्थ्यकर्मी छैनन्’

उदयपुर त्रियुगा नगरपालिका–३ भुल्के यतिबेला कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ। यहाँको एउटा मस्जिदमा बसिरहेका र वरिपरिका स्थानीयमा समेत लगातार संक्रमण देखिएपछि अहिले सबैको ध्यान भुल्केमै छ।

भुल्केलाई अहिले पूरै सिल गरिएको छ। बस्तीबाट कसैलाई पनि बाहिर जान दिइएको छैन भने बाहिरबाट पनि भुल्केमा कसैलाई प्रवेश दिइएको छैन।

वडाध्यक्ष अवधेशकुमार चौधरीका अनुसार भुल्केसँगै सुन्दरपुर, सिवाइ, गाईघाटबजार, जामे मस्जिद क्षेत्र, जलजले, मोथ्याइ, जोगिदह र देउरी क्षेत्रलाई ‘डेन्जर जोन’ का रूपमा पहिचान गरिएको छ।

सुरुमा भुल्केको नुरी मस्जिदमा बसिरहेका ११ भारतीय मुस्लिमलाई भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसपछि त्यो क्षेत्रमा परीक्षण गरिँदा अररूलाई पनि संक्रमण देखिएको हो। अहिलेसम्म यहाँ २८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

पूर्वीनाकाबाट छिरेका ती भारतीय धार्मिक यात्राका क्रममा विभिन्न जिल्लाका थुप्रै मस्जिदमा बस्दै गत चैत ४ मा नुरी मस्जिद आइपुगेका थिए। उनीहरू त्यहाँ बसिरहेको एक महिनापछि मात्रै स्वास्थ्य परीक्षण गरियो। लकडाउनपछि पनि उनीहरू मस्जिदमै बसिरहेको थाहा पाएपछि स्थानीयले प्रशासनलाई खबर गरेका थिए।

‘उनीहरू लकडाउनभन्दा पहिला नै यहाँ आइसकेका थिए। गाउँमा थुप्रै मानिस पनि लकडाउनभन्दा अघि नै आइसकेका थिए। तर, हामीले लकडाउनभन्दा अघि आएकालाई बेलैमा परीक्षण गरेनौं,’ वडाध्यक्ष चौधरीले भने, ‘त्यो हाम्रो गल्ती भयो। हामीले पहिला नै परीक्षण गर्नुपर्ने थियो।’

तर, अब तत्काल परीक्षणलाई व्यापकता दिने बेलामा स्वास्थ्य सामग्री भने छैन। उनका अनुसार अहिले स्वास्थ्य सामग्री तथा स्वास्थयकर्मीसमेत भुल्केमा छैनन्।

‘यहाँमात्रै होइन, पूरै उदयपुर नै अहिले त्रासमा छ। हामीले कम्तिमा भुल्केका सबैजनाको परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘तर, हामीसँग पर्याप्त स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पनि छैनन्। भएको टेस्ट किट पनि सकिएको छ।’

करिब ८ हजार ६ सय ३० जनसंख्या रहेको भुल्केमा अहिलेसम्म जम्मा ३ सयजनाको मात्रै परीक्षण भएको छ। उनका अनुसार बिहीबार करिब २ सयजनाको परीक्षण सक्ने तयारी थियो। तर, सामग्री र स्वास्थ्यकर्मी अभावका कारण परीक्षण गर्न नसकिएको चौधरीले बताए।

‘मान्छे त सबै आत्तिएका छन् नि। हामीले कसैलाई पनि बाहिर ननिस्किन भनेका छौं र नयाँ मान्छेलाई प्रवेशमा रोक लगाएका छौं,’ उनले भने, ‘भुल्के त अहिले पूरै जोखिममा गइसक्यो।’

अध्यक्ष चौधरीका अनुसार भुल्केमा करिब ३ सय परिवार मुस्लिम समुदायको बस्ती छ।

उदयपुरमा एउटामात्र जिल्ला अस्पताल छ, जुन कोरोना परीक्षणको अस्पताल भने होइन। अस्पतालमा केही आइसोलेसन बेड भए पनि आइसियु भेन्टिलेटर बेड भने छैनन्। अस्पतालमा १३ स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा एकजना डाक्टर छन् भने चारजना करारमा छन्।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य उपकरण अभावले बिरामीलाई विराटनगर वा धरान पठाउनुपर्ने अवस्था छ।

‘हामीले उदयपुरमै ल्याब र अस्पतालका लागि प्रदेश र संघीय सरकारसँग माग गरेका छौं,’ अध्यक्ष चौधरीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय