तत्काल ११ सयजनाको कोरोना परीक्षण गर्नुपर्ने भुल्केमा किट छैन, संक्रमितले मास्क दिएका ८ सय २० को खोजी

२८ जनामा संक्रमण प्रमाणित भएको उदयपुरको भुल्के क्षेत्रमा संक्रमितसँगको सम्पर्कका आधारमा तत्काल १ हजारभन्दा माथि संख्याको  परीक्षण गर्नुपर्ने देखिएको छ। पहिलो चरणमा नगरपालिका, जिल्ला स्वास्थ्य कार्यलय, नेपाली सेनालगायत सरोकारवालाले संकलन गरेको विवरणका आधारमा १ हजार १ सयहाराहारीको तत्कालै परीक्षण गर्नुपर्ने देखिएको छ। विज्ञका अनुसार समुदायस्तरका व्यक्तिमै देखिइसकेको अवस्थामा अहिले सकेसम्म सबैमा पिसिआर परीक्षण गर्नुपर्ने हुन्छ।

सम्बन्धित क्षेत्रलाई पूर्णरूपमा सिल गरे पनि तत्कालै परीक्षण गरेर संक्रमितलाई आइसोलेसनमा नराख्दासम्म अहिले जोखिम झन् बढ्न सक्छ।जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख मोहन सुवेदीका अनुसार सुरुदेखि हालसम्म सो क्षेत्रका ५ सय १४ जनामा कोरोना परीक्षण भइसकेको छ। अहिले २८ संक्रमित देखिएको भुल्के क्षेत्रमा आउजाउ बन्द गरिएको छ।

सुवेदीका अनुसार काठमाडौंबाट पिसिआर मेसिन र थप परीक्षणका लागि रिएजेन्टलगायत सामग्री दुई दिनभित्र आइसक्ने बताए। ‘अहिले सबैलाई क्वारेन्टाइनमा सामाजिक दूरी कायम गरेर राख्ने हो,’ लक्षण देखिएमा तत्कालै परीक्षण गर्ने र अब सबैको १४ दिन पछाडि परीक्षण गर्ने हो,’ सुवेदीले भने ।

बिहीबार प्रदेश सरकारका सामाजिक विकासमन्त्रीसहितको टोली त्रियुगा आएर संक्रमितले भुल्केको मस्जिद आउनुपूर्व बास बसेको शिवयी र खाना खाएको मोतिहाई क्षेत्रमा ५८ जनाको स्वाब लिएर परीक्षण सुरु भएको छ। तर, परीक्षणका लागि पर्याप्त किट नभएका कारण समुदायस्तरमा परीक्षण गर्न सकिएको छैन।

त्रियुगा नगपालिकाका स्वास्थ्य संयोजक अवधनारायण चौधरीका अनुसार अहिले पहिलो चरणमा संक्रमितको परिवार, छिमेकी, उनीहरूले प्रत्यक्ष भेटेका मान्छेबाट परीक्षण सुरु गर्ने तयारी भएको बताए। अहिले त्रियुगाको भुल्केबाहेक मुस्लिम समुदायको बसोबास रहेको र मस्जिदमा आउजाउ रहेको हुन सक्ने ठूलो समूह वडा नम्बर ५, १० र १२ का पनि ठूलो संख्याको परीक्षण गर्न जरुरी छ।

बिहीबार प्रदेश सरकारका सामाजिक विकासमन्त्रीसहितको टोली त्रियुगा आएर संक्रमितले भुल्केको मस्जिद आउनुपूर्व बास बसेको शिवयी र खाना खाएको मोतिहाई क्षेत्रमा ५८ जनाको स्वाब लिएर परीक्षण सुरु भएको छ। तर, परीक्षणका लागि पर्याप्त किट नभएका कारण समुदायस्तरमा परीक्षण गर्न सकिएको छैन।

भुुल्केमा पहिलोपटक मस्जिदमा बस्दै आएको १६ को परीक्षण गर्दा एक स्थानीयसहित १२ जनामा संक्रमण भेटिएको थियो। पछि सोही समूहका थप तीनसहित २८ मा संक्रमण प्रमाणित भइसकेको छ। त्रियुगा नगरपालिका-३ को नुरी मस्जिदमा भेटिएका १६ संक्रमितले आवतजावत गरेको चौदण्डीमा स्थानीयको स्वाब परीक्षण थालिएको छ।

बिहीबार चौदण्डी-५ मुस्लिम समुदायका ५८ जनाको स्वाब परीक्षण गरी विराटनगर पठाइएको त्रियुगाका मेयर बलदेव चौधरीले बताए।
नुरी मस्जिदमा बसिरहेका भारतबाट आएका १२ र चार नेपालीमा पहिलोपटक परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उनीहरू फत्तेपुरबाट चौदण्डी हुँदै भुल्के आएका थिए।

भुल्के आइकन पनि उनीहरू चौदण्डीको मुस्लिम बस्तीमा आवतजावत गरिरहन्थे। ‘सिवाहीको मुस्लिम बस्तीमा हामीले परीक्षण थालेका छौं, परीक्षण गर्ने क्रम जारी छ,’ चौधरीले भने। भुल्केमा गरिएको परीक्षणमा हालसम्म २८ जना संक्रमित भेटिइसकेका छन्। भुल्केमा भने किट सकिएपछि अहिले परीक्षण रोकिएको छ।

संक्रमितले मास्क दिएकाहरूकाे खोजी
‘काठमाडौंबाट आज साँझसम्म आउने कुरा छ,’ मेयर चौधरीले भने। यता, भुल्केमा मास्क बनाएर वितरण गर्ने श्रीमान-श्रीमतीमै कोरोना देखिएको छ। ती दम्पतीले भुल्के सामुदायिक वन उपभोक्ता समूहको अर्डरमा ८ सय २० थान मास्क बनाएर करिब ४ सय घरपरिवारमा बाँडेका थिए।

मास्क सिलाएर बाँड्ने दम्पतीमै कोरोना संक्रमित रहेको पाइएपछि त्रियुगा नगरपालिका त्यसको खोजीमा लागेको छ।

‘मास्क बनाएर बाँडिएको थाहा भएको छ, कहाँ-कहाँ बाँडिएको थियो भन्ने हामी अनुसन्धानमा जुटेका छौं,’ मेयर चौधरीले भने।

उक्त घरमा ती दम्पतीका एक बुहारी, एक नातिनी, एक नाति छन्। उनीहरू सबैको परीक्षण आवश्यक देखिएको छ। मास्क विवरणको अवस्था पत्ता लगाउन जिल्ला स्वास्थ्य कार्यालयको टोली शुक्रबार भुल्के जाँदैछ।

‘त्यहाँ गएर बुझेपछि मात्रै यथार्थ भन्न सकिने भयो,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय