काठमाडौंका चार नगरपालिकामा हात धुने ५० स्टेसन

उपत्यकामा शरीर निसंक्रमणका ५० वटा स्टेसन स्थापना गरिएको छ। काठमाडौं, ललितपुर, कीर्तिपुर र मध्यपुरठिमी नगरपालिकासँगको सहकार्य र वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गुथी नामक गैरसरकारी संस्थाले उपत्यकाका चारवटै नगरपालिकामा ५० वटा स्पर्शरहित हात धुने स्टेसन राखेको हो।

काठमाडौं महानगरपालिका-१५ भुइँखेलमा बिहीबार शरीर निसंक्रमण स्टेसनको महानगरका मेयर विद्यासुन्दर शाक्यले शुभारम्भ गरे। अहिले लकडाउनको बेलामा पनि अत्यावश्यक कार्यमा निस्कने कर्मचारीहरू र सर्वसाधारणका लागि स्पर्शरहित हात धुने स्टेशन प्रभावकारी रहने अपेक्षा गरिएको छ। यस संयन्त्रलाई खुट्टाले प्याडललाई दबाएपछि धाराबाट पानी झर्ने र छोडेपछि बन्द हुने हुन्छ। यो स्पर्शरहित हात धुने प्रविधि वाटर एड नेपालले निर्माण गरेको हो।

भुइँखेलमा हाल काठमाडौं महानगरपालिकाले असहाय, विपन्न र दैनिक ज्याला मजदुरी गरी खानेका लागि खाना खुवाउने व्यवस्था गरेको छ। सो स्थानलाई सेनिटाइजर ‘टनेल’ राख्ने उपयुक्त स्थानको रुपमा छनौट गरिएको हो। यस सेनिटाइजर टनेलले इफेक्टिभ माइक्रो अर्ग्यानिजम झोल स्प्रे गर्छ र शरीरभरि रहेका सूक्ष्म जीवाणुलाई निष्क्रिय पार्ने बताइएको छ।

हाल उपत्यकाका विभिन्न स्थानमा किटाणुनाशक रसायन छर्ने काम भइरहेको छ। ठाउँ-ठाउँमा ब्लिचिङ पाउडर, मालाथिन र क्लोरिन छर्किने काम जारी छ। तर, रासायनिक विषादीको प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पर्दछ। यसले मानिसको छाला, आँखा, नाक, घाटी र श्वास प्रश्वास प्रणालीमा असर गर्नुका साथै विभिन्न स्वास्थ्य समस्या जस्तै क्यान्सर, दम जस्ता रोगको कारक बन्न सक्छ।

चीनमा पनि सुरू-सुरूमा व्यापक रुपमा कीटाणुनाशक रसायन छरिए पनि यसले सकारात्मक भन्दा नकारात्मक असर बढी देखाएपछि चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यसलाई रोक्न निर्देशन दिएको थियो। हाल कोभिड–१९ बाट बच्ने सबैभन्दा प्रभावकारी उपाय साबुनले कम्तीमा २० सेकेण्डसम्म हात धुनु रहेको छ। तर, कोभिड–१९ भाइरस विभिन्न सतहमा तीन दिनसम्म बाँच्न सक्ने भएकाले धाराको नलजस्ता सतह संक्रमित भई भाइरस सर्न सक्ने सम्भाव्यतालाई न्यूनीकरण गर्न स्पर्शरहित हात धुने स्टेशनको स्थापना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय