हटस्पट ‘भुल्के’ मै बस्यो विशेष बैठक : कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टाइन नै मुख्य चुनौती

त्रियुगा नगरपालिका-३ स्थित भुल्केमा यतिखेर सबैको ध्यान केन्द्रित छ।

केही साताअघिसम्म सदरमुकाम गाईघाटवरपरका बासिन्दाले मात्रै चिनेको भुल्केलाई अहिले सबै टिभी, रेडियो, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमले देशभरि नै चिनाइ दिएका छन् ।

भुल्केमा मात्रै २९ जनामा कोरोना भाइरस माहामारीको संक्रमण देखिएपछि यो देशकै ‘हटस्पट’ बनेको छ ।

यही ‘हटस्पट’ मा बिहीबारमात्रै प्रदेश १ का स्वास्थ्य तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेको उपस्थितिमा त्रियुगा नगरपालिकाका प्रमुख, चारवटै सुरक्षा निकायका प्रमुख, सांसदहरू, प्रमुख राजनीतिक दलका प्रतिनिधिसमेतको बैठक बसेको छ।

भुल्केस्थित नुरी मस्जिदमा चैत ४ गते आएर बसेका १२ जना भारतीयका बारेमा स्थानीय प्रशासनले १२ गते नै थाहा पाएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए।

‘हाम्रो टोली गस्तीमा आउँदा यहाँको मस्जिदमा उहाँहरू आएर बस्नु भएको थाह पाएर लकडाउनसँगै निगरानीमा राखेका थियौं,’ बैठकमा प्रहरी उपरीक्षक बुढामगरले भने, ‘पहिलो चरणमा आरडीटी परीक्षण गर्दा सबैका नेगेटिभ आए पनि हामीले त्यत्तिकै छाडेनौं। सिडिओ साबसँगको परामर्शपछि पिसीआर परीक्षण गर्दा पोजेटिभ देखियो ।’

उनीहरूमा कोरोना पोजेटिभ देखिएलगत्तै स्थानीयवासीहरूमा पनि परीक्षण गरिँदा हालसम्म २९ जनामा यसको संक्रमण देखिएकाले अब नगरपालिका क्षेत्रलाई पूरै सिल गरेर सम्भाव्य ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुको विकल्प नभएको नगर प्रमुख बलदेव चौधरी बताउँछन् ।

भुल्केमा संक्रमित देखिएकामध्ये एक जना दुबईबाट आएको र अन्य दुई भारतबाट आएका पाइएकाले मस्जिदमा रहेका जमातीहरूभन्दा अन्य व्यक्तिबाट कोरोना संक्रमण फैलिएको निष्कर्ष बैठकमा निकालिएको छ । ती तीनमध्ये एक जना अटो रिक्सा चालकका पाँच जना परिवारमै संक्रमण पुष्टी भएको छ । ती अटो रिक्सा चालक चैत ३ गतेमात्र भारतको उत्तर प्रदेशबाट फर्केका थिए ।

बैठकमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी तीनै सुरक्षा निकायका प्रमुखहरूले नगर क्षेत्रलाई सिल गरेर परीक्षण गर्नका लागि काठमाडौंसहित देशका अन्य क्षेत्रबाट दैनिक रूपमा भित्रने ५० देखि १०० जना जिल्लावासीले चुनौती सिर्जना गरेको बताए ।

‘उहाँहरू के–कसरी लालपत्ता (उदयपुर, सिरहा र सप्तरीको सीमाना)सम्म आइपुग्नु हुन्छ । उहाँहरूलाई तत्कालै लालपत्तामै क्वारेन्टिनमा राख्ने व्यवस्था नभएर संक्रमण अझ फैलन सक्ने जोखिम छ,’ प्रहरी प्रमुख बुढामगरले भने ।

२०३६ सालपछि बस्तीका रूपमा विकसित भएको भुल्के मिश्रित जनघनत्व भएको ठाउँ हो । त्यसभन्दाअघिसम्म आदिवासी जनजाति समुदायका राजधामी, थारुहरूको सीमित बस्ति रहेको भुल्केमा ०३६ सालपछि ओखलढुंगा र खोटाङतिरबाट क्षेत्री, बाहुन, बोटे, राई, मगरसहितका अन्य जाति र सिरहा, सप्तरीसहित दक्षिणतिरबाट चुराको व्यापार गर्ने मुश्लिम समुदायको बसाइसराई भई बस्ति विकसित भएको हो ।

उदयपुर सदरमुकाम गाईघाटबाट करिब ३ किलोमिटर दूरीमा रहेको भुल्केमा रहेका मुसलमान समुदायले तरकारी उब्जनी गरी गाईघाटदेखि बेल्टारसम्म आपूर्ति गर्थे भने क्षेत्री, बाहुन, बोटे, राईसहितका अन्य समुदायले गाईघाटको दूध आपूर्ति धानेको थियो ।

भुल्केमा त्रियुगा नदी वारि र पारि तथा लुहाले खोला वारिपारि गरी ३६५ घर परिपारको बसोवास छ, जसमध्ये ५६ परिवार मुसलमान हुन् भने ४२ परिवार राजधामी, थारु समुदायका हुन् ।

प्रजातन्त्र प्राप्तिपछि २०४८ सालमा गाईघाटसम्म सडक विस्तार गरिने भएपछि भुल्केमै जिल्ला सडक कार्यालय स्थापना गरिएको थियो भने २०५२ सालमा गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग बनाउने कार्य थालिएपछि भुल्केमा चहलपहल बढ्न थालेको थियो ।

नगर क्षेत्रबाट अलिकता टाढा, वनको छेउ निकै बिगाह क्षेत्रफलमा रहेको सडक कार्यालयलाई २०५८ सालमा माओवादी द्वन्द्वताका नेपाली सेनाको ब्यारेकमा परिणत गरियो । त्यो बारेकमा हाल नेपाली सेनाको १८ नं बाहिनी बस्दै आएको छ । जुन संक्रमण फैलिएको बस्तिबाट करिब ५०० मिटरमात्रै दूरीमा छ ।

भुल्के भनिए पनि त्यहाँ भुल्के बगर टोल, बोटे टोल, ठाडीलगायतका ससाना बस्तिहरू छन् । झुरुप्प परेको बस्ति भएको र अत्यधिक संक्रमित भएका समुदायको बढी घुलन भएकाले जिल्ला सदरमूकाम गाईघाटदेखि मोथियाही, जोगिदह, मोतिगडालगायतका अन्य बस्तिहरू पनि अहिले बढी संक्रमणको जोखिममा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय