औषधि बोकेर घर–घरै पुग्छन् तुलसीपुरका मेयर

दाङ तुलसीपुर उपमहानगरपालिका–१५ पहेलपारका वासुदेव रेग्मी लामो समयदेखि नशाजन्य रोगको औषधि सेवन गर्दै आएका छन्। लकडाउनका कारण करिब १५ किलोमिटर टाढाको तुलसीपुर बजार जान उनलाई निकै गाह्रो छ। सामाजिक सञ्जालबाट प्राप्त सूचनाका आधारमा उनले उपमहानगरपालिकाको टोलफ्री नम्बरमा फोन गरे। फोन गरेको केही घन्टामै नगरप्रमुख घनश्याम पाण्डे औषधि बोकेर उनकै घर आए।

औषधि कहाँबाट ल्याउने भन्ने चिन्तामा रहेका रेग्मी घरमै औषधि पाउँदा निकै खुसी देखिए।

‘औषधि सकिन लागेको थियो घरमै सेवा पाएपछि ढुक्क भएँ,’ रेग्मीले खुसी व्यक्त गरे। रेग्मी यस्तो सेवा लिने पहिलो दीर्घरोगी हुन्। उनलाई औषधि दिएर नगरप्रमुख पाण्डेले सेवा सुरुवात गरे।

उपमहानगरपालिकाले दीर्घरोगी बिरामीलाई घरमै औषधि पुर्‍याउने कामको सुरुवात गरेको नगरप्रमुख पाण्डेले बताए। उनले लकडाउनका कारण बिरामी बजारसम्म आउन नसक्ने भन्दै उपमहानगरपालिकाको समन्वयमा घरसम्मै औषधि पुर्‍याउन लगिएको बताए।

दीर्घरोगीले उपमहानगरपालिकाको टोलफ्री नम्बर १६६०८२५२००० मा सम्पर्क गरेपछि उनीहरूलाई आवश्यक औषधि घरैसम्म लैजाने गरिएको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिए।

‘प्रेसर, सुगर र दमको औषधि हामीले निःशुल्क उपलब्ध गराएका छौं,’ केसीले भने। उनले वडा–वडामा रहेका स्वास्थ्य केन्द्रमार्फत् औषधि वितरण गरिने बताए। औषधि आवश्यक भएको मान्छे चिकित्सकले दिएको पर्चा लिएर आफैं आउन सक्ने या आवश्यकताअनुसार उसलाई घरमै औषधि पुर्‍याउने उनको भनाइ छ।

यसैबीच अन्य दीर्घरोगका औषधि सेवन गरिरहेकालाई पनि उपमहानगरपालिकाले घरमै औषधि उपलब्ध गराएको छ।

नेपाल फार्मेसी एसोसिएसन दाङका अध्यक्ष सुलभ अधिकारीका अनुसार मानसिक, मुटुजन्य, नशाजन्य, थाइराइड साथै जटिलखालको मधुमेहलगायत रोगका औषधि घरमै पुर्‍याइने गरिएको हो।

‘हामीलाई फोन सम्पर्क गर्नुभयो भने हामीले व्यवस्था गरेको फार्मासिस्टले घरमै औषधि पुर्‍याएदिन्छन्,’ अधिकारीले भने।

दीर्घरोगीलाई घरसम्म औषधि पुर्‍याएवापत् कुनै अतिरिक्त शुल्क नलाग्ने पनि उनले जानकारी दिए। ‘फार्मेसीसँग सम्बन्धित व्यक्तिबाट औषधि पुर्‍याइने भएकाले आवश्यक परामर्श पनि दिइन्छ,’ अध्यक्ष अधिकारीले भने।

उपमहानगरपालिकाभित्र २ हजार २ सय ३३ जना दीर्घरोगी रहेको जनस्वास्थ्य शाखाको तथ्यांक छ। जसमा १ हजार १ सय ६८ मुटुजन्य, ४ सय ३९ मधुमेह, ४ सय ५१ दमजन्य र अन्य १ सय ७५ बिरामी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय