कोरोना कहर : संसद बसाल्न सचिवालय तयार, सरकारको नजरमा ‘असम्भव’

गत वर्ष २०७६ वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन्। तर, यसपालि त्यो कहिले हुने अझै निश्चित छैन।

संविधानमै हरेक वर्ष जेठ १५ गते सरकारले बजेट वक्तव्य पेस गर्नुपर्ने प्रावधान छ। सोहीअनुरसार कम्तिमा एक महिनाअघि जस्तो नीति तथा कार्यक्रम प्रस्तुत गराइ छलफल अगाडि बढाउन संसदको बर्खे अधिवेशन सुरु गर्ने तयारी सरकारले बेलैमा थाल्छ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण उत्पन्न सन्त्रास र एक महिनायताको लकडाउनले संसदको बर्खे अधिवेशन पनि अन्योलमा परेको हो। सरकार आफैं कोरोना नियन्त्रणको चुँलिदो चुनौती र लगातारका विवादित प्रकरणले रनभुल्ल परेका बेला संसदको विषयलाई प्राथमिकतामा राख्न नसकेको देखिएको छ।

संघीय संसद सचिवालयले चाहिँ कोरोना सन्त्रासबीच पनि सुरक्षित ढंगले संसद बैठक राख्न आवश्यक तयारी गरिरहेको जनाएको छ।

संघीय संसद सचिवालयका कार्यवाहक महासचिव तथा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सरकारले संसद बैठक आह्वान गरे प्रतिनिधिसभा भवनमा दुरी कायम गरेर बस्न सकिने बताए।

‘छुट्टाछुट्टै सदन राख्न त्यति ठूलो समस्या पर्दैन। हामीसँग पर्याप्त स्पेस छ,’ योगीले भने, ‘नीति तथा कार्यक्रम आएको खण्डमा अहिले जसरी राखिएको छ, त्यसमा परिमार्जन गर्न सकिने छ। एउटा कुर्सीको स्पेस खाली राखी सुरक्षित बसाइ गराउन सकिन्छ।’

सरकारको नीति तथा कार्यक्रम र बजेटको दिन दुवै सदन संयुक्त रूपमा बस्ने भएकाले केही चुनौती हुन सक्ने भए पनि समस्या आउन नदिने योगीले बताए।

‘दुईदिन नै प्रतिनिधिसभाको हलमा बस्ने गरेका छौँ, ठाउँ छ, पहिले ६ सय १ जना माननीयहरू बस्नु भएको थियो। तर अहिले सांसद संख्या अलि थोरै भएकाले पनि एउटा कुर्सी ग्याप राखेर बैठक राख्न सकिने हाम्रो निष्कर्ष हो,’ योगीले भने।

संसद सचिवालयले लकडाउनको समयमा कर्मचारीलाई बिदा दिए पनि आवश्यक पर्दा तत्काल कार्यालय बोलाउन सकिने उनले बताए। प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सांसद छन्।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले पनि लकडाउनका कारण संसदको बैठक आह्वान हुन नसके पनि तयारी चलिरहेको जनाएको छ।

‘सम्माननीय सभामुखज्यूको निर्देशनअनुसार सामाजिक र भौतिक दुरी कायम हुने गरी बैठक राख्न संघीय संसद सचिवालय जुनसुकै बेला तयार रहेको जानकारी आएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने।

संसद आह्वान गर्ने सम्भावना छैन : थापा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चाहिँ संसद भवनको विद्यमान संरचनामा संसद बैठक आह्वान गर्न नसकिने बताए।

‘अहिले केही तयारी छैन, लकडाउन छ। बस्ने ठाउँ पूर्ववत अवस्थामा रहँदा बैठक सम्भव हुँदैन। सामाजिक दुरी कायम गर्नुपर्ने हुन्छ। संख्या के–कति हुन्छ,’ थापाले भने, ‘यही अवस्थामा संसद बैठक कहिले बस्छ भन्ने केही टुङ्गो छैन।’

नीति तथा कार्यक्रमको तयारी नियमित ढङ्गले चलिरहेको थापाले बताए। तर, यही अवस्थामा संसद बैठक आह्वान गर्न सम्भव नरहेको उनले प्रष्ट पारेका छन्।

अघिल्लो वर्ष सरकारले ‘आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने’ लक्ष्य राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। आउँदो वर्ष ५ लाख रोजगारी थप्ने र दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार गर्ने लक्ष्य पनि सरकारले राखेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय