लकडाउनमा घर बसेका बच्चालाई कसरी पढाउने, के पढाउने?

बेलायतका पहिलो खेल प्राध्यापकले बालबालिकालाई घरमा दिइने शिक्षा विद्यालयले प्रदान गर्ने शिक्षाजस्तो हुनु नपर्ने र हुन नहुने बताएका छन्।

कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा संसारभरिका असंख्य बालबालिकाका लागि घरेलु सिकाइ नौलो अवसरका रूपमा आएकाले खेल स्वाभाविक रूपमा अगाडि आउने क्याम्ब्रिज विश्वविद्यालयका लेगो प्रोफेसर पल रामचन्दनीले बताएका छन्।

उनका अनुसार बालबालिकाले गरेको सञ्चार प्रयासलाई राम्रोसँग ध्यान दिने, व्याख्या गर्ने र प्रतिक्रिया जनाउने अभिभावकको क्षमताले उनीहरूको वृत्ति विकासमा सकारात्मक प्रभाव पार्दछ भने बालबालिकाको वृद्धिमा पिताले अहं भूमिका निभाउने उनको विश्वास छ।

‘हामीले गरेका अध्ययनहरूले बाबुनानीसँग पिता प्रशन्न चित्तका साथ खेलद्वारा आबद्ध हुँदा उनीहरूको व्यवहार, स्वभाव तथा वृद्धिमा राम्रो परिणाम दिने देखाएको छ,’ रामचन्दनी भन्छन्।

उनका अनुसार कठोर तथा मिहिनेत लगाउनुपर्ने प्रकृतिका खेल तथा शारीरिक क्रियाशिलताले बालबालिकालाई शारीरिक समन्वय र स्वनियन्त्रणजस्ता जीवनयोगी कला सिक्न मद्धत गर्दछ। पिताहरूलाई आफ्ना बालबालिकाका लागि विविध किसिमका रमाइला एवं मनोरञ्जनात्मक खेल तथा गीतसंगीत अभ्यासलगायत गतिविधि पहल गर्न अनुरोध गर्दै उनी भन्छन्, ‘बच्चाले विभिन्न खेल सिक्ने र त्यसमा रमाउने हुनाले कस्तो प्रकारको खेल उपयुक्त हुन्छ भन्नेबारे अभिभावकले चिन्ता लिनुपर्दैन।’

यस्तो खालको उत्साहजनक अभिभावकत्व बालबालिकाको सिकाइका साथसाथै सामाजिक तथा भावनात्मक विकासमा अहं हुने उनको अवलोकन छ। ‘सिकाइको गति तेज गर्न आवश्यक छैन। धैर्य गर्नुस्। जति नै समय लागे पनि बालबालिकाले थालेको क्रियाकलाप उनीहरूलाई नै सम्पन्न गर्न दिनुस्,’ उनी थप्छन्।

उनका अनुसार कुनै पनि गतिविधि सम्पन्न गर्न बालबच्चाले सामना गर्ने तनाव वा दबाबको समाधान भनेको अभिभावकले देखाउने स्वाभाविक हौसला, स्याहार र माया हो।

५१ वर्षे बालमनोविज्ञ रामचन्दनी इम्पेरियल कलेज लन्डनको बालबालिका तथा वयष्क मानसिक स्वास्थ्य विषयका पूर्वप्राध्यापक हुन् भने हाल उनले क्याम्ब्रिज विश्वविद्यालयले सञ्चालन गरेको बालबालिकाको विकासमा खेलको भूमिकामाथिको अनुसन्धानका नेतृत्व गरिरहेका छन्।

आफ्नो पेसा, अध्ययन तथा विभिन्न अनुसन्धानका आधारमा उनले हाल विश्वभरि अभ्यास गरिएको औपचारिक शिक्षाले साना नानीलाई लामो समयसम्म फाइदा नगर्ने चेतावनी दिँदै यस्तो सिकाइको प्रणालीलाई रोक्नुपर्ने वा परिमार्जन गर्नुपर्ने बताएका छन्।

सुरुवाती वर्षमा खेलाइने खुला तथा असंगठित खेलका अवसरले बाबुनानीलाई दीर्घकालसम्म फाइदा पुर्‍याउने तर कक्षा कोठाभित्रका सीमित र संगठित वातावरणको सिकाइले उनीहरूको वृत्तिविकासको आवश्यकता पूरा नगर्ने भन्दै बालबालिकालाई औपचारिक शिक्षण प्रणालीभित्र केही समयपछि मात्र प्रवेश गराइनुपर्ने रामचन्दनीको दाबी छ।

ग्राजुएसनपछि बालबालिकाको मनोविज्ञानमा १० वर्ष लामो तालिम लिएका उनले अधिकांश युवावस्थाका मानिसको मानसिक समस्याको जड उनीहरूको बाल्यावस्थामा रहेको निष्कर्षका साथ बालबालिकाको क्षेत्रमा काम गर्ने निधो गरेका थिए।

औपचारिक सिकाइमाथिको जोडका कारण उनी बेलायती शिक्षा संरचनाको कटुआलोचकका रूपमा उभिएका छन्।

‘सानै उमेरका बालबालिकालाई कक्षा कोठामा प्रवेश गराउने खालको सिकाइ प्रणालीको म विरोधी हुँ,’ एक बालमनोवैज्ञानिका रूपमा सानै उमेरको औपचारिक शिक्षा बालबालिकाको वृत्तिविकासमा सहयोगी नहुने जनाउँदै उनी भन्छन्।

तर, त्यसविपरीत खेलले नै बालबालिकलाई संसारबारे अन्वेषण गर्न, परिणामबारे सिक्न, वस्तु तथा चिज कसरी एकअर्कासँग मेल खान्छन् भन्ने जान्न तथा सम्बन्धले कसरी काम गर्छ भनेर बुझ्न सघाउने उनको मत छ।

स्वतन्त्र रूपमा निजी लगानीमा सञ्चालित विद्यालयहका आकर्षक स्रोतका दाँजोमा राज्यद्वारा सञ्चालित विद्यालयमा स्रोत अभाव हुने गरेकोमा उनी चिन्तित छन्। राज्यद्वारा सञ्चालित विद्यालयमा लगानी बृद्धि गरी प्रतिशिशु बराबर बढी शिक्षक–शिक्षिकाको उपलब्धता होस् भन्ने उनी चाहन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय