कोरोना कहर : यौनकर्मीलाई आर्थिक राहत दिँदै जापान

मिका (परिवर्तित नाम) आजकल चिन्तित छिन्। यौनकर्मीका रूपमा उनले प्रतिदिन तीनदेखि चारजना ग्राहकलाई ‘सेवा’ दिने गर्थिन्।

तर, कोरोना विश्वमहामारी संकट जापान प्रवेश गरेसँगै उनले दिने ‘सेवा’ मा अवरोध आएको छ। मानिसले व्यक्तिगत सम्पर्क त्यागेर घरभित्रै बस्ने नयाँ जीवनशैली अपनाएपछि उनी आम्दानीविहीन बनेकी छिन्।

बचत तथा अन्य आयस्रोत अभावमा उनी अरूसँग केही सापटी लिएर गुजारा चलाइरहेकी छिन्।

त्यसो त उनले अरू जागिर खोज्ने प्रयास नगरेको भने होइन। तर, जापानी अर्थतन्त्रमा आएको संकुचनका कारण उनलाई रोजगारी दिन कोही तयार भएनन्।

यस्तो विषम परिस्थितिमा आफूले हालै लिएको ऋण तिर्ने त परको कुरा, उनलाई घरभाडा तिर्न र आधारभूत आवश्यकता पूर्ति गर्न पनि हम्मेहम्मे परिरहेको छ।

‘बस्ने ठाउँ र जागिरको सुनिश्चितताबारे म चिन्तित छु,’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले चिन्ता पोखिन्, ‘म मेरो स्वास्थ्यबारे चिन्तित छु र त्योभन्दा बढी कसरी जीवन चलाउने भन्नेमा अझ बढी चिन्तित छु।’

कोरोना भाइरसका कारण लागू गरिएको प्रतिबन्धका कारण समग्र जापानभरिका यौनकर्मीले मार खेप्नुपरेको छ।

अर्थतन्त्रमा परेको प्रभावलाई केही मत्थर गर्न केन्द्रीय सरकारले ९ खर्ब ८९ अर्ब अमेरिकी डलरबराबरको बृहत राहत प्याकेज घोषणा गरेको छ।

केही विरोधपछि सरकारले निश्चित सर्त पूरा गर्ने यौनकर्मीलाई पनि राहत कार्यक्रमको परिधिभित्र समेटेको छ। जसलाई अधिकारकर्मीले लामो समयदेखि सामाजिक कलंकको शिकार बनेको यौन उद्योगमा परिवर्तनको संकेतका रूपमा स्वागत गरेका छन्।

तर, अधिकांश यौनकर्मीले राहत घोषणाले नगन्यमात्राको प्रत्याभूति दिएको र योग्यताका लागि बनाइएको नियम प्रतिबन्धात्मक तथा अपारदर्शी भएको टिप्पणी गरेका छन्।

‘सरकारले सबै यौनकर्मीलाई सहयोग गर्ने कुरा स्पष्टररूपमा भनेको छैन,’ मिका भन्छिन्, ‘काम अभावमा खाना खान नपाएका र जीवन निर्वाह गर्न कठिनाइ भोगिरहेका मजस्ता धेरै छन्।’

समावेशिताको लागि लडाइँ

वेश्यावृत्ति अथवा पैसाका लागि राखिने शारीरिक सम्बन्धलाई जापानमा अबैध मानिन्छ। तर, अन्य खालको यौनकार्यलाई बैध मानिएको छ। एक अनुसन्धान संस्थाका अनुसार जापानको यौन उद्योगअन्तर्गत् वार्षिक २४ अर्ब डलरबराबरको आर्थिक कारोबार हुने गर्छ।

मिका बैध मानिएको यौनजन्य उद्योगमा आबद्ध छिन्। तर, राहत कार्यक्रम घोषणा गर्ने क्रममा सरकारले बैधरूपमा सञ्चालित वयष्क मनोरञ्जन तथा यौनजन्य उद्योगलाई त्यसबाट वञ्चित गरायो जसलाई अधिकारकर्मी तथा प्रतिपक्षका सदस्यले विरोध गर्दै त्यस्तो वञ्चितीकरणलाई ‘पेसागत विभेद’ को संज्ञा दिए।

‘सहायता रकम पाउनबाट यौनकर्मीलाई वञ्चित नगरौं। हामी अन्य महिला तथा उनीहरूका बालबच्चा झैं यौनकर्मी महिला तथा उनीहरूका बालबच्चाको संरक्षण चाहन्छौं,’ सेक्स वर्क एन्ड सेक्सुअल हेल्थ नामक पैरवीमा आधारित संस्थाले अप्रिल २ मा सरकारसमक्ष पेस गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

यस्तै आलोचनाका कारण राहत कार्यक्रम घोषणा गरेको केही दिनपछि सरकारले प्रस्तावित योजनाअन्तर्गत् बैधरूपमा कार्यरत यौनकर्मीलाई पनि समावेश गरेको हो।

मस्यौदाको निर्देशिकाअनुसार विद्यालय बन्द भएका कारण बालबालिकाको स्याहार गर्न घरैमा बस्न बाध्य यौनकर्मीका लागि उनीहरूको यौन निकाय तथा रोजगारदाताले राहत पाउनेछन्। यसका साथै कोरोना भाइरसका कारण आम्दानीविहीन यौनकर्मीले प्रत्यक्ष नगद सहायताका लागि पनि आवेदन दिनसक्ने छन् ।

यद्यपि, यस कदमले जापानमा आमजनमतलाई दुई ध्रुवमा विभाजित गरेको छ। जसमध्ये परम्परागत सोच भएका जापानीले करदाताको नगद योगदानलाई यौनकर्मीको सहायतामा लगाएको भन्दै विरोध गरिरहेका छन्।

घर न घाट

तर, अधिकांश यौनकर्मी भने सरकारले आर्थिक सहायता र त्यसका लागि अघि सारेको योग्यतासम्बन्धी नियम अन्योलपूर्ण र परिपूर्ति गर्न कठिन भएको मान्छन्।

उदाहरणका लागि प्रत्यक्ष पाइने नगद सहायता आयको केही हिस्सा गुमाउनेका लागि मात्र उपलब्ध हुने वा ग्राहक र यौनकर्मीबीच मध्यस्थताको भूमिका निभाउने कम्पनीद्वारा कामबाट पूर्णररूपमा निकालिएकाले पाउने हो भन्नेबारे मिका अझै द्विविधामा छिन्।

यसका साथै राहतका लागि आवेदन दिनेले उनीहरूको जम्मा कमाइ र कोरोना भाइरसका कारण गुमेको कमाइको हिस्साबारे लिखित प्रमाण पेस गनुपर्दछ। जुन प्रायः टेबुलमुनि वा अनौपचारिक पारिश्रमिक बुझ्ने र कूल कमाइमा निरन्तर तलमाथि हुने पेसामा आबद्ध यौनकर्मीका लागि अर्को ठूलो चुनौती हो।

आफ्नो कामको संवेदनशील प्रकृति एवं भविष्यमा पर्न सक्ने अप्ठेरोका कारण अधिकांश यौनकर्मीहले कर सहभागिताका क्रममा आफ्नो पेसा र पूरा आयबारे वास्तविकता खुलाएका हुँदैनन्।

त्यसो त यौन पेसालाई कानुनी मान्यता दिइए पनि सामाजिक लाजगाल तथा कलंकका कारण यौनकर्मी आफूलाई खुलेयाम सो पेसासँग जोड्न हिच्किचाउँछन्।

मिकाको हकमा कुरा गर्ने हो भनी उनले आफ्नो जीवन निर्वाहका लागि कुन पेसामा संलग्न छिन् भन्नेबारे उनको आफ्नै परिवारका सदस्यलाई पनि केही जानकारी छैन।

तर, यस किसिमको जानकारी तथा आवश्यक दस्तावेज अभावमा मिकालगायत असंख्य यौनकर्मीले आर्थिक सहायता नपाउने लगभग निश्चित नै छ। यस अवस्थामा उनीहरूका लागि उपलब्ध अर्को वैकल्पिक उपाय भनेको आफूले करमा सच्चा जानकारी लुकाएको भनेर स्विकार गर्नु हो जसले फेरि पनि नयाँ खालका नकारात्मक परिणाम निम्त्याउँछ।

‘आफ्नो कमाइबारे सरकारलाई वास्तविक जानकारी दिन अक्षम हामीजस्ता स्वतन्त्र यौनकर्मीले सरकारद्वारा तोकिएको राहत कसरी पाउने भन्ने विषयमा केही सोच्न सकिरहेका छैनौं,’ मिका भन्छिन्, ‘म राहतका लागि आवेदन दिन चाहन्छु तर मलाई थाहा छैन कसरी। म त वल्लो घाट न पल्लो तिरको अवस्थामा पुगेँ।’

समान मार खेप्दै अन्य देशका यौनकर्मी पनि

सियाभरिका यौनकर्मीले जापानी यौनधन्दामा लागेका माहिलाले झैं कठिनाइ झेलिरहेका छन्। तर, कति राष्ट्रमा भने सरकारले उनीहरूको कठिनाइलाई कम गर्ने प्रयास गरिरहेको छ।

यौनधन्दा तथा वेश्यावृत्तिलाई कानुनी मान्यता प्रदान गर्ने धेरै कम एसियाली राष्ट्रमध्ये बंगलादेश पनि एक हो।

गत महिना बंगलादेशी सरकारले २ हजार यौनकर्मी कार्यरत दौलाडदिया कोठीसहित देशभरका सम्पूर्ण कोठी बन्द गर्न आदेश दियो। उक्त कदमले यौनकर्मीको आर्थिक जीवनमा पारेको कठिनाइलाई कम गर्न सरकारले उनीहरूका लागी घरभाडामा छुट दिनुका साथै २० देखि ३० किलो चामल वितरण गरेको स्थानीय सञ्चारमाध्यम तथा प्रहरीले जनाएका छन्।

उता, यौन व्यवसायलाई पूर्णरूपले गैरकानुनी मानेको मलेसियाले विश्वमहामारीको अवस्थामा राहतको सुविधा प्रदान गरेको छ। उदारहणका लागि त्यहाँको सरकारले घरबारविहीन तथा बेरोजगारका लागि मासिक भत्ता र अस्थायी आवासको व्यवस्था गरेको छ, जसमा सामेल अधिकांश बेरोजगार यौनकर्मी छन्।

यसबारे सबैभन्दा सकारात्मक कथा थाइल्यान्डको छ।

यसको समग्र यौन व्यवसायको आकार वार्षिक ४ देखि ६ अर्ब डलरबराबरको छ, जुन त्यहाँको कूल गार्हस्थ उत्पादन (जिडिपी) को पाँचदेखि १० प्रतिशत हुन आउँछ।

देश बन्दाबन्दीको अवस्थामा प्रवेश गरेपछि यौनकर्मीको आयमा पर्ने असरलाई ध्यान दिँदै थाइ सरकारले उनीहरूका लागि पहिलोपटक बेरोजगारी भत्ता र सहायता अनुदान उपलब्ध गराएको इम्पावर फाउन्डेसनका सदस्य लिज हिल्टनले जानकारी दिए।

‘सुनामी, विभिन्न बाढी तथा अन्य प्राकृतिक प्रकोपको समयमा यस्तो राहत सुविधाबाट वञ्चित थाइ यौनकर्मी कोरोना भाइरस संकटको समयमा भने सरकारद्वारा पहिलोपटक वितरित राहतबाट लाभान्वित भए,’ हिल्टन भन्छन्।

सिएनएनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय