यी हुन् उदयपुरका आठ ‘डेन्जर जोन’

उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केमा २७ जना कोरोना संक्रमित फेला परेका छन्। थप तीनजनाको पुष्टि स्वास्थ्य मन्त्रालयले गरिसकेको छैन।

संक्रमित संख्या बढेसँगै उदयपुरका आठ ठाउँ बढी जोखिममा परेका छन्।

त्रियुगाका मेयर बलदेव चौधरीका अनुसार भुल्केसँगै जोगिदह, मोथ्याइ, जलजले, देउरी, गाईघाट बजार जामे मस्जिद क्षेत्र, चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर र सिवाइ अहिले कोरोनाको ‘डेन्जर जोन’का रूपमा देखिएका हुन्।

चौधरीका अनुसार भुल्केको नुरी मस्जिद क्षेत्र र मुस्लिम समुदायका मानिसमा कोरोना संक्रमण देखिएपछि भुल्केका मुस्लिमको आवतजावत भएका यी आठ स्थानलाई डेन्जर जोनमा राखिएको हो।

‘फत्तेपुरबाट चौदण्डी हुँदै यी आठ स्थानमा संक्रमितको आवतजावत देखिन्छ,’ चौधरीले भने। भुल्केको नुरी मस्जिदमा बसेका १२ भारतीय मुस्लिममा कोरोना संक्रमण देखापरेको थियो। उनीहरूसँगै बसेका अन्य चारजनामा पनि कोरोना देखिएको थियो।

मस्जिदनजिकका १६ स्थानीय मुस्लिममा पनि कोरोना संक्रमण पुष्टि भएको छ। ‘भुल्केका बासिन्दा गाईघाट क्षेत्रसहित देउरी, जलजले, जोगिदह, मोथ्याइसहित चौदण्डी नगरपालिकाको सिवाइ र सुन्दरपुर क्षेत्रका नागरिकसँग आवतजावत तथा उठबस गर्ने कारण ती क्षेत्र डेन्जर जोनमा छन्,’ चौधरीले भने।

भुल्केसहित आठ स्थान कोरोनाको डेन्जर जोन बनेपछि अहिले यी सबै स्थानमा प्रहरी परिचालन गरिएको छ। गाउँलेलाई भित्रको भित्रै र बाहिरको बाहिरै राखिएको छ।

चौधरीका अनुसार भुल्केमा चारवटा टोल विकास संस्था छन्। ५३ घर मुस्लिम छन्। थारू समुदाय ४० घर छन्। बाँकी सवा २ सय छन्। त्यो क्षेत्रका सबै घरलाई परीक्षण गर्नुपर्ने देखिएको छ।

‘अहिले हामीले करिब ३ सयजनालाई परीक्षण गरिसकेका छौं। बाँकीलाई चाँडो परीक्षण गर्न भनेर संघीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरेका छौं। बुधबारमात्र २ सय ५ जनाको परीक्षण गर्ने तयारी गरेका थियौं। सामान र स्वास्थ्यकर्मी नभएको कारण हामीले बाँकी परीक्षण गर्न सकेनौं,’ चौधरीले भने।

उदयपुरमा करिब २ हजार १ सयजनाको तुरून्तै परीक्षण गर्न आवश्यक रहेको उनले बताए। सुरुमा देखिएका १६ जना सुन्दरपुर, सिवाही, चौदण्डी, जोगिदह, मोतिहारी, जलजले हुँदै भुल्के आएको हुनाले परीक्षण गर्नैपर्ने भएको छ।

‘मुस्लिम समुदायसँग उनीहरूको भेटघाट भएको छ। ती समुदायका मान्छे तरकारी बेच्न बजार जाने, ११ नम्बर वडा, १२, १० नम्बर वडा जाने गरेका कारण ती वरिपरिका मान्छेको परीक्षण गर्न जरुरी छ,’ उनले भने।

उदयपुरमा एउटामात्र जिल्ला अस्पताल छ। यो कोरोना परीक्षणको अस्पताल होइन। केही आइसोलेसन बेड छन्, तर आइसियु, भेन्टिलेटर बेड छैन। यहाँका १३ जना डाक्टर दरबन्दीमध्ये एकजना मात्र छन्। चारजना करारमा छन्।

‘यहाँ स्वास्थ्यकर्मीको पनि राम्रो व्यवस्था छैन। कि विराटनगर कि धरान पठाउनुपर्ने बाध्यता छ,’ उनले भने। उदयपुरमै ल्याब परीक्षणका लागि संघीय सरकारसँग अनुरोध भएको र बिहीबार नै स्वास्थ्य सामग्री र जनशक्ति उदयपुर पुग्ने प्रदेश नम्बर १ सरकारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय