लकडाउनमा पशुपतिका भोका पशुपंक्षी बचाउँदै स्वंयसेवक

सबै तस्बिर : एपी/रासस

लकडाउनको प्रभावसँगै पीडितहरूको एउटा भिन्न समूहलाई सयौं बाँदर, गाई र परेवाले ध्यान आकृष्ट गर्‍यो।

सामान्यतयाः हजारौं दर्शनार्थीको घुइँचो लाग्ने भएकाले हिन्दुहरूको प्रमुख धार्मिकस्थल पशुपतिनाथमा मन्दिरमा ती जनावर र पंक्षीलाई खानाको समस्या हुँन्थेन।

तर, अघिल्लो महिना कोरोनाभाइरस संक्रमण रोक्न सरकारले गरेको देशव्यापी लकडाउनको घोषणापछि नागरिक घरबाट बाहिर निस्कन पाएका छैनन्। मन्दिरहरू पनि बन्द भएपछि पशुपंक्षीमाथि भोकमरीको खतरा मडारिन थाल्यो।

अहिले, पशुपतिका केही सुरक्षा गार्ड, करिब एक दर्जन कर्मचारी तथा केही स्वयंसेवक ती पंक्षी र जनावरको जीवन रक्षाका लागि हरेक दिन बिहान–बेलुका बाहिर निस्कन्छन्।

‘हामी यी जनावर भोको नरहुन् र उनीहरूको पर्याप्त हेरचाह सुनिश्चित गर्न प्रयासरत छौं,’ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले भने।

नेपालमा हालसम्म ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये सातजना निको भइसकेका छन्। गत चैत ११ मा लकडाउन सुरु भएयता सम्पूर्ण हवाई उडान तथा सडक यातायात सेवा, बजार, विद्यालय र कार्यालय बन्द छन्।

भक्तजनले गाई, बाँदरलाई खुवाउने सामान्य कुरा हो। गाईलाई देवताका रूपमा पूजा गर्ने वैदिक सनातन परम्परा हो भने बाँदर हिन्दु देवता हनुमानका सन्तान भएको विश्वास गरिन्छ।

गाईहरू मन्दिरबाट बागमती नदी किनारतर्फको मार्गमा लाइन लागेका छन्, जबकि बाँदरहरू मन्दिर छेउको डाँडा वरपर डुल्दै गरेका देखिन्छन्।

खोला किनारमा परेवाका लागि मकै छरिएको छ भने गाईका लागि खुवाउने पिठो, अलुवा, चामल पिसेर बनाइएको हुन्छ। मास्क र रबरका पन्जा लगाएका स्वयंसेवकबाट खाना पाउन सयौं बाँदर पंक्तिबद्ध देखिन्छन्।

प्रत्येकपटक खाना बाँड्दा चारदेखि छ बोरा अन्न चाहिन्छ।

‘बाँदरले स्वयंसेवकलाई आक्रमण गरेका छैनन्,’ स्वयंसेवक निवेश दुगडले भने। तर, एकछिनपछि एउटा ठूलो बाँदरले ताजा पिठोले भरिएको प्लास्टिकको टोकरी खोस्यो।

वातावरणीय इन्जिनियर दुगडले भने, ‘यस कठिन समयमा हामी केवल जनावरलाई बाँच्न सहयोग गरिरहेका छौं।’

रासस/एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय