उदयपुर अस्पताललाई ‘कोरोना उपचार विशेष अस्पताल’ बनाउन माग

उदयपुर त्रियुगा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) महामारीको संकटमा फसेपछि संघीय र प्रदेश सरकार गुहारेको छ।

‘उदयपुर अस्पताललाई कोभिड–१९ उपचार गर्ने अस्पताल बनाउन तत्काल माग गर्दछौं,’ त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले पत्रकारहरूसँग भने, ‘अस्पतालका लागि पूर्वाधार नबनुन्जेलसम्म अस्थायी रूपमा भए पनि कोरोना उपचार अस्पताल बनाउन सरकारसँग माग गर्दछौं ।’

त्रियुगा नगरपालिका–३ भुल्केमा कोरोना भाइरस संक्रमित संख्या बढेर ३० पुगेसँगै नगरप्रमुख चौधरीले गाईघाटस्थित अस्पताललाई ‘कोरोना उपचार विशेष अस्पताल’ बनाउन माग गरेका हुन्।

पछिल्लो विवरणअनुसार भुल्केका थप तीनजनामा कोरोना संक्रमण पुिष्ट भएसँगै उदयपुरमा मात्रै संक्रमित संख्या २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसबाहेक नेपाली सेनाले संकलन गरेको नमुनाबाट थप तीनमा संक्रमण पुष्टि भएको हो।

उदयुपर अस्पतालमा दुईजना विशिष्ट चिकित्सकसहितको दरबन्दी भए पनि हाल एकमात्र कार्यरत छन्। अस्पतालमा अहिले दरबन्दीअनुसारका पूरै स्वास्थ्यकर्मी पनि छैनन।

‘स्थानीय स्तरमा उपलब्ध स्वास्थ्यकर्मीको संख्या पर्याप्त नभएकाले थप स्वास्थ्यकर्मीको व्यवस्था गर्न, चिकित्सक, आवश्यक औषधि तथा उपकरण अभाव हुन नदिन संघीय र प्रदेश सरकारले तत्काल पहल गरिहाल्नुपर्छ,’ नगरप्रमुख चौधरीले भने।

‘हटस्पट’ उदयपुर भुल्के

उदयपुर अस्पताल, जिल्लाकै मुख्य अस्पताल भए पनि त्यहाँ पर्याप्त व्यवस्था छैन। सरकारको निर्देशनबमोजिम अस्पतालले एउटा कोठालाई ‘आइसोलेसन कक्ष’ बनाएको भए पनि त्यहाँ कोरोना संक्रमित बिरामी उपचार गर्न सकिने स्रोतसाधन अभावका कारण विराटनगर र धरान रिफर गर्ने गरिएको छ।

‘त्रियुगा नगरपालिका कोरोना भाइरसको हटस्पट बनिरहेका अवस्थामा संघीय सरकार र प्रदेश सरकारले तुरुन्तै मेडिकल क्याम्प राख्नुपर्ने, तुरुन्तै कोरोना अस्पतालको व्यवस्था गर्नुपर्ने, तुरुन्तै विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी पठाउनुपर्नेमा त्यो ध्यान दिइएको छैन,’ चौधरीले भने।

पहिलोपटक विराटनगर लगिएका कोरोना संक्रमितको कोसी अञ्चल अस्पतालमा उपचार भइरहे पनि मंगलबार संक्रमण पुष्टि भएका आठजनाले निकै सास्ती पाउनुप¥यो। उनीहरूलाई भुल्केबाट एम्बुलेन्समा हालेर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा पाँच घन्टासम्म एम्बुलेन्सबाट उत्रनै दिइएन।

‘एम्बुलेन्सबाट पाँच घन्टासम्म बिरामीलाई उत्रनै दिइएन, विशेष अनुरोध गर्दा पनि कुनै सुनुवाइ भएन। धरान अस्पताल व्यवस्थापनले लापरबाही नै गरेको छ। एम्बुलेन्स टु एम्बुलेन्स विराटनगर पठाउने काम भयो। यो अमानवीय काम भयो। यसमा प्रदेश सरकार र संघीय सरकारको ध्यान जाओस्,’ नगरप्रमुख चौधरीले भने।

प्रदेश १ सरकारले उदयपुरलाई सिल गर्ने निर्णय गरेको भए पनि नगरपालिकामा त्यो निर्णय आइनसकेको उनले बताए। नगरपालिकाकै तर्फबाट चौदण्डी नगरपालिका –५ सिवाही, त्रियुगा नगरपालिका–१ को जोगिदह, वडा–२ को मोथियाही, वडा–३ को भुल्के, वडा–१२ मा मस्जिद रहेको डिएम गेट क्षेत्र, देउरी र जलजले क्षेत्र, वडा–१३ को तरकारी बजार एरियालाई सिल गर्नेे निर्णय गरेको चौधरीले जानकारी दिए।

अटोरिक्सा चालकका पूरै परिवार संक्रमित
भुल्केका एक अटोरिक्सा चालक र उनका परिवारका चारजना संक्रमित भएपछि नगरवासी त्रसित छन्। उनको अटो भुल्के, मोतिगडा, गाईघाट, सोनुवा, मोथियाहीलगायत क्षेत्रमा गुड्थ्यो भने उनका ज्वाइँ गाईघाट बजारमा टेलरिङको काम गर्दै आएका थिए। नगर क्षेत्रमा झन्डै ५ सय अटोरिक्सा सञ्चालित छन्। मुख्य बजार क्षेत्रका अन्य अटो चालकहरूसँग नियमित सम्पर्कमा रहने ती व्यक्तिमा संक्रमण देखिएसँगै अन्य अटो चालकहरूसमेत त्रसित भएका छन्।

नगर प्रमुख चौधरीका अनुसार संक्रमितहरूसँग घुलमिल भएका, उनीहरूको आवतजावत भएका स्थानको ‘ट्रेसिङ’ गर्ने कार्य भइरहेको छ।

‘नगरपालिकाको एक्लो प्रयासले मात्र अब संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ सम्भव छैन। सरकारले नेपाली सेना, प्रहरीसहित स्वास्थ्यकर्मीहरूको विशेष टोली तत्कालै नगरपालिकामा पठाउनुपर्छ,’ चौधरीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय