कोरोना संक्रमित २३ जनाको उपचार भइरहेकाे कोशी अस्पतालमै छैन पिपिई र परीक्षण किट

 

प्रदेश १ को उदयपुर अहिले कोरोनाको ‘हटस्पट’ बनेको छ।

केही दिनअघि त्रियुगा नगरपालिका ३ मा रहेको मस्जिदमा रहेका १२ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै परीक्षणको दायरा बढाउँदा थप ११ लाई पुष्टि भएको छ।

कोसी अञ्चल अस्पतालले सञ्चालन गरेको ‘कोभिड’ अस्पतालमा २३ जना संक्रमितको उपचार भइरहेको छ।

कोसी अञ्चल अस्पतालको जनशक्तिले यतिबेला दोहोरो भूमिका निर्वाह गर्दै आएको छ। कोसी अस्पतालमा सेवा दिर्दै कोभिड अस्पतालमा दिन–रात खटिरहेका छन्।

संक्रमित संख्या बढेसँगै परीक्षणको किट तथा स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामग्री अभाव भएको छ।

अस्पतालमा पिसिआरबाट कोरानाको नमुना परीक्षण हुँदै आएको छ। संक्रमित संख्या बढेसँगै परीक्षण गर्ने दायरा पनि बढेको अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. संगीता मिश्र बताउँछिन्।

‘परीक्षण गर्ने किट सीमित छ,’ डा. मिश्रले हेल्थपोस्टनेपालसँग भनिन्, ‘भोलिसम्म आइपुगेन भने परीक्षण नै बन्द हुने अवस्था छ।’

अस्पतालले त्यहाँ आएका बिरामी तथा बाहिरबाट आउने नमुना स्वाब परीक्षण गरिरहेको छ।

अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षा सामग्री (पिपिई) सीमितमात्रामा रहेको छ। संक्रमित बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री अभाव हुने अवस्था आएको डा. मिश्र बताउँछिन्।

‘अस्पतालमा २३ जना बिरामी छन्, संक्रमित बढेसँगै पिपिईको खपत पनि बढ्ने भयो,’ मिश्रले भनिन्, ‘एक–दुई दिनमा उपलब्ध भएन भने काम गर्ने सक्ने अवस्था छैन।’

उच्च मनोबलसाथ काम गरिरहेका स्वास्थ्यकर्मीलाई थप हौसलाको खाँचो देखिएको डा. मिश्र बताउँछिन्।

२३ जना संक्रमित पुगिसक्दा पनि सरकारले आवश्यक पूर्वाधारमा ध्यान दिन सकेको छैन। विज्ञका अनुसार उदयपुर कोरोना संक्रमणको तेस्रो चरणमा पुगिसकेको छ।

त्यहाँ समुदायस्तरमा कोरोना संक्रमण भइसकेको छ। अहिले उदयपुर क्षेत्रमा एक घरबाट अर्को घर जानसमेत प्रतिबन्ध लगाइएको छ।

तर, कोरोना संक्रमित गम्भीर अवस्था भएको खण्डमा चाहिने पूर्वाधार एकदमै न्यून छन्। संक्रमितको अवस्था बिग्रँदै गए आइसियु तथा भेन्टिलेटर आवश्यक पर्छ।

कोसी अस्पतालमा हाल पाँचवटा भेन्टिलेटर तथा १० आइसियु बेड तयारी अवस्थामा छन्। संक्रमित बिरामीलाई फोक्सोमा संक्रमण तथा श्वासप्रश्वासमा समस्या हुन्छ।

‘हामीसँग सीमितमात्रामा उपकरण छन्, अहिले बिरामीको अवस्था सामान्य रहेको आइसियु तथा भेन्टिलेटर आवश्यक पर्दैन,’ डा. मिश्र भन्छिन्, ‘संक्रमित संख्या बढेसँगै उपकरण थप गर्ने अवस्था छ।’

संघीय सरकारले उपकरण खरिद गर्न सकेको छैन। बिरामीको अवस्था गम्भीर भए अकालमा ज्यान गुमाउनुपर्ने स्थिति आउने डाक्टरहरू बताउँछन्।

‘दुःख गरेर उच्च मनोबलसाथ काम गरेका छौं’

सीमित जनशक्तिले कोशी र कोभिड अस्पतालमा सेवा दिँदै आएको छ।

स्वास्थ्यकर्मीले अहिले दिन–रात नभनी दोहोरो सिफ्टमा काम गरिरहेका छन्। ‘दुस्ख गरेर काम गरिरहेका छौं,’ मिश्रले भनिन्, ‘उच्च मनोबलसाथ काम गरेका छौं।’

कोभिड अस्पतालमा २५ स्वास्थ्यकर्मी कार्यरत छन्। दुईतिर काम गर्दा जनशक्ति अभाव भएको डा. मिश्रको भनाइ छ।

संक्रमितको अवस्था हालसम्म सामान्य रहेको अस्पतालले जनाएको छ। डा. मिश्रका अनुसार बिरामीका रुघाखोकी पनि देखिएको अवस्था छैन। कोभिड अस्पताल ५० बेड रहेकोमा थप २० बेड थप गर्न सकिने मिश्र बताउँछिन्।

विज्ञ भन्छन्- अब र्‍यापिडले मात्रै हुँदैन, पिसिआर टेस्ट नै गर्नुपर्छ

विज्ञहरू उदयपुरको अवस्था अब तेस्रो चरण (समुदायस्तरमै) पुगिसकेको बताउँछन्। मगंलबारसम्म र्‍यापिड टेस्टबाट प्रदेश १ मा २ हजार ६ सय २० नमुना परीक्षण गरिएको छ।

विज्ञरूले अब पूरै इलाका सिल गरेर पिसिआर विधिबाट परीक्षण बढाउन पनि सुझाव दिएका छन्।

‘उनीहरू केही हप्ता पहिला नै आएको र त्यो बेलै संक्रमण भइसकेको देखिन्छ। यो भारतबाट तत्कालै आएको भएर देखिएको होइन। पहिला नै संक्रमण भइसकेको देखिन्छ र त्यो त्यहीँबाट सरेको हो भन्ने प्रष्ट छ,’ स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक तथा प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘अब यो हटस्पट नै भइसक्यो। र्‍यापिड टेस्टले मात्रै भन्दा पनि अब पिसिआर विधिबाटै धेरैभन्दा धेरै परीक्षण बढाउनुपर्ने देखिन्छ।’

उनका अनुसार अब त्यो पूरै जिल्लालाई नै केही दिनसम्मै सिल गरेर पिसिआर परीक्षण नगर्ने हो भने स्थिति झन् भयावह हुनसक्छ। ‘पूरै लकडाउन गर्ने, एरिया सिल गर्ने अनि पिसिआर विधिमा जाने हो, र्‍यापिडले मात्रै अब हुँदैन भन्ने प्रष्ट भइसक्यो,’ डा. प्याकुरेलले हेल्थपोस्टनेपालसँग भने।

उदयपुर त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्र र त्रियुगानगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव छ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भुल्के र त्रियुगा क्षेत्रमा स्वाब नमुना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव छ।

भुल्के गाउँमा अहिले ५६ घर मुस्लिम र अन्य समुदायका २ सय २५ घर गरेर झन्डै ६ सय ५० मानिस छन्। अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २ सय ५० गरेर ३ सय १९ जनाको मात्र स्वाब नमुना सङ्कलन गरिएको छ।

तीन सय १९ जनाको स्वाब नमूना परीक्षण गर्दा २३ मा सङ्क्रमण देखिएको हो।

भुल्केमा अहिले कोरोना सङ्क्रमित २३ मध्ये १० जना समुदायस्तरका हुन्। भुल्केका कोरोना संक्रमित स्थानीय गाईघाट बजारमा पसल सञ्चालन गर्ने र तरकारी व्यापार गर्ने रहेको गाईघाट–१२ का अध्यक्ष जयविक्रम राईले बताए।

भुल्केको मस्जिदमा रहेका ११ भारतीय र एक नेपालीमा केही दिनअघि कोरोना पुष्टि भएको थियो। मस्जिद नजिकैको बस्तीका मानिसहरूको स्वाब परीक्षण गर्दा थप ११ मा कोरोना देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय