नेपाल भित्रियो तिब्बतले दिएको १० हजार पिपिई र २० हजार पिसिआर रिएजेन्ट

हेल्थपोस्ट नेपाल
तिब्बतले दिएको सामग्री बुझेपछि सामूहिक तस्बिर खिचाउँदै मन्त्रालयका प्रमुख विशेषज्ञसहित नेपाली टोली

कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा सघाउन तिब्बतले नेपाललाई उपलब्ध गराएको १० हजारथान पिपिईलगायत महत्त्वपूर्ण सामग्री नेपाल भित्रिएको छ।

तिब्बतले सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा ल्याएर उपचार तथा परीक्षणमा प्रयोग हुने सामग्री आजै हस्तान्तरण गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल र स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले आजै सरकारका तर्फबाट उक्त सामग्री बुझेका थिए।

डा. पोखरेलका अनुसार तिब्बतले दिएका सामग्रीमा १० हजारथान पूर्णपिपिई सेट, १० हजार एन९५ मास्क, दुईवटा पिसिआर मेसिन छन्।

त्यसैगरी २० हजार नमुनाको पिसिआर विधिबाट परीक्षण गर्न पुग्ने गरी भिपिएम र रिएजेन्टस् र १ हजारथान इन्फ्रारेड थर्मोमिटरलगायत समावेश रहेको डा. पोखरेलले जानकारी दिए।

डा. पोखरेलका अनुसार तिब्बतले दिएका सामग्रीमा १० हजारथान पूर्णपिपिई सेट, १० हजार एन९५ मास्क, दुईवटा पिसिआर मेसिन छन्।

डा. पोखरेलका अनुसार दुवै सरकारका प्रतिनिधि उपस्थित भए पनि प्रत्यक्ष भेटघाट र देखादेखबिनै सामग्री हस्तान्तरण भएको थियो।

तिब्बत सरकारका स्वास्थ्य अधिकारीले सामग्री सूचीसहितको पत्र हस्तक्षर गरेर छाडेका थिए भने त्यसमा नेपालका अधिकारीले हस्ताक्षर गरेर उक्त कागज सोही ठाउँमा छाडेर सामान बुझेका थिए। सामग्री आजै काठमाडौंका लागि हिँडिसकेको छ।

मन्त्रालयका अधिकारीहरूका अनुसार सुरुमा ओम्नी समूहसँग भएको सम्झौता रद्ध भएर नयाँ सम्झौताअनुसार सामग्री आइनसकेको अवस्थामा यो सहयोगले तत्कालका लागि ठूलो राहत मिलेको छ।

यसअघि ओम्नीले पहिलो चरणमा ल्याएको रिएजेन्ट, पिपिईलगायत सामग्रीले अहिलेसम्मको अभाव थेगेको थियो। पछिल्ला दिनमा दातृ निकायले उपलब्ध गराउने प्रतिबद्धताअनुसार सामग्रीसमेत उपलब्ध हुन सुरु भएको छ।

सेनाले जिटुजी मोडलबाट किनेका सामग्री आगामी साता आइपुग्ने सैनिक अधिकारीले जनाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *