‘राष्ट्रिय एकता कायम गरी कोरोना महामारीविरुद्ध लडौं’

डा. अताबुल मन्सुरी
प्रकाशित
२०७७ वैशाख १० गते १८:३६

देश अहिले पूरै लकडाउनमा छ। यस्ताे बेलामा कुनै पनि सभा, सम्मेलन वा मानिस भेला हुनसमेत प्रतिबन्ध गरिएकाे छ। सबैजना घरभित्रै बस्नुपर्ने अवस्था छ।

यस्ताे समयमा खासगरी समूहमै धार्मिक कार्य (नित्य सामूहिक रूपमै नमाज पढ्ने) मुस्लिम समुदायमा कस्ताे प्रभाव परेकाे छ र त्यसकाे कसरी व्यवस्थापन भइरहेकाे छ भन्नेबारे नेपाल मुस्लिम संघका उपाध्यक्ष, डा. अताबुल मन्सुरीसँग हेल्थपाेस्ट नेपालका अशोक अधिकारीलेले कुराकानी गरेकाे छन् :

अहिले यो महामारीको अवस्थामा मुस्लिम संघ समुदायमा कसरी उपस्थित भइरहेको छ?

लकडाउन सुरू हुनासाथ नेपाल मुस्लिम संघले विज्ञप्ति प्रकाशित गरी संघ, प्रदेश र स्थानीय तहका आ–आफ्ना टोल, नगर, क्षेत्र र जिल्लामा सजगता अपनाउन निर्देशन भइसकेको छ। एक नम्बर प्रदेशको सन्दर्भमा, प्रदेश १ का अध्यक्ष हाजी इसराइल मन्सुरी र महासचिव नइम अन्सारीले पनि विज्ञप्ति पनि र मिडियामार्फत् सबैलाई सचेत हुन अपिल र आग्रह गरिरहनुभएको छ। अहिले पनि हामी मोरङ सुन्दरहरैंचा–९ मा सचेतना अभियान र र्‍यापिड जाँच गरिरहेका छौं। यहाँ मुस्लिम समुदायको ठूलो बसोबास गरेको छ। तर, उदयपुरको जस्तो जमातको मान्छेको बसोबास छैन। पहिलो चरणमा नमुना छनोटका आधारमा परीक्षण गरेपछि त्यहाँ केही देखिएमा अन्यको परीक्षण गर्ने हाम्रो तयारी हो। शंका–उपशंकाहरू निवारण गर्नका लागि पनि हामीले र्‍यापिड टेस्ट गरेका हौं। कोरोना संक्रमण नरहे पनि सजग रहनैपर्छ। त्यही सजगताका लागि हामीले र्‍यापिड टेस्ट गराएका हौं।

समुदायमा परीक्षणको अवस्था कस्तो छ?

हाम्रो गाउँ, नगरमा बाहिरबाट कोही आएका छैनन्। र, कोही बाहिर गएका पनि छैनन्। हामी एउटै समुदायका मान्छे हौं। नाता सम्बन्ध कसको कहाँ हुन्छ, क–कससँग भेट्नुपर्ने हुनसक्छ। त्यसैले म आफैंले पनि र्‍यापिड टेस्ट गराएँ। त्यसैले यो कार्य हामीले आफ्नै लागि गरेका हौं। अरू कोही कसैका लागि होइन। कोरोना भाइरसको संक्रमण जोखिमबाटै जोगिन हामी तयार छौं।

हाम्रो समुदायमा सामाजिक दुरी कायम गराउने विषय अलि जानकार व्यक्तिबाट पहल सुरू भयो। तर, ‘मलाई त पर–पर जान भन्छन्, किन के भयो र’ भन्ने खालको सोच राख्ने समूह पनि थियो। केन्द्रीय कमिटीको सर्कुलरअनुसार सबै क्षेत्रमा सचेतना र सामाजिक दुरी कायम गर्न निर्देशन भइसकेको छ।

समुदायमा कसरी सचेतना अभियान चलाउनुभएको छ?

हाम्रो समुदायमा सामाजिक दुरी कायम गराउने विषय अलि जानकार व्यक्तिबाट पहल सुरू भयो। तर, ‘मलाई त पर–पर जान भन्छन्, किन के भयो र’ भन्ने खालको सोच राख्ने समूह पनि थियो। केन्द्रीय कमिटीको सर्कुलरअनुसार सबै क्षेत्रमा सचेतना र सामाजिक दुरी कायम गर्न निर्देशन भइसकेको छ। तर, सामाजिक अगुवाहरूको पहलमा सामाजिक दुरी र सतर्कताका सम्बन्धमा जानकारी गराउन सफल भयौं। समन्वय गर्दै जाँदा पनि जब वीरगन्जको कोरोना संक्रमणको विषय आयो, उनीहरू भारतीय पाहुना थिए। त्यसकारण हामीले सबैलाई सतर्क रहन र कसैको सम्पर्क नजान पनि अपिल गरिसकेका छौं।

धार्मिक यात्रामा आएका धेरै भारतीयलाई कोरोना संक्रमण देखिएको छ, यसलाई कसरी लिनुभएको छ?

सर्वप्रथम, नेपाली मुस्लिम सुरक्षित रहेको र वीरगन्जमा भेटिएका संक्रमित नेपाली नभएको जानकारी गराउँदछु। उनीहरू भारतीय थिए। र, नेपालमा पाहुना आएका थिए। भारतीयमात्रै होइन, धेरै देशका नागरिक अहिले नेपालमा लकडाउनकै कारण रोकिएका छन्। केही सम्पन्न राष्ट्रले उद्धार पनि गरे। भारतीय पर्यटक तथा पाहुना पनि धार्मिक र पर्यटनको सिलसिलामा आउँछन् नै। फेरि लकडाउन पूर्वघोषित पनि थिएन। त्यसैले धेरैको भिसा समाप्त भयो। मुस्लिम समुदायका साथीहरू पनि धार्मिक यात्राकै क्रममा आएका थिए। अन्य देशका नागरिकले आफ्ना नागरिकको उद्धार गरे। जहाज चार्टर गरेरै आफ्ना नागरिक लगेका थिए फ्रान्ससहितका मुलुकले। रूसले सोमबारमात्रै १ सय १० जनाको उद्धार गर्‍यो। नेपाल, भारतका मध्यमवर्गीय परिवारका मानिसलाई राज्यले उद्धार गर्ने कुरा अपत्यारिलोजस्तै छ। हुन त यो गम्भीर विषय हो, तर पनि राज्यले आधारभूत तहका जनतालाई वास्ता गरेको छैन। त्यसैले सुरक्षित रहनुको विकल्प छैन।

राहत-उद्धारका लागि संघमा आग्रह गर्नेको संख्या ठूलै होला, कस्ता-कस्ता समस्या आएका छन्?

एउटा उदाहरण, सप्तरी कञ्चनपुर नगरपालिका–१ का एक व्यक्ति मोरङको टाँडीमा क्वारेन्टाइनमा राखिएको थियो। १८ दिनदेखि क्वारेन्टाइनमा बसेका उनको रिपोर्ट सबै ठिक छ। कोरोनाको संक्रमण छैन। उनी स्वस्थ छन्। यहाँबाट घर जान भनियो। तर, प्रहरीको सहयोग छैन। सप्तरीबाट गाडी मगाउँदा २५–३० हजार रूपैयाँसम्म मागिरहेको छ। नत्र मान्दैन। क्वारेन्टाइनमा राखेपछि र केही नदेखिएपछि राज्यले सम्बन्धित व्यक्तिको घरसम्म पुर्‍याइदिनैपर्ने हो। तर, ज्यालादारी गरिखाने व्यक्तिलाई क्वारेन्टाइनबाट बिदा गरेर सडकमा ल्याउने काम भएको छ। ती व्यक्तिले हाम्रो समुदाय र हाम्रो संगठनप्रति आस्था भएकैले पटक–पटक सम्पर्क गरेका हुन्। तर, अरू कयौं श्रमिकको बेहाल अवस्था छ। यस्ता साधनस्रोत नभएका व्यक्तिलाई राज्यले उद्धार गर्ने र घरसम्म पुर्‍याउने व्यवस्था गर्नुपर्छ। उदयपुरको घटना पनि त्यस्तै किसिमको हो। पाहुना आएका मान्छे लकडाउनले थन्किए। दुःखद संयोग उनीहरूमा कोरोना संक्रमणको आंशका छ। प्रशासन र त्यहाँको समाजले पनि निस्किन नदिएकाले पनि उनीहरू फिर्ता जान सकेनन्। उदयपुरमा अहिले गरिएको र्‍यापिड टेस्टमा पोजिटिभ देखिएको भनिएको छ। तर, टेस्ट किटले पहिले देखिएको पछि नदेखिएको, अहिले नदेखिएको पछि देखिएका घटना पनि छन्। विडम्बना, भारतीय पाहुनामा पोजिटिभ र उनीहरूसँगै बसेका तीनजना नेपालीलाई नेगेटिभ देखिएको छ। त्यसैले, यो विषयमा पुनः परीक्षण नगरेसम्म केही भन्न सक्ने स्थिति छैन।

भीडभाड हुने ठाउँ जस्तै सार्वजनिकस्थल, मस्जिद, मदरसालगायत स्थानमा सतर्कता अपनाउने विषयमा कसरी काम भइरहेको छ? 

मदरसाहरू लकडाउन सुरू गर्नुभन्दा दुई दिन पहिले नै बन्द भएका थिए। त्यो सेड्युलमै परेको बिदा थियो। परीक्षा सकिएपछि बन्द छ मदरसा। मस्जिदहरू पनि बन्दजस्तै छन्। मस्जिदमा दुई–तीनजना गुरू रहनुहुन्छ। उहाँहरूले सरसफाइ र नियमित काम गर्नुहुन्छ। अरू व्यक्तिको प्रवेश बन्द छ। जुमाको दिन शुक्रबारको सामूहिक नमाज पनि बन्द छ। एक गाउँबाट अर्को गाउँमा मात्रै होइन, एउटा टोल वडाबाट अर्को टोल वडामा र एक घरबाट अर्को घरमा पनि नजान भनिसकेका छौं। अब कोरोना भाइरसको संक्रमणको जोखिम हुने र नहुनेमा शिक्षाको प्रभाव पनि रहन्छ। हरेक समुदायमा शिक्षित र अशिक्षित समुदायको बराबरी नै बसोबास हुन्छ। शिक्षित समुदायमा सम्झाउन सजिलो हुन्छ। अशिक्षितलाई गाह्रो हुन्छ। तैपनि समुदायका अगुवाहरूले साँझबिहान चौकीदार जस्तै राखेर पनि सम्झाउने काम गरिरहेका छौं। नेपालका मुस्लिम समुदाय धेरै सचेत छन्। कोरोनाको विश्वव्यापी महामारीविरुद्ध लड्नका लागि हामी एकाकार छौं।

अहिले विश्वको सम्पूर्ण विज्ञान नै अन्यौलमा छ। विद्वानहरू नै अन्योलमा छन्। सतर्कता सबै ठाउँमा छ। तर, अहिले धार्मिकस्तर, जातीय वा सामुदायिक रूपमा गर्न सक्ने केही पनि छैन। अहिले हामीले गर्ने भनेको मानवीय पक्षबाट हो।

अहिले विश्वको सम्पूर्ण विज्ञान नै अन्यौलमा छ। विद्वानहरू नै अन्योलमा छन्। सतर्कता सबै ठाउँमा छ। तर, अहिले धार्मिकस्तर, जातीय वा सामुदायिक रूपमा गर्न सक्ने केही पनि छैन। अहिले हामीले गर्ने भनेको मानवीय पक्षबाट हो। मानव सभ्यता नै जोखिममा गरेका बेला समुदाय विशेषलाई होइन, सम्पूर्ण मानव जीवनको हितमा लाग्नु चाहिँ उचित हुन्छ। सबैले एकअर्कालाई हेर्नुपर्छ। राज्य, राजनीतिक दल र सामाजिक संघसंस्थाहरूको पनि उत्तिकै दायित्व छ। त्यसकारण समुदाय विशेषलाई होइन, समग्रमा मानवीयता र मानव समुदायको हितमा लाग्नु हाम्रै पहिलो दायित्व हो।

धेरै भारतीय नागरिक अहिले पनि नेपालमै थुनिएको अवस्था छ, उनीहरूको व्यवस्थापन कसरी गर्नुपर्छ?

लकडाउनको अवधिमा बाहिरमा निस्किन पाइँदैन। जो जहाँ छ, त्यहीँ क्वारेन्टाइनमा राखिएको छ र सुरक्षित राख्नुपर्छ, बस्नुपर्छ। चारधाम, काँशी, बनारस तीर्थयात्रामा गएका नेपालीहरू कहाँ पुगेर बसेका छन्? नेपालमा पनि धेरै समुदाय भारतीय नागरिक छन्। मुस्लिम समुदायको मात्रै छैनन्। सबै धर्म, समुदायका नागरिक अलपत्र छन्। त्यसैले, नेपाली आँखा र नेपाली मनले सबै सम्प्रदायका नागरिकलाई समान रूपमा सहयोग गर्नुपर्छ। समग्र एकतामा हामी कटिबद्ध छौं। हरेक ठाउँमा त्यही अभिप्रायले सहयोग आदानप्रदान गर्नुपर्छ। अब यहाँ नै हेर्नुहोस्, सुन्दरहरौंचामा हामीले सबै समुदायबीच सहयोग आदानप्रदान गरिरहेका छौं। नमुना छनोट गरेका छौं। र, र्‍यापिड टेस्ट गर्ने कार्य गर्‍यौं। त्यसैले अहिले सहयोग आदानप्रदान गर्नु हामी सबैको दायित्व हो। घरमै बसौं। महामारीको चेन ब्रेक गर्न योगदान गरौं।

अन्त्यमा,

अहिले सबैभन्दा पहिलो कार्य मानवीय सद्भाव कायम गर्ने नै हो। नेपाल राष्ट्रभरिका नेपाली एक हुने र मनोबल उच्च राख्ने नै हो। जब परिस्थिति सहज भएर जान्छ, त्यसपछि यी सबै विषयको मूल्याङ्कन गर्नैपर्छ। राष्ट्रिय, क्षेत्रीयस्तरबाट ती विषयमा विमर्श गर्नुपर्छ। अन्य बहसमा जाँदै नजाऔं। राष्ट्रिय एकता कायम गरी कोरोनाको महामारीविरुद्ध लडौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय