सय वर्षअघि थारु समुदायलाई पिरोलेको त्यो ‘चेचक’ सम्झाउँदै कोरोना

करिब १ सय वर्ष अघि फर्कौं त!

अनि कल्पना गरौं, त्यो बेलाको समाज कस्तो थियो होला? अनि एकैछिन सोचौं, अहिलेको जस्तै महामारीको बेला त्यो बेलाको अवस्था कस्तो भयो होला?

यो लगभग सय वर्षअघिको कुरा हो, पश्चिमतराई थारु गाउँमा फैलिएको एउटा महामारी ‘चेचक’।

त्यो बेला ‘आइसोलेसन’ थिएन। ‘लकडाउन’ भन्ने शव्द जन्मिएकै थिएन। अनि ‘क्वारेन्टाइन’ भन्ने केही थिएन।

तर, त्यो बेला पनि यस्तै भयो। गाउँमा महटवा (थारु गाउँका अगुवा) ले उर्दी जारी गर्थे ‘घरबाट कोही बाहिर ननिस्किनू।’ बस् ‘लकडाउन’ त्यही थियो।

अहिलेजस्तो मोबाइल न इन्टरनेट। टिभी न रेडियो। दिन कसरी कट्थे होला?

सय वर्षअघि थारु गाउँमा फैलिएको त्यो चेचक अनि अहिलेको यो कोरोना भाइरस संक्रमण।

पुराना थारुहरू सुनाउँछन्, नाम फरक हो तर, कहर एउटै थियो।

त्यसको कहर दाङका थारुहरूले पनि भोगेका थिए। त्यो चेचक कहरको बाछिटाले डामेका केही ‘ज्युँदा’ थारुहरू अहिले पनि दाङमा छन्।
भर्खरै समाजले ‘बिफर’ (दादुरा) को कहर भोगिरहेको थियो। र, फेरि त्यस्तै अर्को महामारी फैलियो थारु गाउँमा। र, त्यो रोगको न्वारन गरियो ‘चेचक’।

चेचकसँग अर्को एउटा समानता भनेको ‘रक्सी’ हो। अर्थात् अहिलेको जस्तै अल्कोहल।

हातलाई ‘स्यानिटाइज्ड’ गर्नु नै जसरी अहिले कोरोना भाइरसबाट बच्ने एउटा सर्वव्यापी उपाय स्थापित गरिएको छ, त्यसैगरी त्यो बेला चेचकबाट बच्नका लागि रक्सी पिउने र त्यसलाई जिउमा घस्ने गरिन्थ्यो।

फरक यत्ति हो अहिले केहीमात्रामा रक्सी मिसिएर हात सफा गरिन्छ, त्यो बेला सिधै रक्सी पिएर अनि त्यसलाई जिउमा घसेर।

सतक पहिले चेचकबाट बच्नका लागि थारु समुदायले एक दिनमा अढाइ सय लिटर रक्सी एउटा गाउँको लागि तयार पारिन्थ्यो।

जुन रक्सी चेचकबाट बच्नको लागि शरीरमा घसिन्थ्यो। जसरी कोभिड–१९ बाट बच्न स्यानिटाइजर प्रयोग गरिन्छ, त्यसरी नै। अझ अर्को कुरा बालक होस् या वृद्ध सबैलाई रक्सी र जाँड खान आग्रह गरिन्थ्यो। जसका कारण चेचकले छुँदैनथ्यो।

भाइरसजन्य यो चेचक निकै प्राचिन संक्रामक रोग हो। जसलाई ‘स्वेतपोक्स’ पनि भनिन्छ।

निकै प्राचिन रोग भए पनि विश्व स्वास्थ्य संगठनले यसलाई सन् १९६७ मा मात्रै ‘रेकर्ड’ गर्‍यो। त्यो बेला उसको अनुमानमा चेचकका कारण २० लाखभन्दा धेरै मानिसको मृत्यु भएको र १ करोड ५० लाखभन्दा बढी मानिसलाई संक्रमण भएको अनुमान लगायो।

निकै प्राचिन रोग भए पनि विश्व स्वास्थ्य संगठनले यसलाई सन् १९६७ मा मात्रै ‘रेकर्ड’ गर्‍यो। त्यो बेला उसको अनुमानमा चेचकका कारण २० लाखभन्दा धेरै मानिसको मृत्यु भएको र १ करोड ५० लाखभन्दा बढी मानिसलाई संक्रमण भएको अनुमान लगायो।

२०११ मा आएर मात्रै विश्वव्यापी रूपमा चेचक पूर्णरूपमा निर्मुल भएको घोषणा गरिएको थियो।

थारु भाषामा चेचकको ठ्याक्कै अर्थ भेटिन्न। तर, त्यसलाई ‘भ्याडा’ पनि भनिन्थ्यो। यसको अर्थ हुन्छ ‘घाउ–खटिरा’ अर्थात् बिरामी मान्छे।

….

७२ वर्षीय कुक्या चौधरी र सन्तराम चौधरीका अनुसार चेचकबाट बच्न थारु समुदायमा यस्तो सजकता अपनाउन आदेश दिइन्थ्यो :

– रक्सी अत्यधिक खानू र पूरै शरीरमा रक्सी दल्नू

– सुतक परेका तथा बालबालिका र कन्याहरूलाई बिरामीदेखि टाढा राख्नू

– पूर्णरूपमा लकडाउनको पालना गर्नू

– खानपानमा विशेष ध्यान दिनू

– सकेसम्म घरबाट बाहिर ननिस्कनू

– बिरामीको मृत्यु भए बिरामी बसेको कोठाको भित्ता फोडेर बाहिर निकाल्नू

– लाश छुनु अगाडि आफ्नो शरीरमा पूर्णरूपले रक्सी घस्नू र लाशलाई नछोएर रक्सीले नुहाइदिनू

अनि चेचकले ग्रसित मानिस यस्तो हुन्थ्यो :

– अनुहार सुन्निनु

– अनुहारभरि फोका पर्नु

– फोका पाक्दै जानु र घाउ भएको ठाउँमा खाल्डो पर्नु

– अनुहार पश्चात टाउको र घाँटीमा सुन्निन सुरु हुनु

– घाँटी सुन्निएका कारण श्वासप्रश्वासमा समस्या हुनु

– सबै घाउ पाक्दै गएपछि मांशपेशी गल्दै जानु र मासु खस्नु

– मान्छेको होस गुम्दै जानु

– आफूले भनेको चीज नपाए आफ्नै शरीर र अर्को कोही मान्छे भेटिए उसैलाई कोपर्न झम्टिनु

‍‍…

एउटा यस्तो रोग कहर बनेर खडा भइदियो कि सिंगो देश नै डर र त्रासमा रह्यो। यहाँसम्म कि त्यसबेलाका शासकहरूले समेत त्यो कहर डरले राज्य नै ठप्प पारे।

हो, त्यही कहरको नामकरण थारु समुदायले गर्‍यो ‘चेचक’। जसलाई थारु समुदायले देवीदेवताको खेल सम्झियो। चेचकले त्यो बेला यसरी त्रास फैलायो कि पूरा देश नै लकडाउन भयो।

जसरी अहिले हामीले कोभिड–१९ कोरोनाको त्रासले लकडाउनमा छौं। त्रास यतिसम्म फैलियो कि त्यसबेला घरका लागि आवश्यक पानी लिनसमेत निस्कन डराउँथे, मानिसहरू। नडराउन् पनि कसरी? जसको उपचार नेपालका लागि असम्भवजस्तै थियो, त्यो बेला। अझ थारु समुदायले त झन् चेचकलाई देवीदेवताको खेल सम्झिएपछि, सक्केन? त्यसकारण पनि चेचक रोगीलाई मानिसले छुनसमेत डराउँथे। कारण यो थियो कि त्यो व्यक्तिलाई छोए रोग सर्थ्यो।

अहिले कोरोना कहरमा पनि भोगाइ यस्तै छ। कोरोना संक्रमण भइसकेपछि न उसलाई आफन्तले स्याहार्न पाउँछ, न आफन्तले हेर्न नै।
दर्द त त्यो बेला हुन्छ जब मरिसकेपछि पनि उसलाई छुन सकिँदैन, उसको अन्तिम संस्कारसमेत गर्न पाइँदैन। अर्थात् छुन मिल्दैन। कारण त्यही हो, भाइरस सर्छ।

देवीदेवताकै खेल सम्झेर गाउँका महटावाँ, अगुवा तथा डेसबन्ढ्या (पुरेत) हरूको अगुवाईमा डोली छोड्ने चलनको समेत सुरुवात भयो। त्यो के भने दुलहीलाई आवश्यक पर्ने सम्पूर्ण गरगहनादेखि लिएर लत्ताकपडा डोलीमा सजाएर अन्य गाउँमा लगेर छोड्ने गरिन्थ्यो। जुन डोलीले चेचक आफ्नो साथमा लिएर जान्थ्यो। र, त्यो गाउँले चेचकबाट मुक्ति पाउँथ्यो भन्ने कथन चेचक भोगेका ज्येष्ठ नागरिकले सुनाउनुहुन्छ। तर, जुन गाउँमा डोली बिसाइन्थ्यो त्यो गाउँमा भने चेचकको कहर फैलिन्थ्यो। घुमिफिरी रुम्जाटार भने झैं चेचकले कुनै पनि हालतमा छोड्ने स्थिति भएन, त्यो बेला। ओल्लो गाउँले पल्लो गाउँ र पल्लो गाउँले ओल्लो गाउँ गरी चेचकको कहर फालाफाल नै गरे त्यो बेला। तर, चेचकको कहरले अहँ छोड्ने नामै लिएन।

यदि माग गरिएका वस्तु वा सामान प्राप्त नभए उक्त रोगीको मृत्यु हुने निश्चित हुन्थ्यो भन्ने कथन ज्येष्ठ नागरिकले अझै सुनाउने गर्छन्। त्यसबेला बिरामीका लागि पिउने पानीसमेत जिल्लाभरिबाट दाङको पहिलपार गाउँमा जाने गर्दथ्यो भन्ने कथन सुन्नमा आउँछ।

चेचक भोगेका केही ज्येष्ठ नागरिकका अनुसार चेचककै कारण एउटा गाउँमा एक दिनमा पाँचजनासम्मको मृत्यु भएको थियो। दाङमै पनि थारु गाउँमा हप्तामै ३० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो।

तर, त्यो बेला अहिलेको जस्तो सञ्चारसाधन थिएनन्। कोही घरबाट बाहिर निस्किन्थेनन्। एउटा घरमा मान्छे मर्दा अर्को घरलाई पनि मुश्किलले थाहा हुन्थ्यो।

एउटै गाउँमा धेरैको मृत्यु भएपछि पूरा गाउँ नै थर्कमान हुने नै भयो । घोराही–१७ की छोट्कन्या चौधरीका अनुसार लाशैलाशले गाउँ घेरिएको अवस्था पनि आएको थियो, त्यो बेला।

उनका अनुसार चेचक संक्रमित (सवार) व्यक्तिले जे माग गर्छ यदि त्यो पूरा नभए आफ्नै शरीरका अंग चिथोरेर खान्थे।

त्यस्तै रोगीले माग गरेको वस्तु वा चीज जुन स्थानमा गएर ल्याउन भन्थे, त्यो चीज असम्भव भएको स्थानमा समेत प्राप्त हुन्थ्यो भन्ने त्यो बेला थारु समुदायमा विश्वास थियो।

यदि माग गरिएका वस्तु वा सामान प्राप्त नभए उक्त रोगीको मृत्यु हुने निश्चित हुन्थ्यो भन्ने कथन ज्येष्ठ नागरिकले अझै सुनाउने गर्छन्। त्यसबेला बिरामीका लागि पिउने पानीसमेत जिल्लाभरिबाट दाङको पहिलपार गाउँमा जाने गर्दथ्यो भन्ने कथन सुन्नमा आउँछ।

दाङको थारु समुदायका परिचित नामहरू (जो यस धर्तीमा छैनन्) चुर्मान थारु, अशोक थारु, ऋषिराम चौधरीलगायतकै अगुवाईमा चेचकको कहर थारु समुदायबाट टाढा भागेको मानिन्छ। चेचकका कारण मृत्यु भएका मानिसको शरीर पहिले नछोएरै रक्सीले पखालिन्थ्यो, त्यसपश्चात मात्र मृत्युकार्य गरिन्थ्यो भन्ने कथन पुराना मानिसबाट सुन्नमा आउँछ।

अहिले पनि मुखमा खाडल परेका, मुख बिग्रिएका थारु समुदायका पुराना मानिस चेचक भोगेका हुन् भन्ने मान्यता छ।

हामी अहिले आधुनिक युगमा छौं। अझ स्मार्ट भाषामा भन्ने हो भने यो ‘स्मार्ट वर्ल्ड’ हो। अनेक प्रविधि, अनेक विज्ञान, अनेक स्मार्टनेस यो संसारले पाएको अवस्था अहिले छ।

जसरी अहिले कोरोना भाइरससँग सिंगो विश्व लडिरहेको छ, यसरी नै त्यो बेला चेचक रोगसँग सिंगो थारु समुदाय लडेको थियो। सिंगो नेपाल लडेको थियो।

(दाङमा पत्रकारिता गर्ने  लेखक त्यहीँका स्थानीय थारु युवा हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय