टीकापुरमा राहत वितरण पूर्वाग्रही भएको भन्दै वडा कार्यालय घेराउ

मोहन जोशी/धनगढी
प्रकाशित
२०७७ वैशाख ९ गते १७:५८

राहतको विषयलाई लिएर कैलाली टीकापुर नगरपालिकाका २ वटा वडामा स्थानीयले धर्ना दिएका छन्। सरकारले कोरोनाबाट बच्न लकडाउनसँगै समाजिक दुरी अनिवार्य गरेका बेला टिकापुरका १ र २ वडामा सरकारी मापदण्डको बेवास्ता गर्दै स्थानीयले हुलसहित वडा कार्यालय अगाडि धर्ना दिएका हुन्।

सरकारले राहत वितरण मापदण्ड बनाइ वडास्तरबाट दैनिक ज्याला मजदुरी गरी गुजारा गर्दै आएका विपन्न परिवारलाई राहत वितरणका लागि आह्वान गरेसँगै वडाले वास्तविक पीडितभन्दा राजनीतिक पूर्वाग्रहले वितरण गरेको र वास्तविक पीडितले राहत नपाएको आरोप लगाउँदै स्थानीयवासीले वडा कार्यालयमा धर्ना दिन सुरु गरेका हुन्।

टीकापुर– १ मा सबैभन्दा बढी विवाद देखिएको छ। राहतका लागि संककलित तथ्याङ्कमा आफूहरूलाई नसमेटेको भन्दै स्थानीयवासी महिलाले दिनहुँ वडा कार्यालयमा गई धर्ना दिने गरेका इलाका प्रहरी कार्यालय टिकापुरका इन्चार्ज मनोहर भट्टले बताए। वडा नम्बर–१ की ७० बर्षिया लायक रानीले राहत वितरणमा धनीलाई समावेस गरी गरिबलाई छुटाएको विरोधमा धर्ना दिइएको बताइन्। उनले लगातार तीन दिनसम्म वडा कार्यालय धाउँदासमेत आफू जस्ता असहायलाई राहत नदिएको तर खान लाउन पुग्ने परिवारलाई राहत वितरण गरेको बताइन्।

वडाध्यक्ष गंगाराम आचार्यले तथ्यांक संकलन गर्दा केही स्थानमा वास्तविक पीडितको नाम छुटेको स्वीकार गरे। तर, राजनीतिक पूवाग्रही भने नगरिएको बताए। वडाध्यक्ष रामसेवक महतोले वडा कार्यालयमा आएको सूचीअनुसार २ सय १७ घरधुरीले राहत पाइसकेको र तथ्यांक संकलनका लागि गाउँका बड्घरलाई पठाउँदा केही घर छुट्न गएको स्वीकार गरेका छन्। उनले छुटेका परिवारलाई पुनः राहत वितरण गरिने बताए।

जनप्रतिनिधिलाई थुनेर वडा कार्यालयमा ताला

यसै गरी कैलालीको जानकी गाउँपालिका–५ मा पनि राहत वितरणमा असहमति जनाउँदै स्थानीयले विरोध गरेका छन्। जानकी गाँउपालिकाका– ५ का जनप्रतिनिधिलाई कार्यालयमा थुनेर स्थानीयले ताला लगाएका छन्।

दोस्रो चरणमा राहत वितरण सुरु नभएको भन्दै स्थानीयलाई वडा अध्यक्ष भीमवहादुर थारु लगायतका जनप्रतिनिधिलाई कार्यालयभित्रै थुनेर ताला लगाएका हुन्।

लकडाउनपछि समस्यामा परेका वडावासीलाई स्थानीय सरकारले राहत नदिएको गुनासो गर्दै ताला लगाईएको हो। उनीहरुले झण्डै आधा घण्टासम्म जनप्रतिनिधिलाई थुनेका थिए। वडा अध्यक्ष थारुले कार्यापालिका बैठक नहुँदा दोस्रो चरणको राहत वितरण सुरु नभएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय