लकडाउनका बेला सरकारी गाडीमा बिरामी बाेक्ने व्यवस्था गर्न डा‍. केसीकाे माग

प्रा.डा. गोविन्द केसीले नागरिकलाई अत्यावश्यक सम्पूर्ण सेवा उपलब्ध गराउन माग गरेका छन्। डडेल्धुरामा रहेका डा. केसीले मंगलबार विज्ञप्ति प्रकाशित गरी अत्यावश्यक सेवाबाट नागरिकलाई वञ्चित नगर्न आग्रह गरेका हुन्।

‘यातायात सेवा सुचारू नहुञ्जेलका लागि सरकारी गाडीमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरुलाई अपिल गर्दछु, स्मरण रहोस्, कोभिड–१९ महामारी नियन्त्रणजस्तै संकटमा परेका नागरिकलाई यस्तो आकस्मिक सेवा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो,’ केसीले भनेका छन्।

देश अहिले कोभिड–१९ को त्रासले आक्रान्त रहेको महामारीको प्रभावका कारण अस्पतालहरुले दिने साविकका सेवाहरु समेत प्रभावित भइरहेको केसीले बताएका छन्।

‘यसको सबैभन्दा ठूलो मार विपन्न र दुरदराजका मानिसहरुलाई परिरहेको छ, लकडाउन लम्बिँदै जाँदा दैनिक ज्यालादारी गरेर छाक टार्ने मजदुरहरु भोकभोकै पर्ने अवस्था आएको छ, हप्तौं हिंडेर घर पुग्ने प्रयास गरेका हजारौं श्रमिहरुका बारेमा समाचारहरु आइरहेका छन्,’ उनले भनेका छन्।

ग्रामीण क्षेत्रमा आइलागेको स्वास्थ्य संकटप्रति सरोकारवालाको ध्यान नपुगेको बताउँदै केसीले सडक यातायात ठप्प भए पनि रुख वा भीरबाट लडेर चोट लाग्ने तथा अन्य आकस्मिक अवस्थाका बिरामीहरुको संख्या लकडाउनमा बढेको उल्लेख गरेका छन्। ‘हाल डडेल्धुरा अस्पतालमा रहेर मैले त्यस्ता धेरै बिरामीहरुको पीडा देखेको छु । यो समस्या कुनै एक जिल्लाको मात्र नभई देशभरकै हो,’ उनले भनेका छन्।

यो अवस्थामा एम्बुलेन्सहरु सबै बिरामीलाई अस्पताल पुर्‍याउन पर्याप्त नरहेको फलस्वरुप दुरदराजका बिरामीहरु निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउन बाध्य रहेको केसीले उल्लेख गरेका छन्।

‘त्यस्ता बिरामी महँगो भाडा तिरेर फलोअपमा आउन नसकेका कारण उपचारबाटै बञ्चित भइरहेका छन्, सुरुमै यातायातका लागि त्यति पैसा जम्मा गर्न नसक्नेहरु अस्पतालै नआइ गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बसिरहेका छन्, त्यसका कारण समयमै उपचार गर्दा निको हुने समस्याहरुपछि समेत अनेक जटिलता र अपांगता देखिने तथा असामयिक मृत्युसमेत हुने अवस्था छ,’ केसीले भनेका छन्।

विश्वव्यापी संकटलाई सबैले एकसाथ झेलिरहेको बताउँदै केसीले यसबाट पार पाउन समाजले गरिरहेको संघर्षमा हामी पनि साथमै रहेको बताएका छन्। कोभिड–१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी र सबैको सुरक्षाको कामना पनि केसीले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय