कुहिएको खाद्यान्न राहत बाँडेको आरोपमा मेयरसहित नौजना पक्राउ

राहतमा कुहिएको खाद्यान्न वितरण गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयरसहित नौजनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले मंगलबार कलैयाका मेयर राजेशराय यादवलाई पक्राउ गरेको हो । मेयर यादवका साथै प्रहरीले पाँचजना वडाध्यक्ष, एकजना वडा सचिव, कोल्ड स्टोरका दुई कर्मचारी र एकजना दाल मिलका सञ्चालकलाई पक्राउ गरेको छ ।

मेयर यादवसहितका व्यक्तिहरुले ‘लकडाउन’ का कारण प्रभावित गरिब तथा विपन्नलाई राहतमा कुहिएको दाल वितरण गरेको आरोप लागेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडा-१ का अध्यक्ष हरिओमप्रसाद सोनार, वडा-७ का अध्यक्ष शैतुल्ला मियाँ अन्सारी, वडा-११ का अध्यक्ष सरुनारायण चौधरी, वडा- १३ का अध्यक्ष राजनप्रसाद कुर्मी र वडा-२६ का अध्यक्ष महेश साह रहेको बाराका जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

यसैगरी वडा-२० का वडा सचिव खेदु मियाँ अन्सारी, दाल मिलका सञ्चालक काठमाण्डौं कीर्तिपुर बस्ने तेजकरण शर्मा जैन, कोल्ड स्टोरका कर्मचारी बच्चु दास र कृष्ण यादवलाई समेत पक्राउ गरिएको डीएसपी मिश्रले बताएका छन् ।

मिश्रले मेयर रायसहितको व्यक्तिले राहतमा कुहिएको दाल बाँडेको आरोपमा पक्राउ गरिएको जानकारी दिएका छन् । उपमहानगरले वितरण गरेको राहतमा कुहिएको दाल भेटिएपछि प्रहरीले यसअघि वडाध्यक्षलगायतका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

राहत वितरणमा भेदभाव भइरहेको भन्दै प्रदेश २ को विभिन्न जिल्लाहरुमा विवादका साथै झडपसमेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय