उदयपुरका आठ स्थानीयमा कोरोना पुष्टि, संक्रमित सबै मस्जिद वरपरका बासिन्दा

उदयपुरमा थप आठजनामा कोरोना भाइरस संक्रमण भेटिएको छ।

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार केही दिनअघि कोरोना देखिएका १२ को सम्पर्कमा रहेका आठजनामा कोरोना पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका आठैजनालाई विराटनगरस्थित कोरोना अस्पताल लगिएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ३९ पुगेको छ ।

त्रियुगा नगरपालिका-३ भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना देखिएको थियो। मुस्लिम समुदायका ११ भारतीय र एकजना नेपालीमा कोरोना देखिएको थियो।

‘उनीहरूको सम्पर्कमा रहेकाहरूको स्वाब परीक्षणका लागि विराटनगर ल्याइएकामध्ये आठजनामा पोजेटिभ देखिएको हो,’ मन्त्री कार्कीले भने।

उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढाका अनुसार कोरोना देखिएका सबै मस्जिद नजिकै बसोबास गरिरहेका व्यक्ति हुन्।

गत वैशाख ६ गते उनीहरूसहित ६९ जनाको स्वाब परीक्षणका लागि विराटनगर पठाइएको थियो।

संक्रमण देखिएका सबै पुरुष हुन्। यति ठूलो संख्यामा स्थानीयमा संक्रमण भेटिएको पहिलो पटक हो। यसअघि विदेशबाट आएका युवाका एकजना आफन्तमा मात्रै संक्रमण पुष्टि भएको थियो। पोजेटिभ देखिएका नमूनालाई थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय