गाउँबाट फोन आउँछ- ‘तिमीहरू कहिले आउँछौ?’

साथीहरू गाउँ पुगिसके। गाउँ पुगेकाहररू फोन गर्छन् अनि भन्छन्- ‘हामी त आइपुग्यौं। तिमीहरू कहिले आउँछौ?’

पश्चिमरुकुमको चौरजहारीका पहल केसी जवाफ दिन्छन्- ‘दुई चार दिनमा आइपुग्छु होला।’ तर, उनको यो ‘दुई-चार दिन’ धेरै बितिसके। कहिले हिँड्न पाउने? केही पत्तो छैन।

पैदल हिँडेरै १ सय १५ किलोमिटर छिचोलेर पोखरा पुगेका उनी अहिले यहीँको नवप्रभात माध्यमिक विद्यालयमा दिन कटाइरहेका छन्।

१८ वर्षीय उनी काम गर्न गाउँकै अरू आठजनासँगै चार महिना पहिले गोरखा पुगेका थिए। सबै मिलेर गोरखाको फिनाम गाउँमा भूकम्पले भत्काएका घर बनाउने गर्थे। काम सकेर घर फर्किने तयारी गरिरहँदा लकडाउन सुरु भयो। लकडाउनकै बीच १२ दिनसम्म काम गरिरहे। काम सकियो तर लकडाउन खुलेन।

हप्ता दिनमा खुल्छ भनेर कुरिरहे। त्यतिबेलासम्म स्थानीयले दिएको चामल र वडाले दिएको राहतले नौ दाजुभाइको गुजारा चलिरहेकै थियो। पहल भन्छन्- ‘राहत सकिन लाग्दा गाउँका युवामार्फत् वडामा राहतका लागि पहल गर्‍यौं। केही लागेन अनि मागेरै कति बस्ने भनेर घर जाने योजना बनायौं।’

घरबाट आमाबुबाले दैनिकजसो उनको हालखबर सोधिरहन्छन्। दैनिक ज्यालादारीमा काम गर्ने सबैले घर खर्च भनेर सबै पैसा घर पठाइसकेका थिए। पकेट खर्च भनेर राखेको पैसा जोरजाम गर्दा २ हजार ५ सय पुग्यो। ‘अनि शुक्रबार बिहान चाउचाउ र चिउरा किनेर त्यहाँबाट हिँड्यौं,’ उनले सुनाए।

हिँडेरै आउँदा चार दिन लाग्ने पोखरा उनीहरू दुई दिनमा आइपुगे। रात होस् वा दिन हिँडिरहे।

‘पानी पर्दा बीचमा दुई घन्टा एउटा प्रतीक्षालयमा आराम गर्‍यौं । नत्र त हिँडेको हिँड्यै,’ पहलसँगै रहेका उनका गाउँले दाइ नरबहादुर बुढाथोकीले भने। झन्डै साढे ५ सय किलोमिटरको दुरी पाँच दिनमा हिँडेर सक्ने योजना थियो। जब १ सय १५ किलोमिटर हिँडेर पोखरा आइपुगे त्यसपछि घर पुग्ने यात्रामा ब्रेक लाग्यो।

आफ्नो ठाउँमा अपरिचित मान्छे देखेपछि पोखराको पुरानोधाराका स्थानीयले रोके। दुई दिनदेखि भोकभोकै हिँडेको थाहा पाएपछि स्थानीयले खानेबस्ने व्यवस्था गरिदिने र मिलेसम्म घरै पुर्‍यायाइदिने आश्वासन दिए।

नौ दाजुभाइले पनि त्यस्तो व्यवस्था भए आफूहरूलाई पनि राम्रै हुने ठाने। स्थानीय प्रमिला तझ्याले पोखरा–९ का वडासचिव लोकदर्शन कोइरालालाई फोन गरिन्। उनले पहल गरेपछि नवप्रभात स्कुलले बस्न ठाउँ दियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र मरसानी रेडक्रसमा आबद्ध भएकाका काण ले उनले ओढ्ने, ओछ्याउने उपलब्ध गराए। अहिले नौ दाजुभाइलाई घर पठाउन प्रशासनसँग अनुमति लिने पहल भइरहेको अध्यक्ष मरसानीले सुनाए। स्थानीयले पनि स्वस्फूर्त खाद्यान्न सहयोग गरिरहेको उनले बताए।

‘हामीले उहाँहरूलाई घर पठाउन पहल गरिरहेका छौं। खानबस्न कुनै समस्या छैन। कसैले अन्डा, कसैले तरकारी, कसैले मासु उपलब्ध गराइरहनु भएको छ,’ उनले सुनाए।

स्थानीय आमा समूहले बिहान-बेलुका पकाएर खुवाइरहेका छन्। अपरिचित मान्छेलाई देखाएको लोभलाग्दो मानवीयता देखेर नौ दाजुभाइ दङ्ग छन्। तर, उनीहरूलाई यसरी बसिरहनुभन्दा घरै पुग्न मन छ।

‘पोखरामा मासुभात खाएर बसिरहनुभन्दा घर जान मन छ। घरै गएर सुतम्ला भनेर दिनरात हिँडेर पाँच दिनमा घर पुग्ने भनेको,’ पहलले सुनाए।

कोरोना नदेखिएको भए पहल र नरबहादुर अहिले दुबईमा काम गरिरहेका हुन्थे। गएको पुस पहिलो सातामै पैसा बुझाएर काम गर्न गोरखा पुगेका थिए। तर, कोरोनाले विदेश गएर पैसा कमाउने योजना अधुरै रह्यो। एजेन्टले कोरोनाका कारण तत्काल विदेश पठाउन नसकिने बताएपछि अहिले निराश छन्।

‘एजेन्टलाई भन्दा जेठसम्म हुन्छ भनेको थियो। अहिले यस्तो महामारी भयो,’ पहलले सुनाए।

गाउँघरका अरू दाजुभाइ तिनै एजेन्टमार्फत् वैदेशिक रोजगारीमा गएको देखेका उनीहरू प्रत्येकले पुसमै साढे २ दुई लाख बुझाएका थिए। नरबहादुर आफैंले कमाएको पैसा एजेन्टलाई बुझाए।

भर्खर किशोरावस्था पार गरेका पहल पहिलोपटक कामका लागि गोरखा पुगेका थिए। पहलले सुनाए- ‘म बल्ल काम गर्न हिँडेको। मलाई दुबई पठाउन आमाबाले ऋण काढ्नुभएको थियो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय