काेराेनाका बिरामीलाई प्रयाेग गरिएकाे औषधीको सकारात्मक प्रभाव

 

कोभिड–१९ का बिरामीहरूमाथि परीक्षण गरिएको प्रयोगात्मक औषधी, रिमडेसिभिरको सकारात्मक प्रभाव देखिएको अमेरिकी सञ्चार संस्था सिएनएनले बताएको छ।

यस प्रयोगबारेको कुराकानीको भिडियो सामग्री हासिल गरेको स्टाट न्यूजले गत सप्ताहन्तमा एक रिपोर्ट प्रकाशित गरी औषधीको कारण बिरामीहरू निकै चाँडै निको भई घर फर्किएको जनाएको छ।

प्रयोगको नेतृत्व गरिरहेका चिकित्सकको भनाइलाई उद्धृत गर्दै स्टाट न्यूजको रिपोर्टले यस औषधीको परिक्षणमा ज्वरो तथा सासमा अत्याधिक कठिनाई भोगिरहेका गम्भीर अवस्थाको बिरामीलाई समावेश गराइएको र सोको परीक्षणात्मक प्रयोगपछि हप्ता दिनभन्दा कम समयमा उनीहरूको स्वास्थ्यमा नाटकीय सुधार आई अस्पतालबाट सकुसल घर फर्किएको उल्लेख गरेको छ।

‘सबैभन्दा शुभ समाचार त के हो भने हाम्रा अधिकांश बिरामीहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन्, जुन वास्तवमै ठूलो उपलब्धी हो। प्रयोगात्मक परीक्षणमा संलग्न दुई जना मात्र बिरामीको निधन भयो,’ परीक्षणको नेतृत्व गर्ने सिकागो विश्वविद्यालयकी संक्रमणजन्य रोग विशेषज्ञ डाक्टर केथलिन मुलेनले भिडियोमा भनेकी छिन्।

त्यसो त यसबारे थप जानकारी हासिल गर्न सिएनएनले गरेको आग्रहलाई उनले अस्वीकार गरे।

उता सिकागो विश्वविद्यालयले डाक्टर मुलेनको भनाइमा आंशिक मात्र जानकारी भएको प्रतिक्रिया दिएको छ।

‘जारी रहेको स्वास्थ्य सम्बन्धी परीक्षणबारेको आंशिक तथ्य आधारभूत रुपमा अपूर्ण हुने गर्छ र यस्तो तथ्यलाई अहिले नै निष्कर्षको रुपमा कदापि मान्यता दिइनु हुँदैन,’ उसले आफ्नो वक्तव्यमा भनेको छ।

सोही विषयमा विश्वविद्यालयले हाल भइरहेको कामबारे अनुसन्धानकर्ताहरूले आफ्ना सहकर्मीहरूलाई आन्तरिक रुपमा दिइएको जानकारी अनुमति बिना बाहिर ल्याइएको जनाएको छ। ‘अहिले नै यसबारे निष्कर्ष निकाल्नु अपरिपक्व तथा वैज्ञानिक रुपमा अनुपयुक्त हुन्छ,’ विश्वविद्यालयले अगाडि भनेको छ।

संक्रमितहरूमा निमोनिया तथा गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्या निम्ताउन सक्ने कोभिड–१९ रोगको निवारणका लागि हालसम्म कुनै औषधी वा उपचार पद्धतिको विकास भइनसके तापनि अमेरिकाको नेशनल इन्स्टिट्युट अफ हेल्थले रिमडेसिभिरसहित अन्य विविध सम्भाव्य औषधी तथा उपचारको प्रशिक्षणलाई जारी राखेको छ।

गिलिड साइन्स नामक औषधी उत्पादकले उत्पादन गरेको रिमडेसिभिर इबोलाको लागि परिक्षण गर्दा असफल भए पनि विभिन्न जवारहरूमा प्रयोग गर्दा यसले कोभिड–१९, सार्स र मेर्सजस्ता कोरोना भाइरससँग सम्बन्धित रोगहरूको सफल निवारण र उपचार गर्न सफल भइसकेको छ।

‘औषधीको प्रयोगात्मक परीक्षणमा संलग्न गम्भीर अवस्थामा बिरामीहरुमध्ये अधिकांश छैठौं दिनमा नै अस्पतालबाट डिस्चार्ज भएका छन्। यस तथ्यले हामीलाई कोभिड–१९ को उपचारको अवधि दस दिनभन्दा बढी नहुने संकेत गरेको छ,’ उनको भनाइलाई स्टाट न्यूजले उद्धृत गरेको छ।

यहीकारण गत फेब्रुअरी महिनामा विश्व स्वास्थ्य संगठनले रिमडेसिभिरले कोभिड–१९ बिरुद्धको क्षमता देखाएको बताइसकेको छ।

स्टाट न्यूजले डाक्टर मुलेनले गत हप्ता आफ्ना सहकर्मीहरूसँग यस औषधीको प्रयोगात्मक परीक्षणबारे छलफल गरेको भिडियो प्राप्त गरेको र सोलाई हेरेको जनाएको छ।

‘औषधीको प्रयोगात्मक परीक्षणमा संलग्न गम्भीर अवस्थामा बिरामीहरुमध्ये अधिकांश छैठौं दिनमा नै अस्पतालबाट डिस्चार्ज भएका छन्। यस तथ्यले हामीलाई कोभिड–१९ को उपचारको अवधि दस दिनभन्दा बढी नहुने संकेत गरेको छ,’ उनको भनाइलाई स्टाट न्यूजले उद्धृत गरेको छ।

अमेरिकाका अन्य एक दर्जनभन्दा बढी स्वास्थ्य प्रयोगशालाहरूले पनि विभिन्न प्रकारका औषधीहरूको परीक्षण जारी राखेका छन्।

गिलिड साइन्सले मात्रै १५२ परिक्षण केन्द्रहरूमा कोभिड–१९ को गम्भीर लक्षणसहितका जम्मा २४ सय जना बिरामीहरूमाथि रिमडेसिभिरको परीक्षण सञ्चालन गरिरहेको छ। भने विश्वभरिका अन्य १६९ अस्पताल र क्लिनिकहरूमा मध्यम लक्षणसहितका अन्य १६ सय बिरामीहरूमाथि पनि औषधीको परीक्षणलाई जारी राखेको गिलिड साइन्सले यसै महिनाको अन्तसम्म परीक्षणको परिणाम आउने अनुमान गरेको छ।

अनुवादित साम्रगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय