शिवसताक्षी कांग्रेसद्वारा भर्चुअल बैठक अभ्यास, नगरपालिकालाई १३ ध्यानाकर्षण

कोरोना संक्रमणबाट जोगिने दर्जनौंमध्येको एउटा उपाय हो भौतिक दुरी कायम गर्नु। विश्व स्वास्थ्य संगठन र सरकारले जारी गरेको सन्देशमा पनि भौतिक दुरी कायम गर्न निरन्तर सचेत गराइँदै आएको छ।

तर, मन्त्री, उच्चपदस्थ सरकारी कर्मचारी र जिम्मेवार तहबाट नै त्यसको उल्लङ्घन भएका दृश्य बारम्बार देखिएकै छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि त्यस्तो दृश्य छ्याप्छ्याप्ती नदेखिएको होइन।

कुनै बैठक बस्नुपर्‍यो, कहिँ जानुपर्‍यो, अरु त्यस्तै काम विशेषले भेला हुनुपर्‍यो भने भौतिक दुरी कायम गर्ने कुरा हामी भुसुक्कै बिर्सन्छौँ। मानौं, हामी कोरोनालाई जितिसक्यौँ जसरी नै बस्छौं। सकेसम्म टाँसिएर बस्ने, लगाएको मास्क पनि चिउडातिर सारेर नाकमुख खुल्लै राक्ने हामीलाई बानी नै परेको छ।

अझ राहत बाँढ्ने बहानामा गरिने हर्कतले त भौतिक दुरी कायम गर्ने कुरा बोलीमा मात्रै सीमित भएको छ। मन्त्रिस्तरीय बैठक र त्यही तहका भेलामा पनि भौतिक दुरीको ख्याल नै गरिन्न। यो निरन्तर देखिँदै र स्वयं गरिँदै आएको दैनिकी नै हो।

राजनीतिक दलका नेता, कार्यकर्ताको बैठक र भेलामा त भौतिक दुरीको कुरा हावादारी सावित भइसकेको छ। सर्वत्र यस्तो अवस्था विद्यमान रहेको बेला झापामा एउटा राजनीतिक दलका स्थानीय नेताले गज्जबको जुक्तिको अनुशरण गरेर भर्चुअल बैठक (भिडियो कन्फ्रेन्स) गरेका छन्।

नेपाली काग्रेस शिवसताक्षी नगर समितिले भर्चुअल बैठक मात्रै गरेन, १३ वटा निर्णय गरेर स्थानीय सरकारको ध्यानाकर्षण गरायो। नगर सभापति पर्शुराम ढुंगानाले नगरमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको सो बैठकमा ४० जना सहभागी उनले जानकारी दिए।

बैठकले दैनिक ज्यालादारी गर्ने वर्गलाई आवश्यक राहत उपलब्ध गराउनु पर्ने, किसानलाई सुपथ मूल्यमा मलबिउ वितरण गर्नुपर्ने, नगर क्षेत्रमा उपभोग्य वस्तुको मूल्यवृद्धि भएकाले नियमित अनुगमन, निरीक्षण गरी कालोबजारी रोक्नु पर्ने, बालबालिकालाई लगाइँदै आएको खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा एकल महिला, फरक क्षमता भएका नागरिकले पाउँदै आएका सेवा, सुविधा र उपचारको व्यवस्था मिलाउनु पर्ने लगायतका निर्णय गरी नगर प्रमुख चन्द्रकुमार शेर्मालाई बुझाइएको काङ्ग्रेस शिवसताक्षी सहसभापति बिनोद ढकालले बताए।

११ वटा वडा रहेको सो नगरका सबै वडा सभापतिले भर्चुअल बैठकमा भाग लिएर राय राखेको ११ नम्बर वडा सभापति अशोक बस्नेतले बताए।

स्थानीय पार्टी समितिले भर्चुअल बैठक शिवसताक्षी काङ्ग्रेसले गरेको बस्नेतको दाबी छ। शिवसताक्षी–६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले यसरी बैठक बस्न सक्नुलाई प्रविधिमा पहुँच स्थापित भएको मान्नु पर्ने बताए।

यसअघि नगरपालिकालाई १ लाख ६५ हजार र इलाका प्रहरी कार्यालयलाई इन्धन, स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइ सकेको काङ्ग्रेस शिवसताक्षीले छिटो राहत प्याकेज कार्यक्रम घोषणा गर्ने तयारी गरेको जनाइएको छ।

मुलुकमा जारी बन्दाबन्दी र कोरोना संक्रमणको त्रासको यो बेला अनावश्यक झमघट नगरी र प्रत्यक्ष भेट गर्न असहज हुँदा पनि आवश्यक काम गर्न सकिन्छ भन्ने सन्देश दिनु भर्चुअल बैठक गर्नुको मुख्य उद्देश्य भएको आयोजकको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय