स्वास्थ्यकर्मीहरूको सम्मानमा विश्वविख्यात कलाकारकाे ‘भर्चुअल कन्सर्ट’ (भिडियाेसहित)

लेडी गागा, पाउल म्याककार्टनी, एल्टन जोन, सेलेनी डिअन, जेनिफर लोपेज, टेलर स्वीफ्ट र बेली ऐलिसलगायत सांगीतिक क्षेत्रमा विश्वविख्याती कमाउन सफल गायक–गायिकाले कोरोना भाइरसको हालको विश्वव्यापी बन्दाबन्दीको समयमा आफ्नै घरको बैठक कोठाबाट अन्तर्राष्ट्रिय ‘भर्चुअल’ सांगीतिक समारोहको आयोजना गरेका छन्।

अन्तर्राष्ट्रिय रुपमा टेलिभिजनबाट प्रसारण गरिएको सो कन्सर्टमा माथि उल्लेखितसहित करिब १०० जना अन्तर्राष्ट्रिय रुपमा चर्चित सांगीतिक  व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

लेडी गागाले ‘विश्वको लागि प्रेमपत्र’को संज्ञा दिएको सांगीतिक कार्यक्रममा रोलिङस्टोन समूहले चार वटा भिन्दाभिन्दै स्थानहरूबाट आफ्नो गीतको प्रस्तुति पस्केको थियो।

कोभिड–१९ को नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका कार्यकर्ता तथा बिरामीहरूको निरन्तर स्याहार गरिरहेका स्वास्थ्यकर्मीहरूको सम्मानमा ‘उनीहरूले हाम्रो लागि देखाएको दयाका लागि हाम्रोतर्फबाट पनि केही करुणा देखाउनको लागि’ सो ‘कन्सर्ट’को आयोजना गरिएको लेडी गागाले जानकारी दिइन्।

‘हामी यस विश्वमहामारीबाट मुक्त हुन चाहन्छौं र हामीलाई थाहा छ तपाईं पनि त्यही चाहनुहुन्छ,’ उनले चार्ली च्याप्लिनको स्माइल गीतको उल्लासपूर्ण संस्करण प्रस्तुत गरिन्।

यस संकटको समयमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई ‘वास्तविक हिरो’को उपमा दिएर दोस्रो विश्वयुद्धको समयमा नर्सको रुपमा घाइतेहरूको सेवामा तल्लित आफ्नी आमालाई सम्झँदै पाउल म्याककार्टनीले उक्त सांगीतिक समारोहमा भाग लिएका थिए।

वन वर्ल्ड टुगेदर एट होम शीर्षक दिइएको सो ‘कन्सर्ट’ विश्व स्वास्थ्य संगठन र ग्लोबल सिटिजन मुभमेन्टले शनिबार साँझ संयुक्त रुपमा आयोजना गरेका थिए भने यस आठ घण्टे कार्यक्रमले सांगीतिक प्रस्तुतिबाहेक कोभिड–१९ विरुद्धको महायुद्धमा अग्रमञ्चमा खटिएका साहसिक व्यक्तित्वहरूको जीवन गाथालाई पनि समावेश गरेको थियो।

‘हाम्रा सबै अग्रपंक्तिका कार्यकर्ताहरूका लागि हामी तपाईंहरूको साथमा छौं, हाम्रो लागि उभिदिनु भएकोमा धन्यवाद,’ स्क्रिनमा देखिएको क्याप्सनमा लेखिएको थियो।

कन्सर्टबाट भएको आम्दानी विश्व स्वास्थ्य संगठन अन्तर्गतको कोभिड–१९ सोलिडारिटी रेस्पन्स फण्डमा जाने भए तापनि उक्त कार्यक्रम फण्डरेजिङ टेलिथन (नगद संकलनका लागि आयोजित टेलिभिजन कार्यक्रम) नभएर मनोरञ्जन र विश्वव्यापी ऐक्यबद्धताको सन्देश सञ्चारका लागि आयोजित भएको कन्सर्टको ‘क्युरेटर’समेत रहेकी लेडी गागाले स्पष्ट पारिन्।

सो समारोहको सबैभन्दा पहिलो प्रस्तुतिकर्ता अमेरिकी गायिका एण्ड्रा डेले राइज अप् गीत गाउँदै बाँकी साँझको लागि माहोलको निर्माण गरिन्।

उनीपश्चात आफ्नै घरको बैठक कोठाबाट गितार बजाउँदै नियल होरानले ब्लाक एण्ड ह्वाइट गीत प्रस्तुत गरे। ‘हामी सबैका लागि यो अन्धकारले भरिएको समय हो … र मलाई लाग्छ यस ऐक्यबद्धतालाई हामीलाई एकअर्कातर्फ निकै नजिक ल्याएको छ,’ प्रस्तुतिपछि उनले भने।

त्यसैगरी, चर्चित बेलायती गायिका रिता ओराले आइ विल नेभर लेट यू डाउन गीत गाउनुपूर्व दर्शकहरूलाई सुरक्षित रहन र विश्व स्वास्थ्य संगठनको स्वास्थ्यसम्बन्धी सुझावको पालना गर्न अनुरोध गरिन्।

सांगीतिक कार्यक्रम भए पनि यसमा सहभागी कलाकारहरूले कोभिड–१९ को सवालमा दर्शकहरूलाई विभिन्न सन्देश दिनबाट पछि परेनन्। यसै क्रममा एनी लेनक्सले विश्व स्वास्थ्य संगठनका लागि अमेरिकाले दिइआएको सहायतामा कटौती गर्ने हालैको घोषणा सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गरिन्।

‘इतिहासको यस अनपेक्षित घडीमा भविष्यका विश्वमहामारीहरूको समयअगावैको पहिचान एवम् निवारणका लागि विश्वव्यापी स्वास्थ्य प्रणालीलाई बलियो र सशक्त बनाउने संयुक्त जिम्मेवारी हाम्रो काँधमा आएको छ,’ राष्ट्रपति ट्रम्पको नाम उल्लेख नगरी उनले भनिन्।

यसैगरी, एली ग्वोल्डिङ र क्रिश्टिन एण्ड द क्विन्स्ले कोरोना भाइरस लकडाउनको परिणामस्वरुप उत्पन्न हुनसक्ने मानसिक स्वास्थ्यको समस्यालाई सम्बोधन गर्दै दर्शकहरूलाई यदि कसैले निरुत्साहित महसुस गरेको भए आफ्ना साथीसंगीहरूसँग त्यस्तो समस्या साझा गर्न हौसला दिइन्।

दुई भागमा विभाजित यस कन्सर्टको पहिलो छ घण्टे पूर्व–कार्यक्रम फेसबुक, इन्टाग्राम, ट्विटर र युट्युबमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो भने पछिल्लो दुई घण्टा अवधिको मुख्य कन्सर्टलाई अमेरिकाको तीन वटा प्रमुख टिभी नेटवर्कबाट प्रसारण गरिएको थियो।

(एजेन्सीहरुकाे सहयाेगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय