प्रदेश ५ मा ४४ वटा ‘कृषि एम्बुलेन्स’

प्रदेश नं. ५ सरकारले लकडाउनलाई लक्षित गरी ‘कृषि एम्बुलेन्स’ शुरु गरेको छ । लकडाउनको समयमा किसानको उत्पादन खेर जानबाट बचाउने उद्देश्यले प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको नेतृत्वमा कृषि एम्बुलेन्स संचालनमा आएको हो ।

प्रदेश सरकारका अनुसार प्रदेश ५ का १२ जिल्लामा ४४ वटा कृषि एम्बुलेन्स प्रयोगमा ल्याइएको छ । ति एम्बुलेन्सले बजारसम्म तरकारी ल्याउन नसकी खेर जाने तरकारी उपभोक्तासम्म ल्याउनका लागि सहयोग गर्नेछ । प्रदेश सरकारको कोरोना बिशेष कार्यक्रम अन्तर्गत कार्यक्रम संचालन गरिएको प्रदेश सरकारको भनाई छ । यसबाट किसानलाई ढुवानीमा सहयोग पुर्याउने र उपभोक्तालाई घरदैलोमा तरकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

कृषि एम्बुलेन्सको प्रदेश ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले रुपन्देहीको देवदह नगरपालिकाको वडा नं. ११ गुम्नी गाउँबाट गरिन् । कार्यक्रममा मन्त्रीका साथमा मन्त्रालयका सचिव तेजबहादुर सुवेदी, प्रवक्ता विनोद घिमीरे, देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यादेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत हरिदक्त कडेलको उपस्थिती रहेको थियो ।

कृषि एम्बुलेन्स गाउँमा आउने थाहा पाएपछि देवदहको गुम्नी गाउँका किसानहरु खेतबारीमा तरकारी टिप्दै गरेका देखिन्थे । ८ कठ्ठामा टमाटर खेती गरेकी मञ्जु मल्लाहको खेतमा ७ जनाले किसानहरु टमार टिप्दै थिए । प्रतिकिलो ५० रुपियाँमा बिक्री गर्न पाए एक सिजनमा ५ लाख जतिको टमाटर बिक्री हुने उनले बताइन् । उनले अहिले प्रतिकिलो ४० रुपियाँमा टमाटर बिक्री गरिरहेको बताइन । अर्का किसान श्रीराम मल्लाहले पनि बोडी, घिरौला, करेला, टमाटर खेती गरेका भेटिए । गाउँमा किसानहरु समुहमा आबद्द भई तरकारी उत्पादन गरिरहेको मल्लाहको भनाई छ ।

प्रदेश ५ का १२ वटै जिल्लाहरुमा कृषि एम्बुलेन्स सुरु भएको कृषि मन्त्रालयले जनाएको छ । किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई बिशेष परिस्थितीमा बजारीकरणमा सहजता ल्याउनको लगि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याईएको मन्त्री आरती पौडेलले जानकारी दिइन । यसबाट तरकारी बेच्ने र किनेर खाने बीचको दूरी नटुट्ने बताइन ।

जिल्लामा रहेका कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्द्रमा रहेका पिक अप गाडी र मन्त्रालय मतहतका कार्यालयहरुले अनुदानको रुपमा उपलब्ध गराएका पिक अप गाडी कृषि एम्बुलेन्सको रुपमा प्रयोग हुने भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का प्रवक्ता विनोद घिमिरेले बताए ।

किसानहरुको उत्साहलाई मर्न नदिन र उपभोक्ताको सहजताको लागि उक्त कृषि एम्बुलेन्स संचालनमा ल्याएको देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले बताए । उनले नगरभित्र उत्पादन भएको तरकारी नगरका लागि प्राथमिकता दिई उपभोक्तासम्म पुर्याइने र बढी भएको अवस्थामा मात्रै नगरबाहिर लैजाने व्यवस्था गर्ने बताए । उनले कृषकलाई उत्पादनका लागि समेत नगरपालिकाले प्रोत्साहित गरिने जानकारी गराए ।

प्रदेश सरकारले घोषणा गरेको भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा देवदह नगरपालिकाले उक्त कृषि एम्बुलेन्स संचालनमा ल्याएको उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताइन ।

प्रमुख प्रशासकीय अधिकृत हरिदक्त कडेलका अनुसार सोमबार रेहरा र गुम्नी गाउँबाट भिड्डी, मूला, भान्टा, टमाटर, बन्दा, सीमी, तने बोडी, फर्सीको मुन्टा तरकारी ढुवानी गरिएको छ । ति तरकारीहरु स्थानीय बजारमै खपत भएको उनले जानकारी दिए ।

नगरपालिकाका अनुसार नगरभित्र ७० जना भन्दा बढी किसानहरु ६ कठ्ठा भन्दा बढी क्षेत्रफलमा व्यावशायिक तरकारी खेती गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय