कोरोनालाई ‘स्वस्थ नेपाली स्वच्छ नेपाल’ बन्ने अवसर बनाऔं

कोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले पूरै संसारलाई आतंकित बनाइरहेको छ। यसको प्रभावबाट हाम्रो मुलुक पनि अछुतो रहन सक्ने सम्भावना छैन। कोरोना भाइरसले नेपाललाई पनि विस्तारै आफ्नो पकडमा लिँदै गइसक्यो। विश्वमानचित्रमा रहेका लगभग अधिकांश देशमा यो महामारीकै रूपमा फैलिसकेको छ। कुनै देशमा अत्यन्त विकराल त कुनैमा सामान्य प्रभाव देखिएका छन्।

आज विकराल समस्या देखिएका मुलुकले हिजो के गरे भन्ने सन्दर्भमा जानकारी लिने हो भने चुरो कुरा बुझिन्छ। सन् २०२० को नयाँ वर्षसँगै चीनको उहान सहरमा पहिलोपटक यो भाइरस देखापर्‍यो। यसको प्रकोप यति छिटो बढ्यो कि प्रविधि र अन्य क्षमताले आफूलाई विश्वमा नै एक नम्बरमा स्थापित गराउन प्रयत्नरत देशलाई पनि अत्यन्त कठिन परिस्थिति सिर्जना गरिदियो।

चीन एक्लै कोरोना भाइरस रोगसँग लडिरहँदा अन्य राष्ट्रहरूले यस विषयमा जति गम्भीर भई राष्ट्रिय सुरक्षा र स्वास्थ्य नीतिमा कडाई गर्नुपर्ने थियो, त्यति गम्भीर भएको पाइएन। अझ अन्य राष्ट्रले यो केवल एउटा राष्ट्रको मात्रै समस्या हो, अन्य भाइरसजस्तै यो केही समयको अन्तरालमा समाप्त भएर जान्छ भनेर लगभग भगवान भरोसामै रहेको जस्तो अनुभूति भयो।

विश्व समुदायले रोग, भोक र गरिबी कुनै राष्ट्र, वर्ग र समुदायको मात्रै समस्या नभई यो सबैको साझा समस्या वा शत्रु हो, यसलाई सामूहिक प्रयासबाट परास्त गर्नुपर्छ भन्ने बुझ्नुपर्छ।

आज विश्वका अत्यन्त विकसित मुलुकलाई यो भाइरसले जसरी गाँजिरहेको छ, त्यसबाट अन्य मुलुकलाई पनि प्रभाव पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

चीनमा यो भाइरस संक्रमण बढिरहँदा त्यहाँको सरकार र चिकित्सकहरूले यसबाट संक्रमित हुन नदिन र रोग लागेमा उपचारमा अपनाउनुपर्ने उच्च सतर्कता अपनाउनका लागि सचेतनामूलक जानकारी गराउँदा पनि मानिसहरूले यसलाई हल्का रूपमा लिएको, भिडभाड गर्ने, वाह्य आवागमनमा स्वतन्त्रतासाथ विचरण गर्ने, सावधान रहनुपर्ने विषयलाई शिक्षाका रूपमा नलिने जस्ता कार्य गर्दै जाँदा अत्यन्तै विकसित मुलुक अमेरिका र इटालीमा जुन किसिमले हरेक दिन यस भाइरसको प्रकोप बढिरहेको छ, त्यस विषयमा विश्व स्वास्थ्य संगठन र पूरै विश्व नै चिन्तित रहेको छ।

यसै सन्दर्भमा हाम्रो देश नेपालले यस रोगबाट बच्न उच्च सतर्कता अपनाउन थालेको छ। यस्तो समयमा सबै नागरिकहरूले राज्यका आदेश र निर्देशन पालना गर्नुपर्दछ। यो रोगले कुनै उमेर समूह, जात, वर्ग, क्षेत्र, समुदाय केही भन्दैन। एक व्यक्तिबाट धेरै व्यक्तिलाई संक्रमण हुनसक्छ।

यो रोगको उपचारका लागि कुनै औषधिको आविष्कार भइसकेका छैन। अतिविकसित राष्ट्रहरूलाई त यो रोगले पीडित बनाइरहेको अवस्थामा हाम्रो जस्तो अल्पविकसित राष्ट्रमा यसको संक्रमण फैलियो भने अत्यन्त भयावह अवस्था सिर्जना हुनसक्छ।

निश्चित अवधिमा यसको संक्रमण सकिएपछि पुनः पूर्ववत अवस्थामा नै फर्किन सकिन्छ। आज नेपालमा संक्रमित देखिएकाहरूको सफल उपचार र संक्रमण रोकथाम भयो भने विश्वमानचित्रमा ‘स्वस्थ नेपाली स्वच्छ नेपाल’ भनेर चित्रित हुनेछ।

त्यसैले भ्रामक प्रचारप्रसार, अफवाह वा मनगढन्ते कुरा वा रूढिवादी विचार व्यक्त गरेर समाज र राष्ट्रलाई नै अप्ठेरो पार्ने काम कुनै नागरिकबाट पनि हुनुहुँदैन। यसो गर्नु भनेको राष्ट्रघात पनि हो। आज देखिएको समस्या समाधानका लागि सरकारी तहबाट समाधानका लागि स्रोतसाधन जुटाउन नसकिएको कतिपय सामाजिक जीवनमा समस्या परेको इत्यादि विषयमा टिकाटिप्पणी हुनथालेको छ।

यसलाई हामी गम्भीर रूपमा लिएर विश्व समुदायमा रहेका विकसित राष्ट्रमा एक्कासि यो भाइरसको संक्रमण फैलिँदा उनीहरूलाई त साधनस्रोतको उचित व्यवस्थापन गर्न कठिनाइ भइरहेको अवस्थामा नेपाल जस्तो स्रोतसाधन अभाव भएको र विश्वबजार नै लगभग ठप्प रहेको अवस्थामा पूर्णरूपले सुविधा सम्पन्न गर्न वा गराउन कठिनाइ पर्छ।

देशभरिको जनसंख्याको जागिर, व्यवसाय, अवस्था र वातावरणको अभिलेख राख्न नसकेको हाम्रो सरकारले त्यस्ता पीडित वर्ग र समुदायलाई सम्बोधन गर्न सकेको छैन। यसलाई पनि स्थानीय जनप्रतिनिधिमार्फत् अभिलेखीकरण गरी समस्या समाधान गर्नेतर्फ अग्रसरता देखाउने प्रतिबद्धता व्यक्त गरेको छ।

आज देशका तीनवटै तहका सरकार स्थानीय स्रोतसाधन जुटाइ कोरोना भाइरसविरुद्ध एकजुट भई समस्या समाधानतर्फ जुटिरहेको अवस्था छ। यसमा सबै नागरिकले सहयोग र साथ दिनुपर्छ। हरेक समस्या केवल समस्यामात्र नभई यसले अवसर र चुनौती साथै ल्याएको हुन्छ।

यसलाई सरकार र नागरिक दुवैले राष्ट्रिय समस्या हो, यसलाई मिलेर सुरक्षाको उपाय अवलम्बन गरेर परास्त गर्न कटिबद्ध हुनुपर्छ।
हो, राज्यले लकडाउन घोषणा गर्दा पक्कै पनि नागरिकलाई दैनिक जीवनमा कठिनाइ त परेकै छ। तर, यसलाई सरल र सहज ढंगले पार लगाउन घरमै बसेर रचनात्मक, उत्पादनशील र सिर्जनशील कार्य गरी समय बिताउन सकिन्छ।

निश्चित अवधिमा यसको संक्रमण सकिएपछि पुनः पूर्ववत अवस्थामा नै फर्किन सकिन्छ। आज नेपालमा संक्रमित देखिएकाहरूको सफल उपचार र संक्रमण रोकथाम भयो भने विश्वमानचित्रमा ‘स्वस्थ नेपाली स्वच्छ नेपाल’ भनेर चित्रित हुनेछ।

त्यसका लागि हामी सबै नागरिकले राज्यको आदेश वा निर्देशनको पूर्णपालना, सचेतना जगाउने सूचनाहरूको पूर्णपालना र व्यक्तिगत तथा समुदायगत सरसफाइका उपाय अपनाएर स्वस्थ बस्न सकिन्छ। यदि हामी यो रोगसँग त्रसित र भयभित भई आलश्य हुने, अनेक किसिमका कुरा मनमा खेलाउने, व्यक्तिगत स्वास्थ्य र खानपानमा ध्यान नदिने गर्‍यौं भने अन्य रोगबाट ग्रसित हुन सक्छौं। त्यसैले सबै नागरिकहरू सचेत र स्वस्थ भई यस रोगसँग लड्ने क्षमता प्रदर्शन गरौं।

(भट्टराई नेपाली कांग्रेस काठमाडौं नागार्जुन नगरकार्यसमितिका उपसभापति हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय