जम्मा ११ भेन्टिलेटरका भरमा प्रदेश २ का सरकारी अस्पताल

प्रदेश २ मा कोरोना संक्रमित बढ्दै जान थालेपछि यहाँ त्रास पनि उत्तिकै बढेको छ।

केही दिनअघि वीरगन्जको मस्जिदमा बसिरहेका तीनजना भारतीयलाई संक्रमण पुष्टि भयो।

कोरोना संक्रमणको सम्भावनाको हिसाबले प्रदेश २ लाई उच्च जोखिममा राखिएको छ। प्रदेशको आठवटै जिल्ला भारतीय सीमासँग जोडिएको र वैदेशिक रोजगारीमा जानेहरुको संख्यासमेत सबैभन्दा बढी रहेकोले प्रदेश २लाई उच्च जोखिमको रुपमा हेरिएको हो ।

कोरोना संक्रमितको संख्या बढिरहेको बेला रोकथाम गर्न पूर्ण रुपले तयार रहेको प्रदेश २ सरकारको दाबी छ । तर, कोरोनाविरुद्धको लडाईंमा प्रदेश २ अझै प्राविधिक रुपले तयार हुन नसकेको चिकित्सकहरु बताउँछन् । कोरोना संक्रमितको उपचार गर्न अतिआवश्यक मानिएको आइसीयू, भेन्टिलेटरलगायतका अत्यावश्यक उपकरणहरुको प्रदेश २ मा अभाव रहेको चिकित्सकहरुको भनाइ छ । भेन्टिलेटरमात्र नभएर प्रदेश सरकारसँग दक्ष जनशक्तिको समेत कमी रहेको उनीहरु बताउँछन् ।

कोरोना संक्रमितको उपचार गर्न तत्काल आवश्यक नरहेपनि स्वास्थ्य अवस्था गम्भीर हुँदा भेन्टिलेटर र आइसीयु नभइ नहुने प्रादेशिक अस्पताल जनकपुरका एक चिकित्सकले बताए । ‘कोरोना संक्रमित बिमारीको स्वास्थ्य अवस्था गम्भीर हुँदा भेन्टिलेटरसहितको आइसीयुमा राख्नुपर्ने हुन्छ, तर प्रदेशभित्र यसको अभाव छ,’ उनले भने ।

कोरोना संक्रमितहरुमा श्वासप्रश्वासको समस्या देखिने र यस्तो अवस्थामा भेन्टिलेटर सबैभन्दा बढी आवश्यक रहेको चिकित्सकहरु बताउँछन् ।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको आपूर्ति महाशाखा प्रमुख डा.प्रमोद यादवपनि प्रदेशभित्र आइसीयू कक्ष र भेन्टिलेटर पर्याप्त संख्यामा नरहेको बताउँछन् । डा.यादवका अनुसार अहिले प्रदेश २ का सरकारी अस्पतालमा जम्मा ११ वटा भेन्टिलेटर रहेको छ ।

प्रादेशिक अस्पताल जनकपुरमा ३, नारायणी उपक्षेत्री अस्पताल वीरगंजमा ५ र सप्तरीस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ३ गरी प्रदेश २ मा ११ वटा भेन्टिलेटर रहेको उनले जानकारी दिए ।

डा.यादवले प्रदेश २ मा अहिले रहेको भेन्टिलेटर पर्याप्त नरहेको बताए । सामान्य अवस्थामा फरक नपरेपनि कोरोना संक्रमितको संख्या बढेर बिरामीको स्वास्थ्य अवस्था गम्भीर भएको खण्डमा समस्या आउन सक्ने उनको भनाइ छ । अहिलेको अवस्थामा प्रदेश २ भित्र न्यूनतम एक सयको संख्यामा भेन्टिलेटरको व्यवस्था हुनुपर्ने उनको तर्क छ ।

यादवले कोरोनाको सम्भावित संक्रमणलाई मध्यनजर गरी भेन्टिलेटरलगायतका आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । ‘प्रदेश सरकारले भेन्टिलेटरलगायतका सामग्री खरिद गर्न निर्णय गरिसकेको छ,’ उनले भने,‘हामी प्रक्रिया अगाडी बढाइसकेका छौं, चाँडै आउला आशा गरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय