पैसा छरेर भागेको भनिएकी दुवै महिलाको स्वाब रिपोर्ट नेगेटिभ

हेल्थपाेस्ट/जनकपुरधाम
प्रकाशित
२०७७ वैशाख ७ गते १४:२६

जनकपुरको महावीर चोकमा पैसा छरेर भागेको भनिएकी दुवै महिलाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ। प्रादेशिक अस्पताल जनकपुरमा आइतबार गरिएको स्वाब परीक्षणमा दुवै महिलाको रिपोर्ट नेगेटिभ आएको हो।

कोरोना आशंका गरिएको दुबै महिलाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ रहेको प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहले जानकारी दिए। साहका अनुसार उनीहरूको अन्तिम रिपोर्ट सवा अपरान्ह सवा एक बजे आएको हो।

यसअघि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुरमा गरिएको र्‍यापिड टेस्टमा पोजिटिभ देखिए पनि स्वाब परीक्षणमा दुवैजनाको अन्तिम रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए।

दुवैजनाको स्वाब परीक्षणको अन्तिम रिपोर्ट निगेटिभ देखिएकोले थप जाँचको लागि काठमाडौं पठाउन नपर्ने उनको भनाइ छ। स्वाब रिपोर्ट नेगेटिभ देखिए पनि दुवैलाई केही दिन आइसोलेसनमा राखिने उनले जानकारी दिए।

शनिबार अपरान्ह जनकपुरधामको महावीर चोकस्थित सडकमा वडा नम्बर ७ जानकी नगरमा घर भएकी आमुना खातुन र अलिना खातुन पैसा छरेर फरार भएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले सीसीटीभी फुटेजको मद्तले दुबै महिलालाई शनिबार अपरान्ह उनीहरूलाई घरबाट पक्राउ गरेको थियो।

पक्राउ परेलगत्तै प्रहरीले प्रादेशिक अस्पताल जनकपुरमा दुवैको र्‍यापिड टेस्ट गर्न लगाएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका एक अधिकृतका अनुसार श्रीमानले विदेशबाट पठाएको पैसा मुरलीचोकस्थित सहयोगी विकास बैंकबाट झिकेर जाँदै गर्दा उनीहरूको साथमा रहेको १० रुपैयाँको नोट बाटोमा झरेको थियो। उनीहरूले बैंकमै दश/दश दरको नोट एक हजार रुपैयाँ साटेका थिए।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले नियतवश रुपैयाँ छरेको नदेखिए पनि थप अनुसन्धान भइरहेको ती अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय