झापाका ७० मस्जिदमा प्रहरी निगरानी
झापा प्रहरीले जिल्लाका ७० वटा मस्जिदमा सुरक्षा निगरानीमा बढाएको छ। झुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदायका १३ जनामा कोरोना संक्रमण (कोभिड -१९) पुष्टि भएपछि झापाका सबै मस्जिदमा निगरानी बढाएको जिल्ला प्रहरीले जनाएको छ।
१३ जना संक्रमित फेला परेको मस्जिद त्रियुगा नगरपालिका- ३ मा रहेको छ। झापाको बिर्तामोड र दमक नगरपालिकामा दुई ठुला मस्जिद छन्। ती मस्जिदमा मुस्लिम समुदायका २० धर्मगुरु रहेका छन्। उनीहरुमध्ये १८ भारतीय नागरिक भएको झापा प्रहरीले जनाएको छ।
ठूला मस्जिदमा भारतीय धर्मगुरु बसेको भेटिएपछि प्रहरीले निगरानी बढाएको हो। ती मस्जिदमा बस्ने सबै धर्मगुरुको स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ।
उनीहरूको आरडिटी परीक्षण गरिएको कोरोना रोकथाम तथा नियन्त्रण समिति झापाका सचिव जीवन चौलागाईंले बताए। तर, परीक्षणको रिपोर्ट रिपोर्ट नेगेटिभ आएको बताइएको छ। झापा प्रहरीका अनुसार बिर्तामोडको मामे मस्जित मुनवारमा ९ र दमकमा ११ मुस्लिम समुदायका धर्मगुरु छन्।
चौलागाईंले दमकमा रहेको मस्जिदमा बस्ने धर्मगुरुसहित तीन कर्मचारीको पनि स्वास्थ्य परीक्षण गरिएको बताए। झापामा ७० मस्जिद र ४९ मदरसा रहेका छन्।
जिल्लामा रहेका सबै मस्जिद र मदरसा सञ्चालकसँगको समन्वयमा धार्मिक कर्म अहिले बन्द गराइएको बिर्तामोडस्थित जामे मस्जिदका सचिव एजाज अहमदले बताए। मस्जिदमा आउनेहरुलाई धर्मप्रतिको विश्वास, नमाज पढ्न सिकाउने, ध्यान, आचरण शिक्षा, दायित्व, कर्तव्यका बारेमा धर्मगुरुहरूले सिकाउने गरेको एजाजले जानकारी दिए।