चीनबाट ३ सय टन मेडिकल सामग्री ल्याउन कतिपटक वाइडबडी उडाउने?

कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण गर्न चीनबाट ३ सय टन मेडिकल सामग्री ल्याइने भएको छ। ६९ प्रकारका चिकित्सकीय सामग्री ल्याउन नेपाली सेना र चिनियाँ कम्पनीबीच औपचारिक रूपमा सम्झौता हुन लागेको हो।

सैनिक स्रोतका अनुसार चिनियाँ सरकारी कम्पनीलाई सम्झौतापत्र पठाइएको छ।

‘सम्झौतामा हस्ताक्षर भएर आइसकेको छैन,’ सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले हेल्थपोस्टनेपालसँग भने। चिनियाँ सरकारी कम्पनीबारे भने सेनाले ‘गोप्य’ राखेको छ।

पाण्डेका अनुसार उक्त कम्पनीलाई भुक्तानीको लागि अर्थ मन्त्रालयबाट प्रक्रिया अघि बढेको छ। अर्थले रक्षा मन्त्रालयलाई मेडिकल सामग्रीको भुक्तानी पठाउने तयारी गरिरहेको छ।

‘आजभोलि नै पैसा पठाउने र त्यसपछि सामग्री ल्याउने कुरा अघि बढ्छ,’ पाण्डेले भने।

यसै साताबाट मेडिकल सामग्री काठमाडौं आउने सेनाको भनाइ छ।

अर्थ मन्त्रालय र रक्षा मन्त्रालयले के कति रूपैयाँ भुक्तानी दिन लागेकोबारे जानकारी दिएनन्।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भुक्तानी प्रक्रियाबारे आफूलाई जानकारी नभएको बताए।

‘हामीले सम्बन्धित मन्त्रालयलाई भुक्तानी गर्ने हो, अन्य कुनै खरिदकर्ता वा आयातकर्ता विशेषलाई हैन,’ खत्रीले भने, ‘के कति भुक्तानी गर्ने भन्ने मलाई जानकारी भएन।’

चिनियाँ कम्पनीले ग्वान्झाओस्थित अन्तर्राष्ट्रिय विमानस्थलसम्म सामग्री ल्याइदिने वचन दिएको छ। त्यतिधेरै सामग्री अब कसरी ल्याउने भन्ने सेनालाई टाउको दुखाइ बनेको छ।

एकपटकको चार्टरमा वाइडबडीले कार्गो प्रयोग गर्दा अधिकतम् २३ टन सामग्री बोक्ने क्षमता राख्छ। खाली जहाज भएकाले सिटतिरसमेत राख्न दिए ५५ टनसम्म बोक्न सक्छ। तर, सिटमा राखेर ल्याउने सम्भावना न्यून छ।

यस हिसाबले १५ पटकसम्म वाइडबडी उडाउनुपर्ने अवस्था आउन सक्छ।

नेपालबाट एकपटक वाइडबडी चार्टर गर्दा त्यसको भाडा १ करोड ८१ लाख ७७ हजार ८ सय ३० रूपैयाँ पर्न आउँछ।

काठमाडौंबाट ग्वान्झाओ जान वाइडबडीलाई ४ घन्टा २० मिनेट लाग्छ, ग्वान्झाओबाट काठमाडौं आउन ४ घन्टा १० मिनेट।

ग्वान्झाओ रूटको प्रतिघन्टा भाडा १८ हजार १ सय १० अमेरिकी डलर (२१ लाख ९० हजार १ सय रूपैयाँ) पर्छ। यसहिसाबले जान-आउन एक पटकमा ८ घन्टा ३० मिनेट वाइडबडी जहाज उडाउँदा भाडा मात्रै १ करोड ८१ लाख ७७ हजार ८ सय ३० रूपैयाँ पर्छ।

वाइडबडी धेरैपटक उठाउँदा महँगो खर्च हुने भएकाले सेना समस्यामा परेको छ।

‘केही महत्वपूर्ण सामग्री हामी चार्टर गरेर ल्याउँछौं, बाँकी सामानका लागि स्थलमार्ग प्रयोग गर्नेबारे हामी सल्लाह गरिरहेका छौं,’ सैनिक प्रवक्ता पाण्डेले भने।

६९ प्रकारका सामग्रीसँगै सेनाले अत्यावश्यक औषधीसमेत खरिद गर्दैछ। त्यसमा ५३ प्रकारका औषधी छन्।

ती औषधी भने भारतबाट खरिद हुँदैछ। औषधीका लागि सेनाले भारतीय कम्पनीसँग प्रक्रिया अघि बढाइसकेको छ।

नेपालका स्वास्थ्यकर्मीले मेडिकल सामग्री अभाव झेलिरहेका बेला सरकारले चैतमा खरिद अघि बढाएको थियो। तर, सो खरिद विवादमा आएपछि सरकारले सेनालाई बाँकी खरिदको जिम्मा दिएको थियो।

यसपछि सेनाले खरिद इकाई गठन गरेर मेडिकल सामग्रीको सूची तयार गरेको थियो। सरकारीस्तरबाट कोरोनासँग जुध्न यति ठूलो परिमाणमा मेडिकल सामग्री खरिद गरिएको यो पहिलोपटक हो।

निजी क्षेत्रले भने वाइडबडी चार्टर गरेर सामानहरू ल्याइरहेका छन्।

यसपटकको औषधी खरिद कम विवादित बनाउने प्रयासमा सेना छ। त्यसैले, पनि खरिद प्रक्रियाको विस्तृत जानकारी बाहिर ल्याइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय