अस्ट्रेलियामा कोरोना संक्रमण जितेकी नेपाली नर्सको अनुभूति : घरमै ‘आइसोलेसन’ बसेर कोरोना जितेँ

विश्वव्यापी महामारीबाट संसारै आक्रान्त छ। विश्वभर छरिएर रहेका नेपाली पनि यो संक्रमणबाट अछुतो छैनन्। अमेरिका, बेलायत र खाडी मुलुकमा रहेका दर्जनौं नेपाली यसबाट प्रताडित छन्।

केही नेपालीले कोरोनाबाट ज्यान पनि गुमाइसकेका छन्। नेपालमा हालसम्म ३१ जनालाई संक्रमण पुष्टि भइसकेको छ। नेपालमा स्थानीय रूपमा महामारीले ठूलै रूप लिइसकेको त छैन तर त्रास भने उस्तै छ।

यसै सन्दर्भमा कोरोना संक्रमणलाई जितेकाहरूको अनुभवले संक्रमणसँग लडिरहेकाहरूको मनोबल बढ्ने छ भन्ने उद्देश्यले अस्ट्रेलियामा कोरोना संक्रमण जितेकी एक नेपाली नर्सको अनुभूति यहाँ पस्किएका छौं :

मेरो नाम सञ्जिता न्यौपाने हो। म मेलबर्नमा बस्छु। कोरोना संक्रमणबाट पूर्णरूपमा निको भएर अहिले काममा फर्किएको छु। म आफू पेसाले रजिस्टर्ड नर्स हो। म यहाँ नजिकै अस्पतालमा काम गर्छु। हामी मार्च ३ मा अमेरिका भ्रमणमा गएका थियौं। न्युयोर्कबाट फर्किएर मार्च २२ मा अस्टे«लियाको मेलबर्नमा उत्रियौं। त्यसबेला अस्ट्रेलिया सरकारले १४ दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिएको थियो। त्यसैअनुररूप सबैजना घरमा क्वारेन्टाइनमा बस्यौं। २४–२५ घण्टाको लामो यात्राको थकाइ लागेको थियो, घरमा आराम गरेँ।

२३ तारिख दिउँसोबाट मलाई कोरोनाका केही लक्षण देखिन थाले। जुन हामी एकदमै ज्वरो आउँछ भन्छौं, तर मलाई ज्वरो आएन। ज्वरो मापन गर्दा ९८ डिग्री सेल्सियसमात्र देखियो। त्यसपछि मलाई सारै टाउको दुख्यो, सिटामोल खाएर सुतेँ।

राति १–२ बजे धेरै गह्रुँगो भयो। फेरि सिटामोल खाएँ। तर, सुत्न सकिनँ। ढाड दुख्ने र चिटचिट पसिना आउने र जाडो भएको फिल भयो। चट्टानले थिचेजस्तै गरेर टाउको दुख्यो। पुनः सिटामोल खाएर सुत्ने प्रयास गरेँ। श्रीमान र दुई बच्चा छन्। श्रीमानलाई सुत्ने बेलामा ‘गाह्रो भएको छ, नउठाउनू’ भनेको थिएँ।

सुत्नै नसकेपछि, मेलवर्नको कोभिड हटलाइनमा फोन गरेँ । मलाई यस्तो यस्तो लक्षण देखियो, म यस्तो ठाउँबाट आएको भनेर सबै ट्राभल हिस्ट्री बताएँ।

उताबाट अहिले नै अस्पताल आएर चेक गर्नुहोस् भन्ने जवाफ आयो । राति २ बजेको थियो, बच्चा सुतिरहेका छन्, बिहान चाँडै जान्छु भन्ने मनस्थिति बनाएँ। बिहान जाँच गर्न गएँ। एक दुई दिनमा नतिजा आयो। बच्चा र श्रीमानको रिर्पोट नेगेटिभ आयो भने मेरो केही समय रिपोर्ट दिइएन।

केही भयो कि भनेर मलाई डर लाग्यो। एकछिनपछि अस्पतालबाट डाक्टरको फोन आयो। डाक्टरले रिपोर्ट पोजेटिभ आयो भनेर आइसोलेसनमा बस्न आग्रह गरे। म घरमै बेडमा आइसोलेसन बसेँ । श्रीमान र बच्चाबाहेक। आइसोलेसनमा बस्दै गए, दिनहरू बित्दै गयो।

१४ दिन आइसोलेसनमा बस्दा धेरै नै गाह्रो भयो। बच्चाहरूलाई कसरी जोगाउने भन्ने चिन्ताले मात्रै सताउँथ्यो। श्रीमान, बच्चाहरू पनि तनावमा थिए। आफैंले सम्झाइ बुझाइ गरेँ।

मलाई अस्पतालबाट दैनिक फोन आउँथ्यो। स्वास्थ्य अपटेड लिनका लागि दैनिक फोनमा कुरा हुन्थ्यो। मलाई जे भएको छ त्यहीअनुसारको बताउँथे। सबैभन्दा धेरै टाउको दुख्ने र ढाड दुख्नेमात्र भयो। हल्का– हल्का सुख्खा खोकी लागिरहन्थो।

तातोपानी खाने, बेसार पानी, कागती खाने गर्दथेँ। श्रीमानले खाना ल्याएर ढोकामा राखिदिनुहुन्थो। विभिन्न किसिमको समाचार आइरहेका थिए। कसैले छुँदा पनि सर्ने, कसैले हावाबाट सर्ने भन्ने गरेका थिए। अस्पतालको गाइडलाइनअनुसार नछुने, ढोकाबाट खानेकुरा दिने, बच्चाबाट टाढा बस्ने, भनेअनुसार मैले फोनमा सम्पर्क गरेर परिवारसँग कुरा गर्थें।

कोठाभित्र नै बाथरुम छ। यसरी सेल्फ रहेँ। डाक्टरहरूले ७–८ दिनमा गाह्रो हुनसक्छ, केही भयो भने एम्बुलेन्समा फोन गरेर अस्पताल आउनु भन्नुभएको थियो।

७–८ दिनमा मलाई धेरै नै गाह्रो भएजस्तो भयो। छाती दुख्ने, टाउको धेरै दुख्ने, कम्मरभन्दा मुनि दुख्ने भयो। त्यसपछि मेरो मन धेरै नै आत्तियो। नेपालमा बुबा–आमासँग कुरा गरेँ। अर्को कोठामा रहेका श्रीमान, बच्चासँग पनि फोनमा कुरा गरेँ। मलाई गाह्रो भयो भनेर भन्दा तनाव होला सुत्छु भनेर फोन राखेँ। तर, दुखाइ सहन सक्ने अवस्थामा थिइनँ। त्यसपछि डाक्टरलाई फोन गरेँ। डाक्टरले सम्भव भएसम्म म्याग्नेसियम सप्लिमेन्ट किनेर खानु भन्नुभयो। श्रीमान आफैं आइसोलेसनमा हुनुहुन्थ्यो, उहाँ जान मिलेन।

साथीहरूलाई भनौं भने रातिको १० बजिसकेको थियो, भन्न पनि अप्ठ्यारो लाग्यो। बच्चाहररूको भिटामिन सप्लिमेन्ट घरमै रहेछ, भिटामिन सी पनि खाएँ। बेसार पानी खाएर सुत्ने प्रयास गरेँ।

भोलिपल्ट उठ्दा त्यस्तो गाह्रो भएन। बच्चाहरू भेट्न नपाउँदा गाह्रो हुन्थ्यो। फोनबाट बच्चाहरूले कहिले भेट्ने भनेर कुरा गरिहन्थे। त्यसैगरी १४ दिन बिते।

डाक्टरले फोन गरेर हेल्थ वर्कर भएको कारण फेरि स्वाब लिनुपर्छ, अस्पताल आउनू भन्नुभयो। म आफैं गाडी लिएर अस्पताल गएँ। स्वाब दिएर घर फर्किएँ।

रिपोर्ट फेरि पोजेटिभ नै आयो। त्यसपछि म धेरै नै आत्तिएँ। अब यो पोजेटिभ कति दिनसम्म रहन्छ भनेर त्रसित नै भएँ। रिपोर्ट आएको भोलिपल्ट पुनः अस्पताल गएँ। डाक्टहरूले दुईवटा स्वाबको परीक्षण नेगेटिभ भएपछि मात्र नर्मल रुटिङमा फर्किन सक्नुहुन्छ भने।

त्यहीअनुसार दोस्रो स्वाब दिन गएँ। दोस्रो स्वाबको नतिजा नआउँदै तेस्रो स्वाबका लागि बोलाइयो। त्यसपछि दुइटै स्वाबको नतिजा नेगेटिभ आयो। त्यसपछि म नियमित काममा फर्किएँ।

(डिबेट फर नेपालले गरेको भिडियो कन्फरेन्समा सुनाएको आधारमा तयार पारिएको सामग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय