जसले दम र उच्च रक्तचाप हुँदा पनि आत्मविश्वासका कारण कोरोनालाई जितिन्…

कोरोना भाइरसविरुद्धको लडाइँ जितेर बागलुङकी ६५ वर्षीया महिला १७ दिनपछि घर फर्किएकी छिन्। कोरोना संक्रमणबाट मुक्त भएपछि उनी शनिबार डिस्चार्ज भएर घर फर्किएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए।

चैत ४ मा कतारको दोहा हुँदै नेपाल आएकी बागलुङकी ६५ वर्षीया महिलाको तेस्रो परीक्षण नेगेटिभ आएपछि अस्पातलले डिस्चार्ज गर्ने निर्णय गरेको हो। डा. पोखरेलका अनुसार डिस्चार्ज संक्रमित महिलालाई दुई साता क्वारेन्टाइनमा राख्ने गरी डिस्चार्ज गरिएको हो।

चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पताल भर्ना गरिएको थियो। उनी बेल्जियमबाट कतारको क्युआर६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन्। सोही दिन एउटै जहाजबाट आउने नेपाल आउने तीनजनामा कोरोना संक्रमण देखिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमित महिलाको स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। ओलीले ट्विट गर्दै भनेका छन्, ‘दम र उच्च रक्तचापबाट पीडित भए पनि बेजोड आत्मविश्वासका कारण उहाँसग कोरोनासमेत पराजित भएको छ।’ ओलीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरेका छन्।

नेपालमा ३१ जनालाई कोरोना संक्रमण देखिएको छ। संक्रमण निको भएर घर जाने उनी तेस्रो व्यक्ति हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय