सडकमा पैसा फ्याक्ने दुई महिला पक्राउ, आरडिटी परिक्षणका लागि अस्पताल लगियो

हेल्थपाेस्ट/जनकपुरधाम
प्रकाशित
२०७७ वैशाख ६ गते १६:३९

जनकपुरको महावीर चोकस्थित सडकमा पैसा फ्याँकेको घटनामा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम–७ बस्ने आमिना खातुन र अलिना खातुन रहेको प्रहरीले जनाएको छ।

दुबैजना नातामा भाउजु र नन्द रहेको बताइएको छ। पक्राउ परेकी दुबैजनालाई आरडिटी परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।

‘अहिले दुबैजनालाई आरडीटी परीक्षणको लागि प्रादेशिक अस्पताल ल्याएका छौं, परीक्षण भइसकेपछि थप कुरा आउँछ,’ डीएसपी कार्कीले भने ।
जनकपुरधाम वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले पक्राउ परेकी दुबै महिला पुरानो वासिन्दा रहेको बताए। उनीहरूले कोरोना संक्रमण वा त्रास फैलाउन पैसा नफालेको वडाध्यक्ष साहको भनाइ छ। बैंकबाट पैसा निकालेर आउँदै गर्दा उनीहरुको साथबाट पैसा झरेको साहले बताए।

‘दुबैजना महिला मुरली चोकस्थित सहयोगी विकास बैंकबाट पैसा झिकेर आइरहेकी थिइन्, उनीहरुको साथबाट पैसा झर्‍यो। तर, पत्तो पाइनन्,’ उनले भने, ‘त्यतिबेलासम्म मिडियामा समाचारहरू आइसकेकोले उनीहरू चुपचाप बसेको परिवारका सदस्यहरुले भनेका छन्।’ मिडियामा समाचार आइसकेपछि दुबै महिलाका साथै परिवारका सदस्यहरू डरले कसैलाई जानकारी नगराएको वडाध्यक्ष साहको कथन छ।

महावीर चोकस्थित एक घरको सिसिटीभी फुटेजको मद्तले प्रहरीले महिलाको खोज तलाश सुरु गरेको थियो। शुक्रबार अपराह्र दुईजना महिलालाई पैसा छरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय