‘सडकमा हिँड्ने हामी ‘कुल्ली!’ सरकारले के देख्थ्यो र?’

अंगदबहादुर सिंह र साैरभ रानाभाट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख ६ गते ११:०७

सबै तस्बिर : साैरभ रानाभाट/हेल्थपाेस्ट नेपाल

कर्कस आवाज र धुलाम्मे हुने बल्खुचोक अचेल शान्त छ।

सुनसान त्यो सडकचोकमा चार वर्षको छोरोसँगै बिसाएकी थिइन् कमला चौधरी।

‘बर्दिया जाने हो,’ काभ्रेबाट हिँडेर दुई दिनमा काठमाडौंको बल्खुचोकसम्म आइपुगेकी उनले भनिन्, ‘८–१० दिनमा पुगिएला नि!’
बर्दियाबाट काम खोज्दै खोज्दै उनी काभ्रे पुगिन्।

त्यहाँको एउटा स्कुल बनाउने काममा मजदुरी गर्थिन्। ठिकै थियो। काम चलिरहेको थियो। साँझ बिहान छाक टार्ने मेसो बनेकै थियो। घरमा छोराछोरीलाई पैसा पनि पठाइरहेकी थिइन्।

एकाएक ‘लकडाउन’ भयो। लकडाउनको अर्थ उनलाई थाहा थिएन। जब काम बन्द भयो, मेसमा दाल, चामल सकियो अनि उनीहरूलाई भनियो- ‘घर गए हुन्छ।’

‘हिँडेरै जानुपर्ने पो रैछ, सबै बन्द,’ अनि पो उनलाई थाहा भो ‘लकडाउन’ को अर्थ- ‘कोरोना आइसकेछ, त्यै भएर बन्द भको रे!’
तर, भोको पेटलाई त्यो ‘अन्जान’ भाइरसको के मतलब? कम्तिमा घरै पुगे त जसरी नि बाँचिएला!

‘मरे पनि छोराछोरीसँगै भोकै मरौंला,’ उनी भन्दै थिइन्, ‘उता छोराछोरी पनि भोकै होलान्।’

आधा जिन्दगी कमैया बनेर बितिसकेको थियो। पछि उनीहरु पनि ‘मुक्त’ भए।

मुक्त कमैया वस्तीमा सरकारले दिएको अलिकति जमिनमा एउटा झुपडी बन्यो।

जसोतसो गुजारा भइरहेको थियो। कमाइ गर्न भनेर दुई वर्षअघि उनका श्रीमान भारत पसे। त्यो दिनदेखि न पैसा पठाए, न कुनै खबर। अत्तोपत्तो छैन।

यता चुलो निभ्न थाल्यो। पेट कोक्याउन थाल्यो। अनि अलिकति हुर्किसकेका दुई छोरीलाई घरमै छोडिन्। काखको छोरोलाई बोकिन् अनि काम खोज्न निस्किइन्।

काभ्रेमा एउटा स्कूल बनाउने काम भेटियो। त्यहीँ मजदूरीमा लागिन्।

सुरुको लकडाउनसम्म त मेसमा केही खानेकुरा थियो। पछि सकियो।

‘३ गते सकिन्छ कि भनेको फेरि बढ्यो। यहाँ भोकै बस्नु भन्दा हिँडेरै पनि पुगिन्छ कि भनेर हामी हिँड्यौं’ उनले भनिन् ‘अरु पनि मान्छे छन्, सँगसँगै हिँड्दा आठ दश दिनमा पुगिन्छ होला।’

सडकमा खाने कुरा कसले दिनु? कतै पाइन्छ कतै पाइन्न। काभ्रेबाट हिँडेको दोस्रो दिन भक्तपुरसम्म आइपुग्दा राति भयो। भोकैपेट भक्तपुर सडकै पेटीमा उनीहरुले रात काटे। त्यसपछि फेरि हिँडे।

‘एउटा पसलमा खानेकुरा किन्न गएको केही दिएनन्’ भोक र हिँडाई त छँदैछ हेप्न पनि कति सकेका ‘कोरोना लागेको छैन, शंका लागे अलि पर सामान राखिदिनुस्, हामी पैसा दिन्छौं भन्दा पनि पसलेले विस्कुट दिएनन्।’

भक्तपुरबाट बल्खुचोकसम्म आइपुग्दा आधा दिन बितिसकेको थियो। उनलाई हिँड्दै हतार थियो। उनीसँगै हिँडेकाहरु अलिपर पुगिसकेका थिए।

बाटो त जतिसक्यो छिचोल्नै छ। ‘हामी त सडकमा हिँड्ने कुल्ली रे’ उनी भन्दै थिइन् ‘कस्को सरकार हो र? हामीलाई के हेथ्र्याे?’
करिब ३ मिनेट भयो। उनी हिँड्ने तरखर गर्दै थिइन्।

खाएर बचेको आलु चिप्सको पोका पाएपछि चार वर्षे उनको छोरो पनि हिँड्न मन ग¥यो।

आमाको मन न हो, कहाँ मान्थ्यो र? उनले पिठ्यूँमा बोकिन्। झोला काँधमा राखिन् र, फटाफट हिँडिन्।

पातलो भइसकेको चप्पलको प्याट्ट प्याट्ट आवाज केहीबेरमा पातलिँदै गयो।

‘लकडाउन’ले घरभित्र समेट्न नसकेका भोका पेटका एक ‘बिम्ब’मात्रै हुन् उनी।

र, याे ‘लकडाउन’मा हजारौं विवश नागरिकले हजारौं माइल यात्राको दूरी पैदल नापिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय