राज्यको मात्र होइन, प्रतिपक्षको पनि उत्तिकै जिम्मेवारी

यतिबेला हामी अत्यन्त असहज परिस्थितिमा छौं। मानव सभ्यतालाई नै चुनौती दिने यो असाधारण क्षणमा विश्वसमुदाय एकजुट बनेर कोरोना भाइरसविरुद्धको लडाइँ लड्नु छ। विश्व नै एकातिर एकढिक्का बनेर लड्नुपर्ने क्षणमा हामी देशवासीहरू एकजुट रहनु झन् जरुरी छ।

चीनको उहान प्रान्तबाट खानपिनकै कारणबाट सुरु यो भाइरस हाल विश्वका सबैजसो मुलुकमा प्रवेश गरिसकेको छ। विश्वका शक्तिशाली, समृद्ध र हरेक किसिमका प्रविधिबाट सम्पन्न मुलुक यतिबेला निरीह बनिरहेका छन्।

वैज्ञानिकहरू नितान्त नयाँ भाइरसको उपचार पद्धतिमा आफ्नो सारा समय खर्चिरहेका छन्। यद्यपि, अनुसन्धानकै क्रममा देखिन्छन्। झन्डै २२ लाखहाराहारी संक्रमित भइसके भने डेढ लाखजतिको मृत्यु भइसकेको छ। त्यसमाथि संसार लकडाउनमा छ। मानिस आआफ्नो स्थानमा बन्दी छन्।

अद्यावधिक गर्नुपरेको लकडाउनका कारण विदेशमा अलपत्र परेका, मातृभूमि फर्कंदै गर्दा सीमामा अलपत्र परेका नागरिकहरू राज्यको उपस्थिति र सहारा खोजिरहेका छन्। दिनहरू बित्दै गए। समस्याहरू बल्झिँदै गए, परिस्थिति झन् झन् जटिल बन्दैछ। यतिबेला राज्य र नागरिक समाज अझै बढी संवेदनशील हुन जरूरी छ। यतिबेला हारजित, आफन्त–पराइ, जस–अपजसभन्दा माथि उठेर सिङ्गो मानव सभ्यता जोगाउनु छ। सबै जोगिनु छ।

यतिबेला राज्यको तयारी हेर्दा खरको झुपडीमा छ्वालीको बार बारेको जस्तो गरेर पुग्ने होइन। कोरोना लरतरो दुश्मन होइन। फलामकै बार तोडेर छेडौंला झैं मानव सभ्यतालाई नै चुनौती दिइरहेको कोरोनाविरुद्धको यस्तो तयारीमा विश्वास गर्ने हो भने हामी सबैले आजसम्म मात्र हाम्रो दिन बाँकी रहेछ भन्ने हो।

तयारी खासै प्रभावकारी नरहेको प्रमाण यही नै हो। यसो भन्दैमा हामी नागरिक समाज चुपचाप बस्ने हो भने लाससँग जिउँदै सति जानुसरह नै हुने छ। सहजै मृत्यु स्वीकार्नु नै हो। त्यसैले बेलैमा सजगता अपनाउन जरूरी छ।

यस कठिन घडीमा बिरामीको उपचारमा सेवारत ईश्वरीय वरदान स्वास्थ्यकर्मीहरू विपद व्यवस्थापनमा आफ्नो जीवनको पर्वाह नगरी अहोरात्र खट्नु हुने सेवाकर्मीहरू, लकडाउनका कारण सराहनीय बनेकाहरूका लागि आआफ्नो क्षेत्रबाट सहयोग गरिरहनु भएका आदरणीय महान आत्माहरू, स्थानीयसरकार जनप्रतिनिधि मित्रहरू, प्रत्यक्ष अप्रत्यक्ष रूपमा आआफ्नो क्षेत्रबाट विचार, मन, वचन र कर्मले सहयोग गरिरहनुभएका महानुभावहरूप्रति साधुवाद दिँदै कोरोना भाइरसको अन्त्य नहुन्जेल सहयोग अपरिहार्य छ।

वैदिक सनातनकालदेखि हिमवत खण्डको काखमा गण्डकी, कोशी, कर्णालीको अविरल सिञ्चनमा कुनै पनि भाइरसको तत्काल प्रभाव नपर्ने रोग प्रतिरोधात्मक क्षमता भएका ऋषिमुनिका सन्तान नेपालीलाई कोरोनाले त्यति ठूलो प्रभाव पार्न सकेको छैन।।

यद्यपि, हाम्रा दुई छिमेकी मुलुक आक्रान्त हुँदा हामीमा त्यसको सानोतिनो असर पर्नु स्वाभाविक नै हो। कतैबाट छिर्ने सुइँको पाउँदा चनाखो चाहिँ रहनुपर्छ।

राष्ट्रलाई आवश्यकता परेका बेला जाति, भाषा, वर्ण, वर्ग, सम्प्रदाय, पेसा र राजनीतिक आस्थाभन्दा माथि उठेर एकजुट हुनुपर्ने बेलामा नागरिकको मौनतालाई कमजोरी ठान्दै गलत निर्णय गर्ने अतिसंवेदनशील स्वास्थ्य सामग्री खरिद प्रक्रियामा समेत गिद्दे नजर राख्ने अत्यन्त घृणित कार्यले नागरिक समाजलाई झस्काएको छ।

स्वतः विरोधका स्वरहरू भुसको आगो झैं सल्किँदै छ। यदि सरोकारवालाहरू यतिबेला नसच्चिने हो भने को कहाँ पुग्छ भन्न सकिन्नँ। त्यसैले सचेत रहँदै इमानदारीपूर्वक आफ्नो दायित्व पूरा गरौं।

लकडाउन छ देशमा। सडकहरू सुनसान छन्। उद्योग, कलकारखाना बन्द छन्। दैनिक उपभोगका सामान आउने बाटा बन्द भइसके। खाद्यान्नलगायत अत्यावश्यक कुरामा पनि हामी परनिर्भर छौं। संसारका कुनै पनि देश कसैलाई सहयोग गर्ने फुर्सदमा छैनन्। सबै मानिस आफू र आफ्नो परिवारको स्वचिन्तामा चुर्लुम्म छन्। सबै नागरिकको भरोशा बन्नुपर्नेमा राज्य  भने बेतुकको तर्कवितर्कमा व्यस्त छ।

नागरिकको उपस्थितिबिना कसैको पनि अस्तित्व रहँदैन। त्यसैले सबैको जीवन जोगाउन अपरिहार्य छ। अरूलाई बचाउन सके आफू दीगो रूपमा बाँचिन्छ। वादविवाद, आलोचना, प्रत्यालोचनाभन्दा माथि उठेर वर्तमान परिस्थितिबाट छुट्कारा पाउनेतर्फ सबैको ध्यान जान जरूरी छ।

संक्रमणकालीन परिस्थितिमा हरेक वर्ग र समुदाय संयमित बनेर धैर्यतापूर्वक जिम्मेवारी बोधका साथ वर्तमान अवस्थाको सामना गर्न तयार हुनुपर्छ। जनता बाँचे राजनीति गर्ने हो। उपभोक्ता बाँचे व्यापार गर्ने हो। विद्यार्थी बाँचे स्कुल, कलेज, शैक्षिक क्षेत्र बाँच्ने हो।

नागरिकको उपस्थितिबिना कसैको पनि अस्तित्व रहँदैन। त्यसैले सबैको जीवन जोगाउन अपरिहार्य छ। अरूलाई बचाउन सके आफू दीगो रूपमा बाँचिन्छ। वादविवाद, आलोचना, प्रत्यालोचनाभन्दा माथि उठेर वर्तमान परिस्थितिबाट छुट्कारा पाउनेतर्फ सबैको ध्यान जान जरूरी छ।
तत्काल सीमानाकामा रहेका नेपालीहरूलाई उचित व्यवस्थापन गर्दै क्वारेन्टाइनमा राखी देश आमा रहेको अनुभूति दिलाऔं। विदेशमा रहेका नेपालआमाका सन्तानलाई तत्काल ल्याउने सोच बनाऔं।

विपदमा परेका हरेक वर्गका नागरिक चाहे त्यो प्लास्टिक बटुल्ने होस् या मजदुरी गरेर खाने किन नहोस्, राज्यको, प्रदेशको या स्थानीय तहको विकास बजेट कटौती गरी मानव कल्याणका निम्ति गरिहाल्ने निर्णय होस्।

बजेट रकमान्तर गरेर भए पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकलाई पिपिईसहितको सुरक्षा प्रबन्ध होस्। देनिक उपभोगका सामान सहज र सुलभ किसिमले उपलब्ध गराउने व्यवस्था गरियोस्।

खाद्यान्नलगायत सामानको अवस्था यकिन गरी भावी दिनमा के गर्ने भन्ने बारेमा चिन्तन सुरू गरियोस्। हामी दिनानुदिन हरेक कुरामा परनिर्भर बन्दै गएका छौं। त्यसैले यो कोरोना अभिशापमात्र होइन वरदान पनि साबित बनोस्।

सृष्टि जोगाउने, देश जोगाउने जिम्मेवारी हामी सबैको हो। यतिबेला सबैले पाठ सिकौं। यो राज्यको जिम्मेवारी हो। प्रतिपक्षको जिम्मेवारी हो। नागरिक समाजको जिम्मेवारी हो। हामी सबै एउटै डुङ्गामा छौं। चलाउन सके सुरक्षित अवतरण, नभए हामी सबै डुब्छौं।

यो एउटा चुनौतीमात्र नभएर राष्ट्र निर्माणको, समाज निर्माणको अवसर पनि हो। सबैको अपनत्व रहने गरी एउटा जिम्मेवारी संयन्त्र निर्माण गरौं। वादविवाद, तर्कवितर्क, हारजित, आफ्नो पराइभन्दा माथि उठेर भावी दिनमा कसरी अगाडि बढ्ने भन्ने बहस सुरू गरौं। आजैबाट काम सुरू गरिहालौं, विलम्ब नगरौं। वर्तमानमा आफू बचौं र अरूलाई पनि बचाऔं।

यतिबेला मानवजाति अत्यन्तै असहज परिस्थितिमा छ। अनेकौं आवश्यकता, चाहना र निरन्तर कर्मलाई तालाबन्दी गर्दै आफू लकडाउनमा बसेको छ। आफ्नो क्षमता, बलबुद्धिले भ्याएसम्म सारा अस्त्रसहित सिंगो मानवजाति लडिरहेको छ। विश्वास र भरोसा राखौं, धैर्यता, संयमता नगुमाऔं।

एक दिन अवश्य विजय प्राप्त गरिन्छ। हामी सबैले प्रण गरौं। हाम्रो जीवन परोपकार, दया र सेवामा समर्पित रहने छ। भावी सन्ततिलाई स्वस्थविश्व हस्तान्तरण गर्ने प्रण गरौं।

(गौतम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा काठमाडौं क्षेत्र नं.९ (२) का प्रदेश सांसद उम्मेदवार हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय