सीमामा कडाइ गरेका छौं, बाहिरबाट कसैलाई आउन दिँदैनौं : ढकारी गाउँपालिका अध्यक्ष

अछाम जिल्लाबाट सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा रोजगारीका लागि भारत जानेको संख्या ठूलो छ। भारतमा कोरोना महामारी फैलिएसँगै यस जिल्लामा थुप्रै मान्छे भारतबाट भित्रिएका छन्।

अछामको ढकारी गाउँपालिकामा मात्रै विदेशबाट ६ सय ४४ जना आएका थिए। जसमा ५ सय ९२ जना त भारतबाट मात्रै आएको गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढा बताउँछन्।

नेपालमा लकडाउन जारी हुनुभन्दा १६ दिन अगाडि आएकामध्ये दस जनालाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो। उनीहरूको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकाले सबैलाई घर पठाइसकेको छ।

गाउँपालिकाले चैत्र महिनायता आएका सबैको लगत राखे पनि देशमा लकडाउन जारी हुनुभन्दा अगाडि नै १६ दिन पुगिसकेकाहरूलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको अध्यक्ष बुढाले बताए।

ढकारी गाउँपालिकाका अन्य ३४ जनाको पनि र्‍यापिड टेस्ट भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। अहिले पनि गाउँपालिकामा कोही भारतबाट आएर लुकेर बसेका छन् भने तिनीहरूको खोजी गरिरहेको छ।

गाउँपालिकाले लकडाउनको पनि बलियो कार्यान्वयन गरेको अध्यक्ष बुढाले बताए। उनले कुनै जरुरी काम परे गाउँपालिका र जिल्ला प्रशासनको पास पठाएर मात्र बाहिर पठाउने गरिएको जानकारी दिए।

गाउँपालिकालाई लकडाउन कार्यान्वयन गराउने चिन्ता मात्रै छैन, लकडाउन लम्बियो भने गाउँपालिकाका जनताको चुलो कसरी बाल्ने भन्ने पनि चिन्ता छ। किनकि, ढकारीमा प्राय: विपन्न जनताको बसोबास बढी छ।

‘अहिले दैनिक ज्याला मजदुरी लगायतका काम रोकिएका छन्। गाउँमा एक दुई परिवारभन्दा पनि सबै विपन्न नै छन,’ उनले भने, ‘केही दिनमा प्राय: सबैलाई राहत दिनुपर्ने अवस्था आउने छ। त्यो समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा हामी योजना बनाइरहेका छौं।’ उनले राहत प्रदान गर्न गाउँपालिकाले दस लाखको राहत कोष स्थापना गरेको बताए।

आवश्यकता अनुसार त्यो कोषबाट रकम खर्च गरिने गाउँपालिकाले जनायो। विपदमा आवश्यकता अनुसार गाउँपालिकाले खर्च गर्न सक्नेगरी कोष स्थापना गरिएको छ।

अहिले गाउँपालिकाभरि स्थानीय ३५ जना चिकित्सकलाई खटाइएको बताए। पहाडी क्षेत्र भएकाले त्यहाँ थुप्रै समस्या हुने भए पनि मेडिकलहरू सञ्चालन गर्न लगाएर भए पनि अत्यावश्यक सेवा प्रदान गरिरहेको बताए। सामान्य बिरामीहरूले मेडिकलबाटै भए पनि उपचार पाइरहेको उनले बताए।

यो गाउँपालिकामा पिपिईलगायत अत्यावश्यक चिकित्सकीय सामग्री ३५ जना चिकित्सकलाई उपलब्ध गराइएको बताए। प्रदेश सरकारले गाउँपालिकालाई दुई लाख सहयोग प्रदान गरेको र अब पाँच लाख थप सहयोग गर्ने बताएको छ।

अध्यक्ष बुढाले अछाममा दश वटा स्थानीय तह रहेकोमा प्रत्यस स्थानीय तहलाई प्रदेश सरकारले तीन-तीन थान पिपिई सेट पठाएको बताए।

यतिबेला अन्य देश भात्र नभएर बाह्य जिल्लाबाट आउने नागरिकलाई पनि जिल्लामा पूर्ण रोक लगाइएको छ। जिल्लामा सुरक्षाकर्मीले पनि राम्रै सुरक्षा व्यवस्था अपनाएको बुढाको भनाइ छ।

बाह्य जिल्ला र गाउँपालिकासँग जोडिएका नाकामा गाउँपालिकाले सुरक्षा व्यवस्था थप कडा पारेको बुढाले बताए। ‘हामीले बाह्य जिल्ला र गाउँपालिकासँगका नाकामा दुई तीन जना स्थानीयका दरले खटाएका छौं। उनीहरूले कोही नआए मान्छे आए हामीलाई खबर गर्छन्। र, त्यसरी आएका मान्छेलाई हामीले सिधै क्वारेन्टाइनमा लैजाने गरेका छौं,’ उनले भने।

उनले भारतबाट आएका मान्छेको आवागमन बढी हुने भएकाले पनि गाउँपालिकामा विशेष सुरक्षा अपनाइएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय