हरिसिद्धिका श्रमिकका दु:ख : पानीमा उमाल्ने चामल छैन

आङमा एकसरो कपडा। हातमा बिस्कुट। ग्यासमाथि पानी उमाल्न लागेको छ।

तर, पानीमा उमाल्ने चामल छैन। छेउमा रहेका बालबालिका त्यही बिस्कुट खाँदैछन्। ललितपुरको हरिसिद्धिको एक तामाङ परिवारको भान्सा कोठाको दृश्य हो यो।

बिहान खाए बेलुका के खाने भन्ने चिन्तामा हुने हरिसिद्धिका कैयौं नागरिकको व्यथा अहिले यस्तै छ। दैनिक ज्यालादारी गरेर खाने अधिकांश नागरिक चुल्हो बाल्न सक्ने अवस्थामा छैनन्।

 ‘डेला चलाउनेदेखि गलैंचा बुन्नेसम्मका काम गर्ने सर्वसाधारण यहाँ बस्नुहुन्छ, यो टोलमा अधिकांश मान्छेको घरमा चामल छैन,’ स्थानीय दीपिका श्रेष्ठले भनिन्।

श्रेष्ठका अनुसार ललितपुर–२८ हरिसिद्धिमा पनि स्थानीय सरकारले राहत वितरण गरेको थियो। ‘तर, पाँच किलोग्राम चामल वडाले दिएको छ, त्यतिले ५–६ जनाको परिवारलाई कति दिन पुग्छ र!,’ उनले भनिन्।

वडाले राहतस्वरूप वितरण गरेको पाँच किलोग्राम चामल पनि कतिपयले पाएनन्। घरबेटीको धनीपूर्जा भएमात्रै राहत दिने वडा कार्यालयको ‘नियम’ले सयौं मजदुर परिवार राहतविहीन बन्न पुगेका छन्।

‘अरूतिर नागरिकताको फोटोकपीले हुने यहाँ चाहिँ घरबेटीको धनीपूर्जा अनिवार्य गरिएको छ,’ स्थानीय ज्ञानबहादुर तामाङले भने, ‘धनीपूर्जाको फोटोकपी दिन सबै घरबेटी मान्दैनन्, जतिले फोटोकपी दिए त्यतिले राहत पाए, नहुनेले पाएनन्।’

वडा नम्बर २८ को हरिसिद्धि आसपासमा ५ सयभन्दा धेरै श्रमिक परिवार बसोबास रहेको छ। सबै श्रमिकको चुल्हो निभ्ने अवस्था छ अहिले।

दैनिक दुई छाक खान पुग्ने गरी चामल, दाल, तेल लगायतका सामग्रीको प्रबन्ध गरिदिन श्रमिक परिवारले सरकारसँग आग्रह गरेका छन्।

वडाअध्यक्ष भन्छन्, ‘दोहोरो राहत लिन खोज्नेलाई रोकेको हो’

ललितपुर वडा नम्बर २८ का वडाअध्यक्ष राजेश महर्जनले राहत वितरण यथोचित रूपमा वितरण भइरहेको जानकारी दिए। उनले वडाबासीलाई राहत दिएको दाबी पनि गरे।

‘एक केजी भए एकै केजी, दुई केजी भए दुई केजी, जति छ, त्यति राहत दिने हो, आवश्यकता हेरेर राहत वितरण भइरहेको छ,’ महर्जनले भने।

प्राविधिक कारण केही व्यक्ति राहत लिनबाट छुटेको हुन सक्ने महर्जनले बताए। ‘२८ र २९ नम्बर सीमानामा छ हरिसिद्धि, २८ नम्बर वडाबाट पनि राहत लिने, २९ नम्बरबाट पनि लिने गरेको थाहा भएपछि लालपूर्जा अनिवार्य गरेको हो,’ उनले भने।

वडाअध्यक्ष महर्जनले कतिपय अवस्थामा लालपूर्जाको फोटोकपी नहुँदा राहत नपाउन सक्ने सम्भावना पनि स्वीकार गरे। ‘हामीले सचेत हुनुपर्छ, तर कसैले खान नपाउने अवस्था आउनु हुँदैन, राहत नपाए मलाई भेट्नुस्, म व्यवस्था गर्छु,’ उनले भने।

चैतन्य जागृति महिला समूहद्वारा ४० परिवारलाई राहत

चैतन्य जागृति महिला समूहले ललितपुरको हरिसिद्धिका ४० परिवार श्रमिकलाई राहत वितरण गरेको छ। चैतन्य जागृति महिला समूहकी सदस्य एवम् सामाजिक अभियन्ता रेश्मा बानुको नेतृत्वमा हरिसिद्धिका ४० घरपरिवारलाई राहत वितरण गरिएको हो।

चैतन्य जागृति महिला समूहकी सदस्य बानुले आर्थिक अवस्था कमजोर रहेका परिवारबाट आफूलाई राहत नपाएको गुनासो आएपछि राहत वितरण गरेको बताइन्।

‘केही परिवारले राहत पाएको र केही परिवारले नपाएको जानकारी आयो, त्यसपछि महिला दिदीबहिनीहरूसँग सल्लाह गरेर राहत वितरण गरिएको हो,’ बानुले भनिन्, ‘भोकै बस्नुपर्ने अवस्था आउनु भएन भनेर नै हामीले राहत वितरणको पहल गरेका हौँ।’

चार जनाभन्दा बढी सदस्य रहेको परिवारलाई २५ किलोको एक बोरा चामल, दुई किलो दाल, एक किलो चना, एक लिटर तेल, दुई किलो चिउरा वितरण गरिएको समूहकी सदस्य पुनम थपलियाले जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय