जनकपुरको सडकमा पैसा फ्याँक्दै दुई महिला भागेपछि…

जनकपुरका सडकमा बिहानै एउटा अचम्म लाग्दो दृश्य देखियो। लकडाउनका कारण सुनसान रहेको सडकमा दुई जना महिला पैसा फ्याक्दै भागे।

सडकमा पैसा फ्याँक्दै भागेका ती महिला को हुन् र किन पैसा फ्याँके भन्ने केही पत्ता लागको छैन। सडकमा फ्याँकिएका ती पैसा भने केही मानिसले उठाएर लगिसकेका छन्। तर स्थानीयमा भने त्रास छाएको छ।

जनकपुरधाम–४ महावीर चोकस्थित सडकमा दुईजना महिलाले पैसा फ्याँक्दै भागेपछि स्थानीयवासी त्रसित बनेका छन्। स्थानीयवासीका अनुसार निलो र हरियोग रंगको लुगा लगाएका दुईजना महिलाले महावीर चोकस्थित सडक र पसल छेउमा दश रुपैयाँको नोट फ्यालेर भागेका थिए।

पैसा फ्याँक्दै गरेको देखेपछि दुबै महिला नजिकै रहेको हटियातर्फ भागेको स्थानीयले बताएका छन् । ‘नीलो र हरियो रंगको लुगा लगाएकी मुस्लिमजस्तो देखिने दुईजना महिलालाई सडकमा पैसा फ्याँकेको देखेपछि रोक्न खोज्दा दुबैजना भागेर हटियातर्फ गएको,’ स्थानीय अजय साहले बताए । महिलाहरुलाई पैसा फ्याँकेको देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेका प्रहरीले सडकमा फ्याँकेको रुपैयाँ नियन्त्रणमा लिएको छ ।

साथै प्रहरीले रुपैयाँ फ्याँकिएका स्थानहरु अंकित गरेर स्यानिटाइजसमेत गरेका छन् । स्थानीयका अनुसार केही व्यक्तिले सडकमा फ्याँकिएका रुपैयाँ उठाएका छन् । प्रहरी रुपैयाँ फ्याँकेर भागेको भनिएका महिला र रुपैयाँ उठाउने व्यक्तिहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले नजिकै रहेको एक घरबाट सीसीटीभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले दुईजना महिलाले सय/सय मिटरको दूरीमा पाँच ६ स्थानमा पैसा फ्याकेर भागेको बताए ।

करिब ३०/३५ वर्ष उमेर भएकी उनीहरुको खोजी भइरहेको उनले जानकारी दिए । ‘हामीले नजिकै एक घरबाट सीसीटीभी फुटेज लिएका छौं, फुटेजमा दुबै महिलाको हुलिया देखिएको छ, फुटेजकै आधारमा उनीहरुको खोजी भइरहेको छ,’ डीएसपी कार्कीले भने । उनले नियन्त्रणमा लिइएका नोटहरु परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय