प्रदेश ५ मा कोरोना उपचारका लागि जनशक्ति पाउनै धौधौ

चिकित्सकको भनाइमा कोरोनाभाइरस श्वासप्रश्वास सम्बन्धी रोग भएकाले संक्रमितमध्ये पाँचदेखि १० प्रतिशतसम्म बिरामीलाई सघन उपचार आवश्यक पर्नसक्छ ।

तर प्रदेश ५ मा आईसीयू र भेन्टिलेटरको अभावसँगै संघन उपचार सेवाका लागि तालिमप्राप्त जनशक्तिको कमी देखिएको छ । कतिपय जिल्लामा संघन कक्षमा उपचारमा अनुभवी स्वास्थकर्मीसमेत छैनन् ।

कोरोनाभाइरस संक्रमण फैलिए प्रदेश ५ मा सघन उपचार सेवाका लागि दक्ष जनशक्तिको निकै अभाव हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । प्रदेश सरकारले तीन जिल्लाको चार ठाउँमा स्थापना गरेको कोरोना आइसोलेसन अस्पतालमा देखिएको जनशक्तिको अवस्थाले त्यसको संकेत गरेको हो ।

प्रदेश नं. ५ मा कोरोना बेड स्थापना गरेका अस्पतालको संख्या ४८ र बेड संख्या ३०४ छ जहाँ १५ जना भर्ना भएका छन् । ३१७ वटा क्वारेन्टाइन रहेकोमा त्यहाँ ६४५३ बेड क्षमता छ । ती क्वारेन्टाइनमा १४८२ व्यक्ति अहिले पनि बसिरहेका छन् । २२९ जनाका स्वाबको नमूना संकलन गरिएकोमा २११ जनाको सबै नमूनाको रिर्पोट नेगेटिभ आएको छ । १८ जनाको रिर्पोट आउने क्रममा छ । त्यसैगरी १४३७ जनाको दु्रत परिक्षण गरिएको र सबैजनाको रिर्पोट नेगेटिभ देखिएको प्रदेश ५ का स्वास्थ्य निर्देशक डा. बिनोद कुमार गिरीले बताए । अहिलेसम्म प्रदेश ५ मा कोरोना भारइरस (कोभिड १९) को बिरामी देखिएको अवस्था छैन् ।

आइसोलेसन अस्पतालमा जनशक्तिको अवस्था

रुपन्देहीको जिल्ला अस्पताल भीममा ३५ बेडको आइसोलेसन अस्पतालको काम भइरहेको छ । जहाँ ५ बेड आइसियू र ती ५ बेडमध्ये तीनवटामा भेन्टिलेटर छ । अहिले उक्त अस्पतालमा कन्सलटेन्ट ६ जना, मेडिकल अधिकृत २ जना र स्टाफ नर्स १५ जना छन् ।
ति जनशक्ति पनि अस्पताल प्रशासनले यूनिभर्सल मेडिकल कलेजमा लगि कोरोना संघन कक्षमा उपचार गर्ने सीप दिइएको बताए ।

थप जनशक्तिका लागि सूचनामार्फत वान्टेट गरेका भएपनि जनशक्ति पाउन सकिरहेको छैन् । अस्पपतालका मेडिकल सुपरिटेन्डन्ट डा. नवीन दर्नालले ४ जना कसन्लटेन्ट, ८ जना मेडिकल अधिकृत र १० जना स्टाफ नर्सको सार्वजनिक सूचनामार्फत माग गरेको भएपनि उपलब्ध हुन नसकेको बताए ।

दुई पटकसम्म सूचना गर्यो डा दर्नालले भने, कन्सलटेन्टमा दरखास्त दिनेको संख्या शून्य भयो, मेकिडल अधिकृत १ जना र स्टाफ नर्स ६ जनाले मात्रै निवेदन राखे । अन्य गैरप्राविधिक पोष्टको लागि ६ जना माग गरिएकोमा भने पदपूर्ति भएको छ ।बजारमा जनशक्ति भएपनि कोरोनाको डरले दरखास्त नपरेको हुनसक्ने डा. दर्नालले बताए ।

उक्त अस्पताल प्रदेश ५ सरकारले कोरोना बिशेष अस्पतालको रुपमा स्थापना गर्ने भनेको ४ अस्पताल मध्ये एक हो । ति अस्पताल कोरोना भाइरस (कोभिड १९) पोजेटि देखिएको अवस्थामा उपचार गर्ने अस्पताल हुन् ।

आवश्यकता देखिए उक्त अस्पतालमा अरु सेवा बन्द गरी १ सय बेडसम्म बनाउन सकिन्छ । तर त्यसरी बेड संख्या बढाउदा जनशक्ति र अस्पतालजन्य सामग्री सहज उपलब्ध हुने अवस्था भने छैन् । उनका अनुसार १ सय बेड बनाउने अवस्थामा कन्सलटेन्ट डा. १५ देखि २० जना, मेडिकल अधिकृत २० देखि ३० जना, स्टाफ नर्स ३० देखि ४० जनासम्म थप्नुपर्ने हुन्छ ।

प्रदेश ५ को बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल, दाङ बेलझुण्डीको आयुर्वेदिक अस्पताल र बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालाई आइसोलेसन अस्पतालको रुपमा तयारी गरिएको छ ।

अहिले न्यूनतम बेड संख्याबाट तयारी शुरु गरिएको अस्पतालमा आवश्यक परेको अवस्थामा बेड थप्न मिल्ने गरि योजना गरिएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस सक्रमणले रुप बदलेको अवस्थामा ति अस्पतालका बेड संख्या थप्दा स्वास्थ्यतर्फको जनशक्ति अभाव हुने देखिन्छ । लुम्बिनी प्रादेशिक अस्पतालमा आइसियू ८, भेन्टीलेटर ४ र साधारण ४९ गरी ६१ बेड संचालनमा छ । जहाँ ९ जना बिशेषज्ञ, ६ जना मेडिकल अधिकृत र १६ जना स्टाफ नर्सले काम गरिरहेका छन् । बेडमा सुधार र संख्या थप्दै जादा जनशक्ति पनि थप्दै जानुपर्ने अस्पतालका कोरोना फोकल प्रर्सन डा. सुदर्शन थापा बताउँछन् ।

दाङको बेलझुण्डीमा स्थापना गरेको बिशेष अस्पतालमा अहिले १ सय बेडको तयारी गरिएको छ । त्यसमध्ये ३ वटा भेन्टिलेटर, ५ वटा आइसियू बेड छन् । अहिलेको अवस्थामा त्यहाँ ६० बेडका लागि पुग्ने जनशक्ति मात्र छ । अस्पतालमा अहिलेसम्म सबैभन्दा बढी ४७ बेडसम्म प्रयोगमा आएको छ । उक्त अस्पताललाई अहिले राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले प्राविधिक रुपमा हेरिरहेको छ ।

स्वास्थ्य निर्देशनालयबाट अस्पतालमा खटिएका स्वास्थ्य सुपरभाइजर कौशल भण्डारीका अनुसार त्यस माथिका सबै बेड संचालनको अवस्थामा जनशक्ति पुग्दैन ।

अस्पतालले बिशेषज्ञ चिकित्सक ३ जना, मेडिकल अधिकृत १२ जना, स्टाफ नर्स १५ जना, सर्पोट स्टाफ ३० जना र बिएमटि १ जना सार्वजनिक सूचना गरी माग गरेकोमा बिशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत तहमा एक जना व्यक्ति पनि आएनन् । स्टाफ नर्समा ४ जना, र सर्पोट स्टाफमा १० जना मात्रै आएको जानकारी दिए ।

संघीय सरकारले २ जना बिशेषज्ञ चिकित्सक पठाएको बाहेक थप स्वास्थ्यकर्मीहरु थपिएका छैनन् । उनका अनुसार दाङमा संघन कक्ष भएका अस्पताल नभएका कारण संघन कक्षमा उपचार गर्ने स्वास्थ्यकर्मीहरु समेत छैनन् । कर्मचारी माग हुदा उपलब्ध नभएपछि आवश्यक परेको अवस्थामा गाउँपालिकामा रहेका नरसिंह स्टाफ र प्राईभेट अस्पतालका चिकित्सकबाट परिपूर्ति गरि काम गर्न खोजिएको भण्डारीले बताए ।

बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालमा स्थापना गरेको आइसोलेसन अस्पतालमा ८ आइसियू बेड, २ वटा भेन्टिलेटर र ४० साधारण बेड छन् । भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाका अनुसार अस्पतालका लागि स्वास्थ्यकर्मी माग गरेको भएपनि आएनन् ।

अस्पतालले बिशेषज्ञ चिकित्सक १७ जना, मेडिकल अधिकृत २७ जना, स्टाफ नर्स ४२ जना र अन्य स्टाफ ४२ जना माग गरेका थियो । तर मेडिकल अधिकृतमा ४ जना, स्टाफ नर्स २० जना मात्रैको निवेदन पर्यो । अन्य स्टाफ धेरैको निवेदन परेको भएपनि अहिलेलाई आवश्यक २६ जनालाई मात्रै काममा लगाइएको छ ।

जनशक्तिको बिषयमा कुरा गर्दा उनले बिशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको जनशक्ति अभाव रहेको बताए । आवश्यक परेको अवस्थामा हामीले नेपालगञ्ज र कोहलपुरमा रहेको प्राइभेट अस्पतालका बिशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत परिचालन गर्ने सोचमा रहेको डा. थापाको भनाई छ ।

स्वास्थ्यकर्मी पाउनै धौ धौ

प्रदेश ५ मा आइसोलेसन अस्पतालको रुपमा तयारी गरिएका ४ वटा अस्पतालमा जम्मा २३० बेड क्षमता रहेको छ । ति अस्पतालमा आसियु बेड २६, भेन्टिलेटर संख्या १२ वटा मात्रै छन् ।

ति अस्पतालमा रहेको बेड संख्या र स्वास्थ्यकर्मी अवस्था हेर्दा स्वास्थ्कर्मीहरु अभाव रहेको देखिन्छ । चारवटा आइसोलेसन अस्पतालमध्ये तीन वटा अस्पतालले दोस्रो पटकसम्म सार्वजनिक सूचना गर्दा समेत जनशक्ति पाउन सकिरहेका छैनन् । ति अस्पतालले बिशेषज्ञ चिकित्सक २४ जना माग गरेकोमा एक जनाले पनि आवेदन भरेनन् । मेडिकल अधिकृत ४७ जना माग गरेकोमा ५ जनाले मात्रै आवदेन दिएका छन् भने ६७ जना स्टाफ नर्स माग गरेकोमा ३० जनाले मात्रै आवेदन दिएका छन् । यसले जनशक्ति अभाव भएको संकेत गरेको छ ।

आइसोलेसन बेडको अवस्था पनि उस्तै
त्यसो त आइसोलेसन बेडका रुपमा तयार गरिएका अस्पतालमा पनि जनशक्तिको अवस्था उस्तै उस्तै छ ।

अहिले जेनतेन स्थापना भएका आइसोलेसन बेडमा थप्नुपरेको अवस्थामा उक्त क्षेत्रमा पनि जनशक्तिको अभाव हुने देखिएको छ । प्यूठानमा जिल्ला अस्पतालमा ४ बेड र खुङ्ग्री प्राथमिक स्वाथ्य केन्द्रम ३ बेड गरी ७ बेड मात्रै छ ।

यो संख्या जिल्लाका लागि निकै कम हो तर बेड संख्या थप्ने अवस्थामा त्यसका लागि आवश्यक स्वास्थ्यकर्मी नरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदी बताउँछन् । उनले आइसोलेसन बेड थप्नु परेको अवस्थामा थप स्वास्थ्यकर्मी र त्यसका लागि आवश्यक स्वास्थ्य सामग्रीको पनि थप गर्नुपर्ने बताए । उनले जिल्लामा स्वाब परिक्षणका लागि नमूना लिने जनशक्ति भएपनि स्वाब संकलन गर्ने सामग्री भिपिएन कम रहेको बताए । जिल्लामा हालको अवस्थामा ८ जना जनशक्ति रहेको र सामग्री पनि ८ वटा मात्रै मौज्याद रहेको जानकारी दिए ।

प्रदेश ५ का सामजिक विकास मन्त्री सुदर्शन बरालले चिकित्सक कम भएको अवस्थामा प्राइमेट अस्पतालका चिकित्सकलाई उपचारका लागि परिचालन गरिने बताए । मन्त्री बरालका अनुसार जनशक्तिको बिषयमा स्वास्थ्य निर्देशनालयले तथ्यांक संकलन गरिरहेको छ ।

चिकित्सकहरूले भने सरकारलाई तत्कालै छोटो खालको भए पनि सघन उपचार सम्बन्धी तालिमहरू दिनुपर्ने सुझाव दिँदै आएका छन् । उक्त सुझाव र प्रदेशको अवस्थालाई हेर्ने हो भने अहिलेको तयारी अझै अपुग नै छ । लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट राजेन्द्र खनालले सेवाको थप गर्नुपर्ने अवस्थामा बिशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरुको समस्या पर्न सक्ने बताए । अहिलेको अवस्थाका लागि त ठिकै छ डा. खनालले भने, अवस्था बदलिएको अवस्था र अस्पतालमा सेवा थप्नु पर्ने अवस्थामा जनशक्तिको बिषयमा सोच्नुपर्ने अवस्था छ ।

प्रदेश ५ मा अन्य प्रदेशको तुलनामा सरकारले पूर्वाधार विकासका साथसाथै जनशक्ति व्यवस्थापनमा केही सतर्कता गरेको भनिएपनि अहिलेको अवस्थामा भने त्यसलाई अझै बढाउनुपर्ने देखिएको छ ।

प्रदेश ५ को सीमा भारतीय गाउँमा कोरोना भाइरस कोभिड १९ का संक्रमित बिरामी देखिइसकेको र खुल्ला सीमा रहेको अवस्थाले संघन उपचार कक्ष र त्यहाँ काम गर्ने जनशक्ति बढाउने तयारी बढाउनुपर्ने देखिएको हो । प्रदेशको १२ जिल्लामध्ये ६ जिल्ला भारतसँग जोडिएका छन्।

वि.सं. २०६८ को जनगणना अनुसार यस प्रदेश ५ मा ८,८४,७५७ घरपरिवार संख्या रहेको छ भने कूल जनसंख्या ४४ लाख ९९ हजार २७२ रहेको छ । जहाँ भारत लगायत बैदेशिक रोजगारमा जानेको संख्या अत्यधिक छ । अहिले भारततर्फ रोजगारीमा गएका अधिकांश जनता नेपाल फर्किका र फर्किने क्रममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय