कति छ कोरोना उपचार गर्ने जनशक्ति?

गएको चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी काठमाडौं मैतीदेवीकी १९ वर्षीया युवतीमा चैत ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भयो। लगत्तै अस्पताल भर्ना भएकी उनको स्वास्थ्य सामान्य भए पनि २४ दिनदेखि उनी अस्पतालमै छिन्।

उनी पछाडि कोरोना भेटिएका सबै अहिले अस्पतालमै छन्। नेपालमा थोरै संख्यामा मात्रै संक्रमित भेटिएको अवस्थामा अस्पतालहरूमा बिरामी व्यवस्थापनमा खासै जटिलता छैन। यही आधारमा संक्रमित थपिँदै जाँदा हामीसँग भएका उपचार पूर्वाधार र जनशक्तिले धान्ला?

संसारभर सामान्य अवस्थामा भाइरसबाट सिर्जित जटिलता व्यवस्थापनमा फिजिसियनसँगै त्यसले थप्ने जटिलताका आधारमा सम्बन्धित विषयका विशेषज्ञको समन्वयबाट उपचार गरिन्छ। तर, कोरोना सन्दर्भमा अहिले यसअघिका उपचारका तरिकाले काम गरिरहका छैनन्।

विशेषगरी संसारभर यो भाइरसकै कारण २ सयभन्दा बढी चिकित्सकको मृत्यु, उपचारमा संलग्न जनशक्ति नै बढी संक्रमित हुने समस्या देखिएको छ। यस्तो सन्दर्भमा नेपालमा पनि महामारी भए उपचारका लागि जनशक्तिको ‘ब्याकअप’ राख्ने र उपचार रणनीति बनाउन ढिला भएको छ।

कतिपय अवस्थामा चिकित्सक स्वास्थ्यकर्मीमा पनि संक्रमण आशंका निम्तिए चिकित्सकहरूलाई तोकिएको अवधि क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले पनि जनशक्तिको ब्याकअपका सन्दर्भमा भरपर्दो तयारी चाहिन्छ।

मन्त्रालयले अहिलेसम्म जनशक्तिका सन्दर्भमा पहिलो चरणमा छात्रवृत्तिका चिकित्सकलाई परिचालन गर्ने निर्णय र आवश्यक परेको सन्दर्भमा अवकाशप्राप्त चिकित्सकलाई पनि सेवामा लिने रणनीति सार्वजनिक गरेको छ।

जनशक्ति अभाव नहोस् भन्ने अभिप्रायले सरकारले कोरोना उपचारमा खटिने चिकित्सकदेखि स्वास्थ्यकर्मीसमेतलाई भत्ता र निजी अस्पतालमा पनि उपचारमा खटिने चिकित्सकलाई सरकारी सरह सुविधाको घोषणा गरेको छ। तर, कोरोनाले निम्त्याउन सक्ने संकटका आधारमा कुन अवस्थाको बिरामीलाई कस्तो जनशक्ति खटाएर हेरचाह, स्वास्थ्य निगरानीदेखि जटिल अवस्थाको उपचारमा के-के विकल्प खोज्ने भन्ने प्रोटोकल बनाइसकेको छैन।

नेपालको सन्दर्भमा हालसम्म प्रयोग गर्न सकिने औषधी र जनशक्ति पनि सरकारले तयारी गरेको छैन।

के छ महत्वपूर्ण जनशक्तिको अवस्था?

नेपालका सन्दर्भमा सुररुका दिन भएकाले सबै संक्रमितलाई अस्पतालमै भर्ना गरिराखिएको छ। महामारी र संक्रमितको संख्या बढ्दै जाँदा सामान्य लक्षणमात्र देखिएकालाई अस्पतालमा राखिन्नँ। कोरोना महामारी झेलेका देशका अनुभवका आधारमा संक्रमितको झन्डै १८ प्रतिशत बिरामी अस्पताल भर्ना गर्नुपर्ने हुन्छ। जसको पाँच प्रतिशतलाई आइसियु भेन्टिलेटर चाहिने देखिएको छ।

नेपालमा अहिले एकमात्रै सरुवा रोग अस्पताल र सीमित संख्यामा मात्रै सरुवा रोगका विशेषज्ञ छन्। दरबन्दीका आधारमा भाइरोलोजिस्ट, जुनोटिक रोग विशेषज्ञ, क्लिनिकल भाइरोलोजिस्टको संख्या औंलामा गन्न सकिने मात्रै छ।

आइसियु र भेन्टिलेटर नै चाहिने अवस्थामा जीवन रक्षाका लागि क्रिटिकल केयर स्पेसियालिस्ट वा एनेस्थेसियोलोजिस्ट आवश्यक पर्छ। कोरोना उपचारमा खटिने जनशक्तिले सकेसम्म अन्य बिरामीको उपचारमा संलग्न हुन जोखिमपूर्ण हुने हुँदा यस्तो उच्चस्तरीय जनशक्ति महत्वपूर्ण हुन्छ। नेपालमा यस्ता क्रिटिकल केयरका विशेषज्ञ २० जनाजति मात्रै छन्।

तर, डा. अधिकारी कति जनशक्ति चाहिने भन्ने संक्रमितको संख्याले निर्धारण गर्दै जाने बताउँछन्। ‘अहिलेको अवस्थामा जनशक्ति हामीसँग पर्याप्त नै छ,’ डा. अधिकारी भन्छन्, ‘तर, महामारीको अवस्था निम्तिए यति नै जनशक्ति चाहिन्छ भनेर भन्न सकिँदैन।’

त्यो जनशक्तिको आवश्यकता पनि बेड संख्याका आधारमा निर्भर हुन्छ। त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर स्पेसियालिस्ट एवं आइसियु विभाग प्रमुख डा. सुवास आचार्य कोरोनाका संक्रमितमध्ये पाँच प्रतिशतलाई आइसियुमा राख्नुपर्ने अनुमान गरेर सोहीअनुसारको तयारी गर्नुपर्ने बताउँछन्।

उनले कोरोना उच्च संक्रामक भएको र आइसियुमा राखिएका बिरामी अतिसंवेदनशील हुनाले नर्मल आइसियुमै कोरोनाका बिरामी राख्न नहुने र त्यसका लागि जनशक्ति र उपकरणका हिसाबले पनि छुट्टै तयारी चाहिने बताए।

अहिले सरकारले कोरोना अस्पतालका रूपमा तयार पारिरहेको सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पाँचजना फिजिसियन छन्। जहाँ क्रिटिकल केयर, चेस्टका विशेषज्ञ जनशक्ति छैन। मुलुककै ठूलो अस्पताल वीरमा कोरोनाका लागि भनेर दुईवटा भेन्टिलेटर छुट्ट्याइएको छ। जहाँ तुलनात्मक रूपमा विशेषज्ञ भने छन्।

आचार्यले नेपालमा अहिले पनि ‘क्रिटिकल केयर’ विशेषज्ञ संख्या न्यून रहको बताए। विज्ञहरूका अनुसार आइसियुमा राख्नुपर्ने बिरामीका लागि श्वासप्रश्वासमा समस्या भए भेन्टिलेटर चाहिने र त्यस्तो अवस्थामा रक्तचाप, शुक्ष्म पोषक तत्व, मुटुको चाल वा अन्य सूचकहरूको शुक्ष्म निगरानी र सोहीअनुसारको उपचार चाहिन्छ।

गम्भीर अवस्थाका बिरामीका लागि नर्स पनि तालिम प्राप्त हुनुपर्छ। क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपालकी महासचिव कविता सिटौलाले यस्ता बिरामीलाई पूर्णहेरचाहका लागि दक्ष नर्स चाहिने बताइन्।

‘भाइरस संक्रमित बिरामीको छातीमा धेरै संक्रमण बढी हुने भएका कारण घोप्टो पारेर (प्रोरिङ) गर्न तालिम प्राप्त नर्स चाहिन्छ,’ सिटौलाले भनिन्।

उनका अनुसार रक्तचापको औषधी दिनेलगायत विषयमा पनि नर्सको विशेष र निरन्तर निगरानी चाहिन्छ। नेपालमा क्रिटिकल केयर नर्सेस एसोसिएसनअन्तर्गत हालसम्म १ सय ७५ सदस्य रहेको उनले बताइन्। तीबाहेक  एसोसिएसनले आइसियुमा खटिने नर्सका लागि संक्रमण नियन्त्रणलगायत सीपसहित करिब २ सय नर्सलाई तालिम दिएको जनाएको छ।

क्रिटिकल केयर स्पेसियालिस्ट नभएको अवस्थामा आइसियुमा राखिनुपर्ने बिरामीको मुटु, फोक्सोको सञ्चालन व्यवस्थाप गर्न एनेस्थेसियोलोजिस्ट चाहिन्छ।

सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपालमा ३ सय ९४ जना चिकित्सक आबद्ध छन्। जसमध्ये उपत्यकाबाहिर १ सय ५० हाराहारीमा रहेको निजामती अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. अनुजजंग रायमाझी बताउँछन्।

कोरोना भाइरसले जटिलताको अवस्थामा फोक्सोमा संक्रमण ल्याएर निमोनियाँ विकास गराउने भएकाले कोरोना उपचारमा चेस्ट फिजिसियन पनि आवश्यक पर्छ। ‘भाइरस सर्ने प्रमुख कारणमा श्वासप्रश्वास हो। श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा संक्रमण भएर बुहअंगमा संक्रमण हुन्छ,’ छाती रोग विशेषज्ञ डा. निरज बमले भने, ‘फोक्सो संक्रमणको कारणले बिरामीलाई निमोनियाँ तथा अन्य जटिलता हुने र श्वासप्रश्वासमा पनि समस्या हुन्छ।’

डा. बमका अनुसार श्वासप्रश्वासमा समस्या हुँदा शरीर,  रगत तथा मस्तिष्कामा समेत अक्सिजनको मात्रा कम हुने भएकाले त्यसको निगरानी र उपचारका लागि चेस्ट फिजिसियन चाहिन्छ।

अहिले विश्वभरमा हेर्दा कोरोनाले हालसम्म ६० वर्षभन्दा बढी उमेरका वा दीर्घखालका बिरामीको संक्रमणको कारणले बढी मृत्यु भएको छ। ‘यस्ता संक्रमित व्यक्तिको पहिला नै फोक्सोले काम गर्ने क्षमता कम रहेको हुन्छ,’ डा. बमले भने, ‘भाइरस संक्रमण फोक्सोमा नै बढी हुने भएका कारण अन्य मानिसको तुलनामा दीर्घरोगको मृत्युदर बढी हुन्छ, त्यसलाई कम गर्न चेस्ट फिजिसियनको महत्वपूर्ण भूमिका रहन्छ।’

तर, नेपालमा हालसम्म २५ हाराहारीमा मात्रै छाती रोग विशेषज्ञ भए पनि तीमध्ये सबैजसो उपत्यकाभित्र छन्।

सघन उपचारमा छाती रोग विशेषज्ञले रगतमा अक्सिजनको मात्रा, फोक्सोका कार्य, रक्तचापको अनुगमन गरेर भेन्टिलेटरको प्रयोग वा आवश्यकताको यकिन गर्छ। तीबाहेक यस्ता विशेषज्ञ नै नभएको अवस्थामा उपचारका लागि चाहिने विशेषज्ञ सेवा जनरल प्राक्टिसनर (जिपी) वा फिजिसियनले पनि दिनसक्छन्।

नेपालमा २ सय ६६ जिपी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकामध्ये २ सयहाराहारी मात्रै क्लिनिकल प्राक्टिसमा संलग्न छन्। तीबाहेक झन्डै ६ सयभन्दा बढीले इन्टरनल मेडिसिनमा विशेषज्ञ गरे पनि एकदम न्यून संख्यामा मात्रै इन्टरनल मेडिसिन प्रक्टिस गरिरहेका छन्। तीबाहेककाले अन्य सुपरस्पेसियालिटीमा फड्को मारिसकेका छन्।

के छ सरकारी तयारी?

पछिल्ला दिनमा कोरोनाले आक्रान्त पारेका देशहरूले पनि अहिले विशेष जनशक्तिको सिमाना तोडेर सबै खालका चिकित्सकलाई उपचारमा संलग्न गराइरहेका छन्। हाम्रो सन्दर्भमा पनि त्यो अवस्था आउँदा हाडजोर्नी, सर्जरी, स्त्रीरोगका विशेषज्ञहरूलाई पनि उपचारमा खटाउनुपर्ने अवस्था आउन सक्छ।

तीबाहेक सामान्य तरिका उपचार र हेरचाहका लागि पनि हामीसँग भएका सामान्य चिकित्साका जनशक्ति पनि खटाउन सकिन्छ। नेपाल स्वास्थ्य व्यवसायी परिषदका अनुसार अहिले नेपालमा भएको जनशक्त्ति यस्तो छ :

तर, त्यसका लागि सरकारसँग भूगोल, उपलब्ध जनशक्तिका आधारमा उपयुक्त योजना चाहिन्छ। त्योभन्दा महत्वपूर्ण विषय उपचारसम्बन्धी प्रोटोकल र ओरिएन्टेसन चाहिन्छ। यस्तो अवस्थामा हामीसँग हजारौंका संख्यामा रहेका स्वास्थ्यकर्मीलाई पनि विषय ओरिएन्टेसन गरेर उपचारमा खटाउन सकिन्छ।

अहिले योजना र मापदण्डै कोरोना तयारीका लागि भन्दै अस्पतालहरूले आइसोलेसन वार्ड, आइसियु तयार राखेका छन्। उपत्यकाका कोरोनाका बिरामीलाई १० बेडदेखि १ सय १० बेडसम्म छुट्ट्याइएको नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारी बताउँछन्।

तर, डा. अधिकारी कति जनशक्ति चाहिने कुरा संक्रमितको संख्याले निर्धारण गर्दै जाने बताउँछन्। ‘अहिलेको अवस्थामा जनशक्ति हामीसँग पर्याप्त नै छ,’ डा. अधिकारी भन्छन्, ‘तर, महामारीको अवस्था निम्तिएमा यति नै जनशक्ति चाहिन्छ भनेर भन्न सकिँदैन।’

नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा नर्सिङ काउन्सिल, आयुर्वेद काउन्सिल, फार्मेसी काउन्सिल, स्वास्थ्य मन्त्रालयको अनुगमन शाखा र औषधी व्यवस्था विभागको संयुक्त टोलीले अस्पतालमा भएको उपकरण तथा जनशक्तिको अनुगमन गर्दै आएको छ।

सरकारी अस्पतालमा, मेडिकल कलेजहरूमा पूरा समय दिने चिकित्सक भए पनि निजी अस्पतालमा पर्याप्त बेड भए पनि चिकित्सक संख्या नगन्य रहेको डा. अधिकारी बताउँछन्।

‘सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले बिहान–बेलुका निजी अस्पतालमा गएर काम गर्ने अवस्था रहेको छ,’ उनी भन्छन्, ‘पूरा समय काम गर्ने जनशक्ति कति छन् भन्न अब म्यापिङ गर्नुपर्ने अवस्था छ।’

नेपाल स्वास्थ्य व्यवसायी परिषदका पूर्वरजिस्ट्रार एवं स्वास्थ्यकर्मी संघका महासचिव दीपकप्रसाद भट्टले अहिलेसम्म जनशक्तिका सन्दर्भमा सरकारले तयारी गर्न नसकेको बताए।

‘स्वास्थ्य संरचनामा भएको ८० प्रतिशत जनशक्ति स्थानीय सरकारसँग छ, तर कोरोना उपचार गर्ने संस्था स्थानीय तहमा छैनन्,’ भट्टले भने, ‘महामारी आउँदा एकैपटक सबै जनशक्ति खटाएर आइसोलेसनमा राख्नुपर्ने अर्को हाहाकार हुन्छ, त्यसका लागि विशेष तयारी चाहिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय