‘निजीमा बिरामी जाँच्दैनन्, सरकारीमा कोरोनाको त्रास’

चैत २६ गते गोदावरी नगरपालिकाका–२ तेघरीका ७६ वर्षे जनकलाल भट्टको स्वास्थ्यमा समस्या भएपछि धनगढीस्थित मायामेट्रो अस्पताल भर्ना गरियो।

मध्यान्ह १२ बजे अस्पतालमा पुर्‍याइएका उनको चार घण्टासम्म अस्पतालले वास्ता नगर्दा निधन भयो।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ की मञ्जु जोशीको स्वास्थ्यमा समस्या भएपछि उनी अत्तरियामा रहेका विभिन्न निजी क्लिनिकमा धाइन्। तर, उपचार कतै पाइनन्। अहिले उनी उपचारबिना घरमै बसिरहेकी छिन्।

यी दुई वटा घटना प्रतिनिधि मात्रै हुन्। नेपालसहित विश्वभर फैलिएको कोरोना प्रकोपसँगै निजी अस्पतालहरूले सेवा प्रवाहलाई थप जिम्मेवार र उपचारमा केही छुन दिने घोषणा गरे पनि सुदूरपश्चिममा सञ्चालित निजी अस्पताल भने गैरजिम्मेवार बन्न थालेका छन्।

निजी अस्पतालमा उपचारका लागि आएका बिरामीले भर्ना नगरेर फर्काउने गरेको गुनासो मात्रै गरेका छैनन्, यो अवधिमा निजी अस्पतालका भर्ना हुने बिरामीलाई सरकारीमा रेफर गर्ने गरेको आरोपसमेत लगाएका छन्। मायामेट्रो अस्पतालमा उपचार नपाएकै कारण मृत्युको सिकार भएका गोदावरी नगरपालिका–२ तेघरीका ७६ वर्षे जनकलाल भट्टका भतिजा हेमराज भट्टले भने, ‘यतिबेला निजी अस्पताल गैरजिम्मेवार बनेका छन्, उनीहरूले आफ्नो सामाजिक कर्तव्य बिर्सेका छन्।’

‘अन्य समय सरकारी अस्पतालको भन्दा राम्रो सेवा दिन्छौं भन्दै नानाथरी प्रचार गर्ने निजी अस्पतालहरूले संकटको घडीमा बिरामीलाई सरकारी अस्पताल जान सुझाव दिने गरेका छन्,’ उनले भने, ‘सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने निजी अस्पताल सञ्चालकलाई सरकारले कारबाही गर्नु पर्छ।’

धनगढी उप–महानगरपालिका–३ का पदम भण्डारीले निजी अस्पतालको लापरबाहीका कारण बुवाको उपचार हुन नसकेको बताए। ‘सरकारी अस्पतालमा लैजाउँ कोरोना सर्छ भन्ने त्रास,’ उनले भने, ‘निजी अस्पतालले उपचार गर्नै मान्दैनन्, बुबालाई घरमै राखेको छु।’

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने सेवा नदिने निजी अस्पताल सञ्चालकलाई कारबाही गरिने बताए। ‘हामीले निजी अस्पतालको सेवा र बिरामीलाई गरिने व्यवहार बारेमा निरन्तर अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘बिरामीले उपचार नदिएको भन्ने गुनासो गरेमा त्यसता अस्पताललाई कारबाही गर्छौं।’

निजी अस्पताल सञ्चालक संघ कैलालीका अध्यक्ष जनकराज जोशीले भने संकटका बेला बिरामीको उपचारमा निजी अस्पतालले कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्। ‘निजी अस्पतालले नाफा कमाउने मात्र नभई अहिले सामाजिक भूमिका खेलेको छ,’ अध्यक्ष जोशीले भने, ‘उपचार गराउन आउने बिरामीलाई सेवामा २० प्रतिशत छुट दिएका छौं। उनले सरकारलाई आवश्यक परेमा निजी अस्पताल हस्तान्तरण गर्न आफूहरू तयार रहेको समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय