काेराेना फैलिसक्याे, अब त गरौं सीमा नियमन

ध्रुवबहादुर प्रधान
प्रकाशित
२०७७ वैशाख ४ गते १३:३५

पछिल्लो समय सीमा नियमन विषयले इतिहासमै सबैभन्दा बढी राजनीतिक स्तरको महत्व पाएर पनि यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति र सामर्थ्य देखापरेन।

यसमा नेपालको भन्दा भारतकै बढी चासो र सक्रियता चाहिनेमा दुईमत छैन। भारतले चाहन्छ वा चाहँदैन भन्नेसम्मको यथार्थ बुझाइमा पुग्न पनि मेहनतै गर्नुपर्छ। नेपाली नेताहरूलाई त्यसको टन्टा छैन। त्यसैले यो बहस फेरि पनि एकथरि बुद्धिजीविको गनगनभन्दा माथि नजाला कि भन्ने देखिइरहेको थियो। त्यस्तैमा एउटा अप्रिय र कठिन सन्दर्भ आइपुगेको छ, जसले नेपाली नेताहररूलाई भन्दा आमनेपालीलाई सीमा नियमनको बहसमा होमेको छ।

नेपाल–भारत सीमामा यतिबेला दुईखाले चुनौती छन्। पहिलो, कोरोना कहर छल्न वा विपत्तिमा आफ्नै परिवारसँग बस्न भनेर लाखौं नेपाली जनता भारतीय भूमि छाडेर नेपाल छिर्न खोजे। स्वाभाविकै हो। त्यसबारे सरकारको के कस्तो आँकलन थियो भनेर यसै भन्न कठिन छ।

राष्ट्र र जनताको हितमा आँकलन गर्ने फुर्सद नेताहरूलाई छैन। अपेक्षितै थियो, जब लाखौं नेपालीलाई कोरोन आशंकामा सीमामा कडाइसाथ स्क्रिनिङ गर्ने, क्वारेन्टाइनमा राख्ने खाँचो पर्‍यो, सरकारी संयन्त्रको बाह्र बजिहाल्ने नै भयो।

न चुनौतीको आँकलन न आवश्यक तयारी, अनि जताजतै ह्वाङ्गै, जसलाई समस्या नपर्दासम्म रोटीबेटीको सम्बन्धको पगरी गुथाएर उपयोगभन्दा पनि स्वेच्छाचारका नजरले हेरिँदै आएको थियो।

र, कयौं दिन भोकै, गोडा सुन्निने गरी हिँडेर आएका नेपालीजनलाई सरकारले सीमापारि नै रोक्ने अवस्थाले एउटा गम्भीर मानवीय विपत्तिको माहोल सिर्जना गर्‍यो। अझै कयौं लाख नेपाली भारतमा छन् र कोरोना महामारी केही साताको लकडाउनले निप्टिने छाँटकाँट देखिँदैन। र, हाम्रा सरकारी संयन्त्रले नेपालीहरू कुनै पनि बेला नेपाल फर्कन सक्छन् भनेर तयारीमा बस्नुपर्छ।

त्यसका लागि सबैभन्दा पहिला व्यवस्थित बोर्डर स्क्रिनिङ गर्नुपर्छ भन्ने पाठ सरकारले सिकेको हुनुपर्ने हो। गम्भीर विपत्तिबाट पनि नसिक्ने थेचरोपन नेपाली राजनीतिमा नदेखिएको होइन। तर, अब यस्तो नहोस् भन्ने कामना गर्न सकिन्छ।

दोस्रो चुनौती, भारततर्फबाटै नेपाललाई थाम्नै नसकिने समस्या हुनसक्छ। नरेन्द्र मोदीले टेलिभिजन सम्बोधनबाट जे जस्तो आत्मविश्वास सञ्चार गर्न खोजे पनि यथार्थ बिल्कुल फरक छ।

भारतीय संयन्त्रले आधुनिककालमा कोरोना महामारीजस्तो विपत्ति शायदै सम्हालेको छ। जनस्तरको चरम गरिबी, ज्यालादारी वर्गको बाहुल्य, कमजोर कानुनीराज, आर्थिक सीमितता र कतिपय सामाजिक–सांस्कृतिक कारणले भारतलाई यस्तो विपत्ति सम्हाल्न कठिन छ। कुनै प्राकृतिक कारणले महामारी भारतीय प्रायद्वीपमा कमजोर भएको अवस्थामा मात्रै यसबाट सहज निकास होला। भारतले भोगिरहेको यो चुनौतीबाट नेपाल अछुतो हुने कुनै सम्भावना छैन।

भारतमा समस्या बढ्दै जाँदा त्यहाँका नेपालीमात्र नभएर भारतीय समेत नेपालतर्फ आउने अवस्था रहन्छ। नेपालको कम जनघनत्व, खुला र उच्चस्वीकार्यतायुक्त सामाजिक बनोट भारतीयका लागि सधैं आकर्षणको विषय हो।

भारतमा कोरोना महामारीका लागि मुख्य ‘क्याटलिस्ट’ को रूपमा काम गरेको नयाँदिल्लीको निजामुद्दिनमा आयोजित तबलिजी जम्मतमा सहभागी केही भारतीय मुस्लिम केका लागि सप्तरीदेखि वीरगन्जसम्म यात्रा गर्दै थिए?

यसबारे कुनै समय पक्कै खोजी होला।

तर, अहिलेका लागि यति बुझौं, चाहे त्यो नागरिकता विधेयकले ल्याउन सक्ने विशृंखलता होस् या कोरोना महामारीजस्तो विपत्तिले ल्याउने विरक्ति। भारतीय समाजमा ल्याउने कुनै पनि विग्रहको ठूलो मूल्य नेपालले तिर्नैपर्ने हुन्छ। र, त्यसका लागि सबैभन्दा उत्प्रेरक खुला सीमा हो। खुला सीमालाई नियमन नगरिकन यथास्थितिमा राख्नका पछाडि अनेकन कारण छन्, होलान्।

तर, त्यसका कारण नेपालले भारतका तर्फबाट ठूलो अपजस सहन परिरहेकै छ। खासगरी, सुरक्षाका विषयमा। भारतले नेपालको राजनीति तथा आन्तरिक मामिलामा अक्सर दक्खल दिने कारणका रूपमा सुरक्षालाई नै देखाइन्छ। तर, यसको एकमात्र मुख्य समाधान सीमा नियमनलाई सम्बोधन गर्न चाहिँ सिन्को भाँच्ने काम पनि गरिँदैन।

इपिजी रिपोर्टले यसैलाई आफ्नो मेरुदण्ड मानिसक्दा पनि ध्यान दिइँदैन। तर, अब त सुरक्षामाथि वृहत्तर जनस्वास्थ्य पनि थपिएको छ। खुला र अनियमित सीमा भएको खण्डमा दुवै देशका जनता असुरक्षितमात्रै होइन अस्वस्थसमेत हुने रहेछन्।

सिंगो देशलाई एउटा घर सम्झेर एकै छिन मनन गरौं। घर मानेर कुनै छानो भएको संरचनामा हामी बसिरहँदा त्यसका चार दिवार छन् छैनन्, भएर पनि बलिया छन् छैनन, तिनको खुल्ने बन्द हुने एउटा विधि छ छैन भन्ने प्रश्न उठ्छ। ती कुरा छैनन् भने घरमा चोर पस्छ, परचक्रीको निर्वाध प्रवेश हुन्छ, निजित्व रहँदैन, सुरक्षा हुँदैन। अहिले संसारभरका मानिस घरभित्रै छन्।

यसलाई लकडाउनअन्तर्गतको होमक्वारेन्टिन भनिएको छ। यो चाहिँ कोरोना नामक प्राणघातक र अदृश्य चोर भाइरस रोक्नका लागि हो। यसको दुइटा माने हुन्छ। हामी जथाभाबी घर बाहिर निस्कँदा त्यो भाइरस हामीसँग टाँसिएर आउन सक्छ वा घरमा जो पायो त्यहीलाई आउने वातावरण बनाउँदा भाइरसका लागि झन् सजिलो हुन्छ। कोरोनाले घर वा देश, सानो मान्छे वा ठूलो मान्छे भनेर विभेद गर्दैन।

यतिबेला जुन जुन देशले आफ्नो भूभाग अनि समाजलाई एउटा व्यवस्थित, सुरक्षित र संवेदनशील घर मानेर सजगता अपनाएका छन्, त्यहाँ कोरोनाको समस्या निकै नियन्त्रित छ र तिनीहरू अब विस्तारै सामान्य जनजीवनतर्फ फर्कने सुरसारमा छन्। यस मामिलामा सबैभन्दा प्रभावकारी व्यवस्थापन ताइवानले गरेको देखियो। उत्तरी युरोपेली मुलुकले समेत महामारी नियन्त्रणमा सीमा व्यवस्थापनसँग जोडिएका अनेक संयन्त्रको उच्चतम प्रयोग गरेको पाइन्छ।

हाम्रो नेपालका विषयमा चर्चा गर्दा निकै कटमिरो महसुस हुन्छ। यहाँको राजनीतिक नेतृत्वको काठमाडौं केन्द्रित मनस्थितिले सीमालाई अन्तर्राष्ट्रिय चुनौतीको आलोकमा बुझ्नै सकेको छैन। वृहत्तर सीमा नियमनको एजेन्डालाई यतिनिकटको सम्बन्ध रहेको भारतसँग उठाउने सामर्थ्य त बनाउन सकेन, तर आफ्नातर्फका पहललाई त सुदृढ तुल्याउँदै जानसक्छ। कम्तिमा सीमा निगरानीलाई वैज्ञानिक र भरपर्दो बनाउनका लागि स्रोतहरूको समुचित प्रयोग गर्नसक्छ।

हामी नेपाल भारत सीमामा रहेको नेपाल राज्यको उपस्थितिलाई सर्सती नियालौं। सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलको उपस्थिति, ढाँचा र काम गराई हेरौं। भारततर्फ एसएसबीले हरेक तीन किलोमिटर दुरीमा अड्डा जमाएर चौबिसै घन्टा पहरा दिने अवस्था बनाइसकेको छ। तर, नेपाली सशस्त्र टोली सीमाभन्दा चार किलोमिटर वर गाउँमा टहलिएर बसेको छ। सीमामाथि निगरानी गर्ने, सूचना सामर्थ्य विकास गर्ने हिसाबले भौतिक पूर्वाधारसमेत बनेका छैनन्।

हुलाकी राजमार्ग बन्ने अपेक्षामै हाम्रो विकास सपना अड्किरहेको छ। हामीले सीमा सन्निकट हुने गरी मेचीमहाकाली वारपार राजमार्ग बनाउने कल्पनासमेत गर्न सकिरहेका छैनौं। शायद, राज्यव्यवस्थाको कमजोर उपस्थितिबाट लाभ उठाउन चाहनेहरू, खुला सीमालाई चुनावी प्रयोजनको उपयोगिताबाट मात्र हेर्ने दलहररू, सरकारमा पुगेर भारतको मन जाँचेरमात्र आफ्नो सत्ताको दुनो घुम्छ भनी ठान्ने कमजोर आँतको नेतृत्वलगायत धेरै पक्ष सीमा नियमन चाहँदैनन्। यही परिप्रेक्ष्यमा थाहा नपाएर वा बुझ पचाएर नागरिक समाज पनि टोलाइमात्र रहेको छ। सञ्चारजगतलाई यसबारे पर्याप्त ज्ञान र हुटहुटी छैन।

कोरोना महामारीले सीमाको बिजोग प्रष्टिएका बेला यति चाहिँ राजनीतिक, सामाजिक र प्राज्ञिक वृत्तमा बोध हुन जरुरी छः

– सीमा नियमनले कुनै पनि अवस्थाका नागरिक वा गैरनागरिकको आगमन वा बहिर्गमनको सुदृढ अभिलेख राख्छ। र, त्यो सदैव सुरक्षाका दृष्टिकोणले अतिमहत्वपूर्ण हुन्छ।

– सीमा नियमनले जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सतर्कता र जाँचका संयन्त्र विकास गर्छ। कुनै पनि अवान्छित वस्तुको प्रवेशलाई रोक्छ, जसले आमजनको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउँछ।

– सीमा नियमनले कुनै पनि खाले विपत्तिका बखत ठूलो संख्यामा मानिस वा वस्तुलाई निश्चित ठाउँमा रोकिराख्ने पूर्वाधारका लागि आधार खडा गर्छ। अब प्रमुख नाका नजिक ठूल्ठुला क्वारेन्टिन पूर्वाधार बनाउन जरुरी देखिइसक्यो।

– सीमा नियमनले स्थानीय, राज्य र केन्द्र सरकारको निर्णयमा आवश्यक सूचनाको प्रत्याभूति गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय