प्रयोगशालाकी प्राविधिक भन्छिन्- ‘कोरोना जाँच्न डर मान्न छोडिसकें’

कोरोनाविरुद्ध अग्रमोर्चामा लडिरहेका स्वास्थ्यकर्मी मध्येकी एक हुन् सुभद्रा दुलाल।

१० दिन पहिलेसम्म कोरोनाका शंकास्पद बिरामीको स्वाब संकलन गर्दै आएकी उनी अहिले कोरोना भए÷नभएको निष्कर्ष निकाल्ने परीक्षणमा खटिएकी छन्।

सुभद्रा प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकीकी प्राविधिक कर्मचारी हुन् । तर अहिले उनको कार्यथलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला बनेको छ ।

बिहान ९ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना जाँच्ने प्रयोगशालामा छिरेपछि उनको काम साँझसम्म चल्छ । कहिलेकाहीँ राती अबेरसम्म परीक्षणमै खटिने गरेकी छन् । काम गर्दै जाँदा कहिले ८, कहिले ९ अनि कहिले १० पनि बज्छ । उनीसहित प्रयोगशालामा खटिएको ६ जनाको टोलीले १ दिनमा ८० वटासम्म स्वाब परीक्षण गरेको छ । ६ जनामध्ये २ जना केन्द्र सरकार मातहतका, २ जना प्रदेश मातहतका र २ जना पहिल्यै त्यहीँ काम गरिरहेका स्वास्थ्यकर्मी छन् ।

उनकाअनुसार स्वाब परीक्षण गर्नुपूर्व थुप्रै प्रक्रिया पूरा गर्नुपर्छ । ‘रिपोर्ट १ घन्टामा आउने भनिएपनि मेसिनमा हाल्नुअघि विभिन्न चरण हुन्छन् । ती चरण पूरा गर्न ३ घन्टासम्म लाग्छ । भाइरसलाई फुटाउनदेखि लिएर भाइरसको आरएनएलाई सयौं टुक्रामा विभाजन गर्नुपर्छ,’ उनले सुनाइन्।

संकटका बेला पाएको जिम्मेवारीलाई उनले अवसरको रुपमा लिइरहेकी छन् । सेवा गर्छु भन्ने भावना उनमा सानैबाट थियो । त्यसका लागि स्वास्थ्य क्षेत्र रोजाइ बन्यो । भन्छिन्, ‘प्रदेशले मलाई यत्तिको काबिल सम्झिँदा गर्व लागेको छ। मैले संकटकालमा योगदान दिन पाएँ । यसलाई अवसरको रुपमा लिएकी छु ।’

सुरुमा स्वाव संकलन गर्दादेखि कोरोना परीक्षणको जिम्मा थपिँदासम्म उनले श्रीमानलाई मात्र सबै कुरा भनेकी थिइन् । श्रीमान पनि स्वास्थ्यकर्मी भएको हुँदा कुरा बुझाउनै परेन । पछि श्रीमानले नै घरका अरु सदस्यलाई सुभद्रा कोरोनाविरुद्धको युद्धमा होमिएको सुनाए ।

कोरोनालाई परास्त गर्न फ्रन्टलाइनमा खटिएकी उनलाई परिवारका कोही पनि सदस्यले रोकटोक गरेनन् । ‘आमाबुवा (श्रीमानतर्फ) ले के सोच्नुहुन्छ भनेर सुरुमा श्रीमानबाहेक अरुलाई केही भनिनँ । आजकल त घरबाट निस्किँदा बुवाले सधैं पिपीई नदिए काम नगर, सुरक्षित भएर काम गर भन्नुहुन्छ,’ उनी भन्छिन्, ‘घरबाट राम्रो सपोर्ट छ । बिहानै बच्चा छोडेर आउँदा सबै काम गर्दिनुहुन्छ ।’ उनका १६ महिनाका छोरा र ४ वर्षकी छोरी गरी २ सन्तान छन् ।

कोरोना परीक्षणका लागि प्रदेश सरकारले गठन गरेको द्रुत प्रतिकार्य टोलीमा २० फागुनमा उनको नाम सिफरिस भयो। २३ फागुनमा स्वाब संकलन गर्ने तालिम लिन सुभद्रा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पुगिन् । तालिम लिएको १ हप्तापछि लेखनाथ सामुदायिक लायन्स अस्पतालमा रहेका शंकास्पद बिरामीको स्वाब संकलन गर्ने जिम्मा उनको काँधमा आयो ।

देशका कति ठाउँमा शंकास्पद व्यक्ति अस्पताल पुग्दा चिकित्सकको भागाभाग भएको भनेर सुनेका समाचार उनको मानसपटलमा ताजै थियो। त्रासकै बीच ३० फागुनमा पहिलोपटक स्वाब संकलन गरिन् । रुघाखोकी लागेको र विदेशबाट आएका बिरामी भएकाले ढुक्क हुने कुरा पनि थिएन। त्यस दिन घर पुग्दा नुहाएर मात्र परिवारका सदस्यको सम्पर्कमा आइन् । त्यो दिनपछि कोरोना भाइरससम्बन्धी सामग्री पढ्न थलिन् ।

आजकल आदत परिसक्यो । सरकारले पर्याप्त मात्रामा सुरक्षा सामग्री उपलब्ध गराएकाले पनि उनी ढुक्क छिन् । भन्छिन्, ‘सुरुमा एकदम डर लागेको थियो । पछि कोरोनाबारे अध्ययन गर्न थालें । सरकारले पनि सुरक्षा सामग्री पर्याप्त उपलब्ध गराउन थालेपछि अहिले परीक्षणका लागि डर लाग्दैन,’ उनले सुनाइन् ।

पोखरा–३० शिशुवा घर भएकी सुभद्राको माइत भक्तपुर हो । मामाघरसँगै ठूलीआमा, सानिमा सबैको घर पोखरा भएकाले उनी पोखरा बसेर पढिन् । सन् २०११ मा पोखरा विश्वविद्यालयबाट बीएमएलटी (ब्याच्लर इन ल्याब टेक्नोलोजी) उत्तीर्ण गरेपछि रिजनल कलेजमा ल्याबका विद्यार्थीलाई पढाउन थालिन् ।

जागिर खाँदै गर्दा विवाह भयो । बीएमएलटी सातौं र ल्याबतर्फ पाँचौ तहकी सुभद्रालाई श्रीमानले लोकसेवा लड्न सुझाव दिए । निजी स्वास्थ्य संस्थामा काम गर्दा कामको चाप बढी हुने भन्दै श्रीमानले दिएको सुझावलाई उनले मनन गरिन् । उनको मिहिनेतले सफलता प्रापत ग¥यो । लोकसेवाको परीक्षा दिएको पहिलो पटकमै नाम निस्कियो । गोरखालाई कर्मथलो बनाएर जनस्वास्थ्य सेवामा लागिन् ।

संयोग पनि कस्तो पर्‍यो भने सरकारी सेवा सुरु गर्दाबाटै देशले एक पछि अर्को गर्दै प्राकृतिक विपत्ति व्यहोर्नुपर्‍यो । स्वास्थ्यकर्मी भएकाले विपत्तिका बेला जिम्मेवारी बढी हुनु स्वभाविक थियो, उम्किने कुरा भएन । पेटमा ८ महिनाको बच्चा हुँदा पनि काम गर्दिन भन्ने उनलाई लागेन ।

स्वास्थ्यका कर्मचारीको समायोजन पछि कर्मथलो पोखरा बन्यो । गत वर्ष डेंगु देखिँदा उनले त्यसैको टेस्ट गरिन् । ‘पेशागत नैतिकताले पनि विपत्तिका बेला म पन्छिन मिल्दैनथ्यो । ८ महिनाको बच्चा पेटमा हुँदासमेत आफ्नो दक्षताले भ्याएसम्म काम गरें । पोहोर डेंगु आउँदा यही प्रयोगशालाको माइक्रोबायोलोजी ल्याबमा खटिएँ,’ उनले सुनाइन् ।

सरोकारवाला सबै निकायले बेलाबखत कुनै समस्या भए/नभएको सोधपुछ गर्ने गरेको उनले बताईन् । ‘काम गर्न कुनै समस्या छैन । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्रबाट बेलाखबखत केही सामान कमी छ, छैन भनेर सोधिरहनु हुन्छ । हामीलाई त्योभन्दा ठूलो कुरा अरु के हुन्थ्यो र !’ हँसिलो मुद्रामा उनले भनिन् । विपत्तिमा स्वास्थ्यकर्मीको दायित्व के ? उनी भन्छिन्, ‘हिरा फोर्ने परेको बेलामा हो, अरु बेला फोरेर त्यसको खासै महत्व हुँँदैन .’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय