‘अमेरिकाले सन् २०२२ सम्म सामाजिक दूरी कायम गर्नुपर्ने हुनसक्छ’

अमेरिकाको लागि अबको केही वर्षसम्म कायम सामाजिक दूरी ‘नयाँ सामान्य’ दिनचर्या बन्न सक्नेछ।

अनुसन्धानकर्ताहरूले यसै साता कोराना भाइरसको उपचारका लागि तत्कालै भ्याक्सिनको विकास नभएको खण्डमा लकडाउन, होम क्वारेन्टाइन (घरभित्र अलग्गै बस्नु) लगायतका सामाजिक दूरीका विधिहरूलाई अमेरिकाले सन् २०२२ सम्मका लागि लागू गर्नुपर्ने अनुमान लगाएका छन्।

हार्बर्ड स्कुल अफ पब्लिक हेल्थले निकालेको यस निष्कर्ष मंगलबार साइन्स जर्नलमा छापिएको छ। तर, यो निष्कर्ष केही समयअघि सञ्चालित अनुसन्धानबाट आएको निष्कर्षको आधारमा ह्वाइट हाउसले आउँदो गृष्म ऋतुबाट कोभिड–१९ विश्वमहामारी निर्मूल हुने भनेर गरेको प्रक्ष्येपणको विपरीत आएको छ।

हार्बर्ड स्कुल अफ पब्लिक हेल्थले कोभिड–१९ तथा अन्य कोरोना भाइरसबारे हालसम्म पाइएको ज्ञान तथा जानकारीको आधारमा यस्तो निष्कर्ष निकालेको जनाएको छ।

‘सघन स्याहार क्षमतामा अधिकतम बृद्धि नल्याए वा यस भाइरसको उपचारका लागि भ्याक्सिनको विकास नभए २०२२ सम्म विभिन्न अन्तराल (बेला–बखत) को सामाजिक दूरीको आवश्यकता देखिएको छ,’ अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

कोभिड–१९ पूर्णरुपमा उन्मूलन भए तापनि यसको पुनरावृत्तिको सम्भावनालाई ध्यान दिँदै यसमाथिको ‘सावधानीपूर्ण’ निगरानीलाई २०२४ सम्म निरन्तराता दिइनुपर्ने पनि प्रतिवेदनले जनाएको छ।

लकडाउन तथा अन्य विविध प्रतिबन्धलाई खुकुलो गर्नेवित्तिकै कोरोना भाइरसको पुनर्आगमन हुने तथ्यतर्फ इंकित गर्दै हार्बर्डले सो प्रक्ष्येपण सार्वजनिक गरेको हो।

‘यदि बेला–बखतको सामाजिक दूरीको विधिलाई नअपनाउने हो भने यसको आवश्यकता कैयौं वर्षहरूसम्म पनि पर्न सक्छ। जुन साँच्चै लामो अवधि हो,’ अध्ययन प्रतिवेदनका लेखक तथा हार्बर्ड स्कुल अफ पब्लिक हेल्थका प्राद्यापक डाक्टर मार्क लिप्सिच भन्छन्।

यसै सन्दर्भमा उब्जेको अर्को महत्वपूर्ण प्रश्न भनेको एक पटक संक्रमित भइसकेपछि मानिसले यस भाइरस प्रतिरोधी क्षमताको विकास गर्छन् वा गर्दैनन् भन्ने पनि हो। जसको हालसम्म कुनै स्पष्ट जवाफ आइसकिएको छैन।

कोरोना भाइरसविरूद्धको एण्डिबडी (ब्याक्टेरिया तथा भाइरसलाई मार्ने शरिरभित्रको तत्व) छ भनेर निर्धारण गर्नका लागि आवश्यक भरपर्दो शारीरिक जाँचपड्तालको उपलब्धता, पहिलो संक्रमणपश्चात रोगसँग लड्ने क्षमताको मात्राको पहिचान, कति समयसम्म यस्तो क्षमता कायम रहन्छ भन्नेबारे ज्ञानको विकास र आमजनसंख्यामा सञ्चालन गरिने एण्टिबडी परीक्षण लगायत यस सवालमा देखिएका सम्भाव्य चुनौतीहरू हुन्।

बेलायतले सम्भव छ भनेर अघि सारेको प्रतिरोधसम्बन्धी प्रमाणपत्र बारेको सामाजिक प्रश्न अझ जटिल देखिन्छ। के उनीहरूले साँच्चै दुई तहयुक्त समाजको निर्माण गरी प्रतिरोधसम्बन्धी प्रमाणपत्र प्राप्त गर्नेलाई सामाजिक जीवनतर्फ फर्काउने र सो प्रमाणपत्र नपाउनेलाई लकडाउनमै राखिने किसिमको व्यवस्थाको स्थापना गर्न सक्छन् भन्ने विषयमा अन्यौलता कायमै छ।

यस अनुसन्धानमा संलग्न अध्ययनकर्ताहरूले समय–समयमा कार्यान्वयन गरिने भए तापनि लामो अवधिको समाजिक दूरीले आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा व्यापक नकारात्मक असर पर्नेबारे आफूहरू सचेत रहेको पनि बताएका छन्।

अध्ययनकर्ताहरूले उनीहरूको अनुसन्धानले वैकल्पिक विधि, प्रकोपको सामना गर्ने नयाँ तरिका तथा उपाय लगायतको भविष्यको दिशा निर्धारण गर्न मद्दत गर्ने तथा विश्वमहामारीलाई नियन्त्रणमा लिने विषयमा थप चिन्तनमनन् तथा विचार–विश्लेषणलाई ऊर्जा प्रदान गर्ने आशा लिएका छन्।

अमेरिकामा कोरोना भाइरस संक्रमणको संख्यामा बृद्धि आइरहे तापनि सामाजिक दूरीको उपाय प्रभावकारी देखिएको छ। ‘सामाजिक दूरी कोभिड–१९ बिरुद्धको सबैभन्दा शसक्त हतियार हो,’ सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक रोबर्ट रेडफिल्डले जानकारी दिँदै भने, ‘हामीले सामाजिक दूरीको मात्रालाई जति बढाएर लैजान्छौं, यस भाइरसको क्षमतालाई त्यति नै कमजोर बनाउँछौं।’

अमेरिकाभरका राज्यहरूले आफ्ना नागरिकहरूलाई अत्यावश्यक कामको अवस्थामा बाहेक घरभित्रै बस्न आदेश दिइसकेका छन्। यसका साथै सो ओदशको उल्लंघन गर्नेहरूका लागि उनीहरूले दण्डसजायको पनि घोषणा गरेका छन्। जस्तो कि मेयन राज्यले आदेशको उल्लंघन गर्नेलाई छ महिनाको जेलसजाय वा एक हजार अमेरिकी डलरसम्मको नगद जरिवानाको घोषणा गरेको छ। फ्लोरिडामा गत महिना एक चर्चको पाष्टरले ठूलो संख्याको प्रार्थना भेलालाई निरन्तरता दिएको कारण उनीविरुद्ध गैरकानुनी भेला तथा आकस्मिक जनस्वास्थ्य नियम उल्लघंनको आरोप लागेको थियो।

यसै हप्ता पूर्व र पश्चिमी किनारामा अवस्थित राज्यहरूले घरभित्र बस्ने आदेशको समाप्तिपछि नागरिकलाई पुन: सामान्य अवस्थामा कसरी फर्काउन सकिन्छ भन्ने विषयमा संयुक्त रुपमा काम गर्नका लागि क्षेत्रीय गठबन्धनको स्थापना गर्न लागेको घोषणा गरेका छन्। न्यूयोर्क, न्यूजर्सी, कनक्टिकेट, पेन्सिलभेनिया, डेलावेयर, रोडी आइल्याण्ड र मासासिचेट्सले सो क्षेत्रीय कार्यदलका लागि जनस्वास्थ्य तथा आर्थिक अधिकारीको चयन गर्ने योजना बनाएका छन्।

सिएनएनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय