प्रदेश २ : कोरोना परीक्षणको गति निकै सुस्त

कोरोना संक्रमण रोकथाम गर्न ‘स्क्रिनिङ’ आवश्यक रहेपनि प्रादेशिक अस्पताल जनकपुरमा भने सुस्त गतिमा परीक्षण भइरहेको पाइएको छ । जाँच प्रक्रियाले गति लिन नसक्दा कोरोना संक्रमितको पहिचान गर्न समेत समस्या देखिएको छ ।

संघीय सरकारको सहयोगमा २१ चैतमा प्रादेशिक अस्पताल जनकपुरमा पिसीआर मेसिन जडान भयो। प्रतिदिन १० परीक्षण गर्नसक्ने क्षमतासहितको पीसीआर यहाँ जडान गरिएको छ । मेसिनको क्षमताको हिसाबले पनि अहिलेसम्म सय भन्दा बढी परीक्षण भइसक्नुपर्ने थियो । तर, पछिल्लो १२ दिनमा प्रादेशिक अस्पताल जनकपुरमा जम्मा ४६ जना शंकास्पदको परीक्षण भएको छ ।

मंगलबार प्रादेशिक अस्पतालको ल्याबले एउटापनि जाँच गरेन । अस्पतालका मेसु डा. नागेन्द्र यादव र कर्मचारीबीचको विवादका कारण मंगलबार परीक्षण हुन नसकेको अस्पताल स्रोतले जनायो । प्रदेश सरकारले सुरक्षाका विश्वसनीय उपकरणहरु उपलब्ध नगराएका कारण कर्मचारीहरुले अवरोध गरेको बताइएको छ ।

जाँच प्रक्रियालाई तिव्रता दिन नसकिए संक्रमणको जोखिम बढ्ने खतरा रहेको विज्ञहरु बताउँछन् ।

तर, प्रादेशिक प्रयोगशालका प्रमुख रामविनय साह भने जाँच सुस्त गतिमा भइरहेको कुरामा सत्यता नरहेको दाबी गर्छन् । परीक्षणमा कुनै ढिलाइ नभएको भन्दै उनले आफूहरुसँग आएको नमूना तत्काल जाँच भइरहेको बताए ।

‘परीक्षण गर्न हामीसँग नमूना आउनु प¥यो, नमूना चिकित्सकले पठाउने हो,’ उनले भने,‘आइसोलेसनमा भर्ना भएका शंकास्पदको नमूना परीक्षण गर्ने हो, नमूना नआउँदा हामीले कसरी परीक्षण गर्ने ?’

जनशक्ति अभावले कोरोना परीक्षणले तिव्रता लिन नसकेको बताइएको छ । प्रादेशिक प्रयोगशालामा रहेका तीनजना स्थायी कर्मचारीले स्वाब संकलनदेखि परीक्षण गर्नु परिरहेकोले जाँचमा ढिलाइ भएको अस्पतालका एक कर्मचारीले बताए ।

तर, ल्याब प्रमुख साहले भने स्वाब संकलनकै कारण परीक्षणमा ढिलाइ नभएको दाबी गरे । ‘ल्याबमा तीनजना स्थायी कर्मचारी छौं, स्वाब संकलनदेखि परीक्षणको काम सबैले मिलेर गरिरहेका छौं,’ उनले भने,‘केही स्वयंसेवकका रुपमा काम गरिरहेका छन् र चाँडै करार नियुक्ति गर्ने तयारी भइरहेको छ ।’ कोरोना जाँचको लागि अहिले १० जना काम गरिरहेको उनले बताए ।

पीसीआर मेसिनको क्षमता कम रहेकोले क्षमताभन्दा बढी नमूना संकलन भएको अवस्थामा काठमाण्डौंस्थित टेकु प्रयोगशाला पठाउने गरिएको उनको भनाइ छ । यसअघि क्वारेन्टाइनमा रहेका सबैको स्वाब परीक्षण गर्ने गरिएपनि अहिले ¥यापिड टेस्टमा पोजिटिभ देखिएकाहरुको मात्र स्वाब परीक्षण भइरहेको साहले बताए ।

उनले स्वाब संकलनदेखि परीक्षणको काम निरन्तर भइरहेको दाबी गर्दै सकभर चाँडै रिपोर्ट दिने उद्देश्यका साथ आफूहरु काम गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय