घर-घरै पुगेर सर्वसाधारणको स्वास्थ्य जाँच

राजेन्द्र गौतम/झापा
प्रकाशित
२०७७ वैशाख ३ गते १७:०९

देश लकडाउनमा रहेको बेला तपाईंले नयाँ वर्ष कसरी मनाउनु भयो? श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमार्फत् पठाएर, लिखित वा रेकर्डिङ शुभकामना सन्देश प्रेषित गरेर, फोन गरेर वा भौतिक दुरी कायम गर्दै शुभकामना साटासाट गर्नुभयो। अर्थात्, घरमा नै स्थापित मन्दिर वा देवदेवीको तस्बिर पुजेर। यति पनि नगर्नेले मान्यजनको हातबाट टिका ग्रहण गर्दै आशिर्वाद थापेर।

तर, झापाका एकजना वडाध्यक्षले नयाँ वर्ष रचनात्मक रूपमा मनाएका छन्। उनी सोमबार नयाँ वर्ष २०७७ बिहानैदेखि व्यस्त भए। डाक्टर निराजन पराजुली र चारजना स्वास्थ्यकर्मीसहितको टोली लिएर गाउँ पसे।

वडाका ४ सय घरमध्ये सबै जेष्ठ नागरिकको घर पुगे। निम्न आय र दैनिक ज्यालादारी गर्ने परिवारका ८५ जना जेष्ठ नागरिकको स्वास्थ्य जाँच गराए।

उनले स्वास्थ्य जाँच मात्रै गराएनन्, ज्वरो, रुघाखोकी, टाउको दुखेको, पेट दुखेका तथा सामान्य स्वास्थ्य समस्या देखिएका नगरबासीलाई निःशुल्क औषधि वितरण गरे।

यसरी नयाँ वर्ष मनाउने वडाध्यक्ष हुन् –शिवासताक्षी नगरपालिका–६ का मनोज खुलाल कार्की। थप दुई सय जनाको स्वास्थ्य परीक्षण गरिएको डाक्टर पराजुलीले बताए।

प्रेसर, सुगर अन्य दीर्घ रोग भएका जेष्ठ नागरिकलाई कोरोना संक्रमणबाट जोगिने उपायसहित मास्क वितरण गरिएको टोलीमा सहभागी रेडक्रस उपशाखा शिवसताक्षीका सभापति नारायण दाहालले बताए।

वडाध्य कार्कीको नयाँ वर्ष मनाउने शैली आफूहरुका लागि नौलो अनुभव भएको स्थानीय बद्री खनालको बुझाए छ। ‘यो सही समयमा गरिएको उपयुक्त निर्णय र काम हो,’ वडा सदस्य खनालले भने, ‘यसले स्वास्थ्य संस्थासम्म आउन नसक्ने जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिन सकियो, यो अन्यत्रका जनप्रतिनिधिलाई पनि सबक हो।’

वडाध्यक्ष कार्कीले कोरोनाको त्रास झेलिरहेका र अप्ठ्यारोको सामना गरिरहेका नागरिकलाई सेवा पुर्‍याउनु आफ्नो कर्तव्य भएको बताए।

जिल्लाका कान्छा वडाध्यक्ष कार्कीले लकडाउनको बेला जनताको सेवामा लागेका छन्। उनले यसअघि आफ्नै पहलमा राहत वितरण गरेका थिए।

आवश्यक सुरक्षा प्रबन्धसहित वडासरकारले आफूहरुसँगको समन्वयमा काम गरिरहेको इलाका प्रहरी कार्यालय शिवगञ्जले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय