कोरोनाकाे बढी मारमा अल्पसंख्यक किन?

प्रकोपहरू सबैका लागि समान हुन्छन् र यिनले मानिसबीच विभेद गर्दैनन् भन्ने मान्यता रहेको थियो। तर, बेलायतमा अग्रपंक्तिका स्वास्थ्यकर्मीको मृत्युसम्बन्धी विवरण, अनुसन्धान तथा प्रतिवेदनले यस मान्यतालाई गलत प्रमाणित गरिदिएको छ।

बेलायतमा कोरोना भाइरससम्बन्धी समस्याका कारण जीवन गुमाउने स्वास्थ्य कार्यकर्ताहरूका लागि श्रद्धासुमनको भेल उर्लँदो छ। यसरी ज्यान गुमाउने कैयौं स्वस्थ्यकर्मीहरू अल्पसंख्यक कालाजाती तथा एसियाली समुदायका सदस्य थिए।

गत शनिबार बेलायतका स्वास्थ्य सचिव म्याट हानककले बिबिसीसँगको एक अन्तर्वार्ताको क्रममा अल्पसंख्यक जातीयताको पृष्ठभूमिबाट आएका कैयौं स्वास्थ्यकर्मीहरूको मृत्यु भएको तथ्यलाई स्वीकार्दै सो घटनाको कारण उनी आफैं ‘साँच्चै विक्षुब्ध’ भएको बताए। उता द गार्जियनको एक रिपोर्टअनुसार चिकित्सकहरूको संघ, ब्रिटिश मेडिकल एसोसियसनका प्रमुखले अल्पसंख्यक समुदायका सदस्यहरू कोभिड–१९ को थप जोखिममा पो छन् कि भन्ने विषयमा अध्ययन गर्नका लागि सरकारलाई घचघच्याएका छन्।

‘यसलाई संयोगमात्र मान्न गाह्रो छ,’ बेलायतमा कोरोना भाइरससँग मिल्दो  लक्षणसहित सुरूमा ज्यान गुमाउने १० जना डाक्टरहरू अल्पसंख्यक पृष्ठभूमिका सदस्यकहरू भएको तथ्यलाई दृष्टिगत गर्दै डाक्टर चाँद नागपालले भनेका छन्।

‘भाइरसले मानिस–मानिसबीच विभेद गर्दैन भन्ने हामीले सुने तापनि यसले काला तथा अल्पसंख्यक जातीयताको मानिसमा संक्रमणको असमान जोखिमलाई उजागर गरेको छ। यसको तत्कालै सम्बोधन हुनुपर्छ भने सरकारले चाँडोभन्दा चाँडो आवश्यक कदम चाल्न जरुरी छ,’ द गार्जियनले उनको भनाइलाई उद्धृत गरेको छ।

कोभिड–१९ ले परिवारहरूलाई भताभुङ्ग पारेको छ भने बेलायती अर्थतन्त्रमा रोकावट ल्याएको छ। तर, पछिल्लो समयमा यहाँका सञ्चारमाध्यमहरूले कोरोना भाइरसको प्रभाव अल्पसंख्यक समूहमा कतै अन्यमा भन्दा बढी त छैन भन्ने खालका शंका र प्रश्नहरू उब्जाइरेका छन्।

तर, अमेरिकामा सिकागो र मिचिगानका सरकारी अधिकारीहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार पृष्ठभूमिको आधारमा कोरोना भाइरस प्रभावितहरू संख्यामा स्पष्ट असमानता देखिए तापनि बेलायतको परिदृश्य भने विल्कुलै फरक छ।

बेलायतका विज्ञहरूले कोरोना भाइरस प्रभावित मानिसहरुका सवालमा जान्न बाँकी तथ्यहरू धेरै नै रहेको दाबी गरे। उनीहरूका अनुसार संक्रमण वा मृत्युको प्रमाणित घटनाको तथ्यांकमा पनि अधिकारीहरूले मानिसको वंश वा पृष्ठभूमि नखुलाएको आरोप लगाएका छन्।

आमतथ्यांकको यस्तो संकटले समुदायहरूलाई दुविधामा पारेको छ भने बढ्दो संख्याको मृत्युको पछाडि अहंम् भूमिका निर्वाह गरेको हुनसक्ने भूगोल, गरिबी वा अनुवंशिकता लगायतको स्वास्थ्यसम्बन्धी कारकहरूमाथि उचित ध्यान दिनबाट सरोकारवालहरूलाई बञ्चित गराएको छ।

‘तथ्यांक संकलनमा बेलायत गम्भीर हुन जरुरी छ,’ मानिसको पहिचानमा काम गर्ने बेलायती थिङ्क ट्याङ्क ब्रिटिश फ्युचरका निर्देशक सुन्दर कट्वालाले सिएनएनलाई भनेका छन्।

तर, अन्य विज्ञहरूले भने बेलायतमा मानिसको स्वास्थ्यको सामाजिक निर्धारक र स्वास्थ्यसम्बन्धी असमानताहरूमाथिको अनुसन्धानको बलियो संस्कृति रहेको र वंशजसम्बन्धी तथ्यांक संकलन गर्ने थोरै युरोपेली देशहरूमध्ये बेलायत पनि एक भएको बताए।

यहाँनिर अधिकारीहरूले सम्बन्धित तथ्यांकको सार्वजनिकीकरणमा बेलायत सरकार चुकेको अनुमान लगाएका छन्। ‘यस संकटले पैदा गरेको दबाब, यसको बृहत् असर तथा आर्थिक प्रभावको कारण नीति निर्माताहरूले तथ्यांकको सम्प्रेषणमा सुस्तता देखाएको मलाई महसुस भएको छ,’ कट्वाला अगाडि थप्छन्।

बेलायतको नेशनल हेल्थ सर्भिसकी प्रवक्ता सराह म्याकलिनन्ले उनको संस्थाले हाल कोभिड–१९ ‘केश’हरूबाट वंशज तथा सामाजिक–आर्थिक पक्षबारेको जानकारी संकलन गरिरहेको बताइन्। ‘भाइरसको विस्तारलाई सामाजिक–आर्थिक पक्ष तथा आवासको अवस्थाले कस्तो प्रभाव पार्दछ भनेर तथ्यांकमा काम गरिरहेको समूहले पछि अध्ययन गर्नेछ,’ उनी भन्छिन्।

गत सप्ताहन्तसम्म कोरोना भाइरसको कारण सबैभन्दा बढी मानिसको ज्यान गुमाउने राष्ट्रको सूचीमा पाचौं स्थानमा रहेको छ।

सुरुवाती संकेतहरू

इन्टेन्सिभ केयर नेशनल अडिट एण्ड रिसर्च सेन्टरले यस महिना कोभिड–१९ प्रमाणित भएर इंग्ल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका अस्पतालहरूको सघन उपचार कक्षमा उपचाररत बिरामीहरूमाथि गरेको अनुसन्धानले साधारण जनसंख्याको तुलनामा अल्पसंख्यक जातिका मानिसहरुको उच्च प्रतिनिधित्व भएको हुनसक्ने सम्भावनातर्फ इसारा गरेको छ। सो तथ्यांकभित्र ती क्षेत्रहरूको सबै सघन उपचार कक्षहरूमा उपचाररत् बिरामीहरूलाई समावेश गरिएको थिइएन।

अप्रिल १० मा सार्वजनिक गरिएको एक आँकडाअनुसार बेलायतभरि जम्मा कोरोना भाइरस संक्रमित कूल बिरामीहरू (तीन हजार तीन सय ७०) मध्येको एक तिहाइ मानिसहूरू काला तथा अल्पसंख्यक जातीयता पृष्ठभूमिका थिए जुन बेलायतको कुल जनसंख्यामा १३ प्रतिशतको अनुपातमा रहेका सो पृष्ठभूमिको मानिसको संख्याभन्दा तीन गुणाले बढी हो।

सघन स्याहार कक्षको अधिकांश तथ्यांक आएको बेलायती केन्द्रीय सहरी क्षेत्रलाई कोरोना भाइरसले सबैभन्दा मारमा पारेको छ। पब्लिक हेल्थ इंगल्याण्डको तथ्यांकअनुसार बेलायतको सेफिल्ड सहरमा सबैभन्दा बढी कूल जनसंख्याको प्रति एक लाख जना बराबर संक्रमितहरूको संख्या रहेको छ भने सो पश्चात लण्डन, लिभरपुल र बर्मिङगम सहरमा संक्रमणको संख्या दर्ज भएको छ।

यी तिनै सहर हुन् जहाँ अल्पसंख्यक वर्गका मानिसको जनघनत्व उच्च रहेको छ भने यसले भौगोलिक पक्षले अल्पसंख्याका नागरिकलाई थप जोखिममा पारेको सुझाउँछ।

युनिभर्सीटी अफ लाइसेष्टरका प्राद्यापक कमलेश कुन्तीले सिएनएनलाई बताएअनुसार अध्ययनहरूले यी समुदायका विशेषगरी एसियाली पृष्ठभूमिका कैयौं मानिसमा ‘अधिक दरको मुटुसम्बन्धी समस्या, चिनी रोग र उच्च रक्तचाप’ देखिएको जुन चीन र इटालीमा अधिक संख्याका कोरोना संक्रमितहरूमा देखिएको थियो।

‘अन्य मानिसको तुलनामा पश्चिम अफ्रिकाका पिढीँमा स्ट्रोक तथा हाइपरटेन्सन लगायत कोरोना भाइरसको लक्षणलाई मलजल गर्ने किसिमका समस्याहरूको जोखिम व्यापक देखिएको छ,’ केथ निल, यूनिभर्सिटी अफ नोटिङ्हामका इमेरिटस प्रोफेसरले जानकारी दिए।

सेन्टर फर पोलिसी अन ऐइजिङका अनुसार बेलायतको समग्र जनसंख्याभन्दा उसको अल्पसंख्यक जातीयताको जनसंख्या सामान्यतया कम उमेरका छन्।

‘यदि त्यसो हो भने हालसम्म बृद्धावस्थाका मानिसलाई यस भाइरसले सबैभन्दा बढी प्रभावित गराएको तथ्यांकको विरुद्ध बेलायतमा देखिएको यस नयाँ आयामले झन् ठूलो संकट र आश्चर्यको पर्दा खेलेको छ,’ निल अगाडि थप्छन्।

कमजोर स्वस्थ्य र गरिबी बीचको सम्बन्ध

हालको खतराका संकेतहरूले बेलायतमा लामो समयदेखि कायम संरचनागत असमानतालाई पनि उजागर गरेको छ। ‘बेलायतको अल्पसंख्यक समुदायका सदस्यहरू अन्य जनसंख्याको दाँजोमा गरिबीको चपेटाबाट गुज्रिरहेको हुनसक्ने यसले औंल्याएको छ,’ युनिभर्सीटी अफ न्यूयोर्कका प्राद्यापक केट इ पिकेटले अनुमान लगाइन्।

स्वास्थ्यको कमजोर आधाररेखा तथा समाजिक दूरीको क्षमतामा कमीले गर्दा यस पृष्ठभूमिको नागरिकमा कोरोना भाइरसको संक्रमण तीब्र भएको प्रष्ट भएको उनको मत छ।

‘वंशज वा पृष्ठभूमिको कारणले नै उनीहरुलाई कोभिड–१९ को संकटतर्फ धकेलेको भने पटक्कै हैन,’ वंशज र समानतामाथि काम गर्ने रनिमेड ट्रष्ट नामक थिङ्कट्याङ्का निमित्त निर्देशक जुबैदा हक भन्छन्, ‘तर, सोही वंशज वा पृष्ठभूमिले निर्धारण गरेको उनीहरूको स्वास्थ्यको अवस्था, स्वास्थ्य सेवामा पहुँच र सोभन्दा बढी उनीहरूको आर्थिक हैसियतले उनीहरू कोभिड–१९ को संक्रमणतर्फ उन्मुख भएका हुन्।’

बेलायतमा कोरोना भाइरस प्रभावितको मृत्युसंख्यामा बढोत्तरी आइरहँदा अल्पसंख्या समुदायको नागरिक अग्रपंक्तिका निहत्था योद्धा भएको प्रमाणित भइसकेको छ। नेशनल हेल्थ सर्भिसले यस संकटको सामनाका लागि परिचालन गरेकोमध्ये लगभग आधाजसो स्वास्थ्य कार्यकर्ताहरू अल्पसंख्यक समुदायका हुन् भने तीन चिकित्सकमध्येको एक आप्रवासी समुदायका हुन्। कोरोना भाइरसको कारण ज्यान गुमाउने नाक, कान र घाँटी चिकित्सक अम्गद यल हर्वानी, स्वास्थ्य सेवा सहायक थोमस हार्भे र डाक्टर अल्फा साउद पनि आप्रवासी समुदायकै सदस्य थिए।

हार्भेकी छोरी तमिराले लण्डनस्थित गड्मेइज अस्पताल आफ्नो बुवाको लागि अत्यावशेक व्यक्तिगत सुरक्षा सामग्री प्रदान गराउनबाट चुकेको आरोप लगाएकी छिन्। यस साथै बुवाको मृत्यु हुनुभन्दा केही दिन अगाडि श्वासप्रश्वासमा समस्या आएको बताउँदा पनि अस्पताल अन्तर्गतको आकस्मिक सेवाले उनलाई उपचारको लागि लिन नआएको पनि तमिराले बताइन्।

थोमस हार्भे कार्यरत अस्पतालको सञ्चालनमा जिम्मेवार लिएको नेशनल हेल्थ सर्भिसले उनी बिरामी भएर आफ्नो कामबाट छुट्टी लिँदाको दिनसम्म अस्पतालमा कोरोना संक्रमणको लक्षण देखिएका एक जना पनि बिरामी भर्ना नभएको र अस्पतालले सरकारद्धारा तोकिएको व्यक्तिगत सुरक्षा सामग्री सम्बन्धी निर्देशिकाको कडा रुपमा पालना गरेको प्रतिक्रिया दिएको छ भने हार्भेको छोरीद्धारा आउन नमानेको भनेर आरोप लागेको लण्डन एम्बुलेन्स सर्भिसले सोमाथि कुनै प्रतिक्रिया जनाएको छैन।

(अनुवादित सामग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय