‘कोरोना परीक्षणमा प्रदेश २ सरकार ‘फेल’ भइसकेको छ’

देशमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ। बितेको तीन दिनभित्र ६ जना नयाँ संक्रमित भेटिएका छन्।
तीमध्ये प्रदेश २मा चार जना संक्रमित पुगिसकेका छन्।

यद्यपि वीरगंजमा फेला परेका तीनजना कोरोना संक्रमित भारतीय हुन् । तर, सोमबार रौतहटका एक युवकमा कोरोना संक्रमण रहेको पुष्टि भइसकेको छ। प्रदेश २ मा चारजना कोरोना संक्रमित भेटिएपछि सर्वसाधारण त्रसित बनेका छन् ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले लागु गरेको ‘लकडाउन’ पनि लम्बिएको छ । सरकारले १५ वैशाखसम्म ‘लकडाउन’ लागू गर्ने निर्णय सुनाइसकेको छ।

कोरोना संक्रमण रोकथाम गर्न ‘लकडाउन’ गरिएपनि प्रदेश २ को कतिपय स्थानमा यसको कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको छ । ‘लकडाउन’ उल्लंघन नगर्न सम्झाइ बुझाइ गर्दा प्रहरीमाथि आक्रमण भएको छ । ढुंगामुढा भएपछि प्रहरीले सोमबार सिरहामा २३ राउण्ड हवाइ फायर नै गर्नुपर्‍यो ।

यता, कोरोनासँग लड्न युद्धस्तरमा काम गर्नुपर्ने भएतापनि प्रदेश सरकार अझै सुस्त देखिएको छ । दक्ष जनशक्तिको कमी, कोरोना उपचारको लागि आवश्यक उपकरणको अभाव, क्वारेन्टाइनमा राखिएकाहरुको स्वाब परीक्षणमा ढिलाइलगायतका कारण प्रदेश २ मा जोखिम बढ्दै गइरहेको चिकित्सकहरु बताउँछन् ।

अहिलेको महामारीमा चिकित्सकहरु बढी जिम्मेवार हुनुपर्ने डा.अजय झा बताउँछन् । सरकार र सरकारको सेरोफेरोमा बस्ने व्यक्तिहरु कोरोना महामारीको सम्बन्धमा चिकित्सा विज्ञानलाई बुझ्न नसकेको उनको भनाइ छ ।

कोरोना रोकथाम गर्न वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सञ्चालन गरेको कोरोना परामर्श एवं समन्वय केन्द्रका सदस्यसमेत रहेका झा कोरोनाविरुद्धको लडाईंमा सबैभन्दा कमजोर व्यवस्था प्रदेश २ को रहेको टिप्पणी गरे । भक्तपुरको क्यान्सर अस्पतालमा कार्यरत डा. झा कोरोना उपचारका लागि प्रदेश २मा खटिएका छन्।

कोरोना संक्रमण पत्ता लगाउन सबैभन्दा महत्वपूर्ण जाँच रहेपनि प्रदेश सरकारले यसलाई गति दिन नसकेको उनको भनाइ छ । ‘शंकास्पदलाई जाँच गरेरै संक्रमण पत्ता लगाउन सकिन्छ, प्रदेश सरकाले १० दिनअघि पिसीआर मेसिन पाइसकेको छ,’ उनले भने, ‘तर प्रत्येक दिन तीनदेखि पाँचवटा जाँच भइरहेको छ, यो कुनै टेस्ट नै होइन।’ यही गतिमा हिंडिरहे संक्रमण फैलिने सम्भावना व्याप्त रहेको उनको भनाइ छ ।

‘प्रादेशिक अस्पताल सामाजिक विकास मन्त्रालय मातहत छ, कोरोना जाँच प्रादेशिक अस्पतालभित्र भइरहेको छ,’ उनी थप्छन्,‘जाँच कम भइरहेको बारे सामाजिक विकास मन्त्रालय अनभिज्ञ छ ।’ जाँचको दायरा बढाउनतर्फ सामाजिक विकास मन्त्रालयले ध्यान दिनु अहिलेको प्रमुख आवश्यक्ता रहेको झाले बताए ।

कोरोना जाँचको गति नबढ्नुमा जनशक्ति अभाव प्रमुख कारण रहेको झाले बताए । प्रदेश सरकारको सामाजिक विकासमन्त्रालय मातहत रहेको प्रादेशिक अस्पतालमा जाँचको दायरा बढाउन उसले गम्भीरता देखाउन नसकेको झाको भनाइ छ ।

‘प्रादेशिक अस्पताल सामाजिक विकास मन्त्रालय मातहत छ, कोरोना जाँच प्रादेशिक अस्पतालभित्र भइरहेको छ,’ उनी थप्छन्,‘जाँच कम भइरहेको बारे सामाजिक विकास मन्त्रालय अनभिज्ञ छ ।’ जाँचको दायरा बढाउनतर्फ सामाजिक विकास मन्त्रालयले ध्यान दिनु अहिलेको प्रमुख आवश्यक्ता रहेको झाले बताए ।

जनशक्ति अभाव, जाँचमा खटिएका जनशक्तिहरुलाई सरकारले व्यवस्थापन गर्न नसक्नु र शंकास्पदको हिसाबले कम क्षमताको पीसीआर रहेकोले जाँचले तिव्रता पाउन नसकेको उनको तर्क छ । स्वाब संकलन गर्न जम्मा तीनजना प्राविधिक रहे पनि सम्बन्धित मन्त्रालयले जनशक्ति थप गर्नतर्फ चासो नदेखाउँदा परीक्षणको दायरा बढ्न नसकेको झाले बताए ।

डा.झाले परीक्षणमा खटिएका प्राविधिकहरुलाई सरकारले उचित व्यवस्था गर्न नसक्नु दुःखद रहेको बताए । ‘स्वाब परीक्षणमा खटिएका प्राविधिकहरु दिनभर ल्याबमा काम गर्छन, खानासमेत खान पाउँदैनन्, ल्याबबाट निस्केपछि घर गएर बस्नुपर्ने उनीहरुको बाध्यता छ, यसलाई कसले हेर्ने ?,’ झाको प्रश्न छ । ‘आइसोलेसन वार्डमा खटिइरहेका चिकित्सकहरुलाई छुट्टै व्यवस्था गर्नुपर्ने हुन्छ, उहाँहरु घर गएर बस्नुपर्ने बाध्यता छ, जोखिम मोलेर काम गर्नु परिरहेको छ,’ झाले भने ।

अस्पतालहरुमा आइसोलेसन वार्डलाई सरकारले व्यवस्थापन गर्न नसकेको उनको गुनासो छ । जनकपुरस्थित प्रादेशिक अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल गरी जम्मा २५ जना विशेषज्ञ एनेसथेसियन रहेको भन्दै उनले यस्तो अवस्थामा कोरोनाविरुद्धको लडाईं लड्न नसकिने बताए ।

कोरोना महामारीको रुप लिइरहेको बेला आवश्यक पर्नसक्ने चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिकलगायतका विषयमा सरकारको ध्यान पुग्न नसकेको उनको भनाइ छ । भेन्टिलेटर चलाउने विज्ञबारे सरकारले हालसम्म कुनै गृहकार्यसमेत गर्न नसकेको झा बताउँछन् ।

भेन्टिलेटरलगायतका सामान खरिद, बैठक बसेर कोरोनाका संक्रमणकै कारण मृत्यु भए ५० लाख रुपैयाँ दिने निर्णय गर्नुभन्दा पनि आवश्यक तयारी गर्नु अहिलेको आवश्यक्ता रहेको उनको भनाइ छ । हालसम्मको तयारी हेर्दा कोरोना महामारी रोक्न प्रदेश सरकारलाई सयमा एक अङ्क पनि दिन नमिल्ने डा.झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय