थिमी नगरपालिका : घरमै पुगेर परीक्षण, जिआइएस सिस्टमद्वारा ‘जोखिम’ क्षेत्र पहिचान गर्दै

हेल्थपोस्ट नेपाल

भक्तपुरको ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ ले नगरवासीको घरघर पुगेर कोरोना परीक्षण सुरु गरेको छ।

मध्यपुर थिमी नगरपालिकाको अगुवाईमा अस्पतालले बायोसेफ्टी-२ लेभलको मोलेकुलर प्रयोगशाला स्थापना गरेको छ।

नगरपालिकाले अहिले ९ वडाहरुको सहकार्यमा १५ देशबाट फर्किएका ५३ जना व्यक्तिको परीक्षण गरिसकेको छ। भौगोलिक सूचना प्रणाली(जिआइएस) विधिबाट पहिचान गरेर नगरपालिकाले उनीहरुको स्वास्थ्य अवस्था तथा विदेशको समेत सूचनाहरुलाई विश्लेषण गर्दै जोखिमको अवस्था पनि पहिचान गर्न थालेको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. ज्ञानकृष्ण कायस्थका अनुसार परीक्षण गरिएका ५३ जनाको परीक्षण नतिजा नेगेभिट देखिएको छ।
नगरपालिकाले इन्टरपिड नेपाल तथा सिएमडिएनसँगको सहकार्यमा समुदायमा आधारित परीक्षण र निगरानी बढाइरहेको जानकारी दिएको छ।

परीक्षणमा संलग्न डा. दिवेश कर्माचार्यका अनुसार जिआइएस म्यापिङका आधारमा परीक्षण गर्दा जोखिम पहिचान गर्न र निगरानीका लागि थप सहज हुन्छ। उनका अनुसार यो विधिबाट कुन क्षेत्र वा स्थान कति जोखिममा छ भन्ने कुरा छुट्याउन सजिलो हुन्छ।

नगरपालिकाले उक्त अस्पतालमा १६ वेडको आइसोलेसन वार्ड तथा २० बेडसहितको क्वारेन्टाइन बेड तयारी अवस्थामा राखेको छ।

परीक्षणका बारेमा जानकारी दिनका लागि गरिएकाे पत्रकार सम्मेलनमा मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले महामारी फैलिन नदिनका लागि नगरपालिकाले पर्याप्त पूर्व तयारी गरिसकेकाे बताए। उनले समुदायमा आधारित यस्ताेखाले परीक्षणले जाेखिम पहिचान र न्यूनिकरण अझै‌ं सजिलाे हुने पनि बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *