‘दुर्गममा सबै कुरा बेलैमा नपुग्न सक्छ, तर पनि बलियाे तयारी गरेका छौं’

डोटीको दुर्गम गाउँपालिकामध्येको एक हो बोगटान फुड्शिल गाउँपालिका। उक्त गाउँपालिका अधिकांश जनता रोजगारीका लागि भारत जाने गर्छन्।

भारतबाट बोगटानमा ठूलो संख्यामा नागरिकहरू भित्रिएका छन्। त्यसैले उक्त गाउँपालिकाले कोरोना भित्रिन सक्ने भन्दै उच्च सतर्कता अपनाएको छ। गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्शिलाका अनुसार भारतबाट ठूलो संख्यामा नागरिक भित्रिएकाले गाउँपालिकामा बलियो सावधानी अपनाइएको हो।

उनले भारतबाट आएका सबै नागरिकको लागत संकलन गरिएको र सबैलाई क्वारेन्टाइनमा राखेर मात्र घर पठाइने गरिएको बताए। ‘यहाँ भारत बाहेकका मुलुकबाट नागरिक आएको पाइएको छैन। तर, भारतबाट मात्रै ३ सय ९४ जना आएका छन्। यो चैत १ गतेदेखिको मात्र तथ्याङ्क हो। र, चैत्र ८ गते यता आएका सबैलाई क्वारेन्टाइनमा राखेका छौं,’ उनले भने।

उनले १ सय ५० जनालाई अहिलेसम्म गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएको बताए। कोरोनाका लक्षण नदेखिएका र क्वारेन्टाइन अवधि पूरा गरेका नागरिकहरूलाई घर–घर पठाउने कार्य भइरहेको समेत उनले जनाए।

शंकास्पद ३७ जनाको स्वाव संकलन गरेर काठमाडौं पठाइएकोमा आइतबार सबैको रिपोर्ट आएको र सबैमा नेगेटिभ देखिएको अध्यक्ष गड्शिलाको भनाइ छ। ८३ जनाको र्‍यापिड टेस्ट गरिएकोमा उनीहरूमा पनि कोरोना नेगेटिभ देखिएको गड्शिलाले बताए।

गाउँपालिकामा भारतबाट आएर घरमै सेल्फक्वारेन्टाइनमा बसिरहेका अन्य थुप्रै नागरिकको पनि र्‍यापिड टेस्ट गरिएको र अहिलेसम्म सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए।

‘हामीले चार वटा आइसोलेसन बेड तयार पारेका छौं। एउटा केदाराखडा प्राथमिक स्वास्थ्य चौकीमा छ भने अर्को दुई बेडको आइसोलेसन खत्याडीमा छ,’ उनले भने, ‘यो पहाडी इलाका भएकाले टाढा–टाढा मान्छेको बसोबास हुन्छ। त्यसैले विभिन्न ठाउँका १० विद्यालयहरूमा क्वारेन्टाइन बनाएका छौं।’ उनले त्यसरी क्वारेन्टाइनमा राखिएकाहरूलाई गाउँपालिकाले बस्ने खाने व्यवस्था राम्रोसँग गरेको बताए।

क्वारेन्टाइनमा राखेका मान्छेको रेखदेखका लागि क्वारेन्टाइन रहेको वडा अध्यक्ष र उक्त वडाको स्वास्थ्य संस्थाको प्रमुखलाई खटाइएको उनको भनाइ छ। ‘सुरूमा चिकित्सकका लागि आवश्यक पर्ने सामग्रीको अभाव भए पनि अहिले कुनै समस्या छैन। प्रदेश सरकारले पनि आवश्यक सामग्री पठाएको छ। अहिले केही समयका लागि हामीसँग अत्यावश्यक सामग्रीको मौज्दात छ,’ अध्यक्ष गड्शिलाले भने।

उनले गाउँपालिकाले पनि सामग्री खरिद गरेर राखेको र डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सांसद् प्रेमबहादुर आले मगरले पनि सहयोग प्राप्त भएको जानकारी दिए। स्वास्थ्य कार्यालयबाट पनि सामग्री प्राप्त भएकाले अहिले समस्या नरहेको उनको भनाइ छ।

गाउँपालिकाले ५० लाखको विपद व्यवस्थापन कोष पनि खडा गरेको गड्शिलाले बताए। ‘कोषमा प्रदेश सरकारले सहयोग गरेको छ, स्थानीय कर्मचारी, जनप्रतिनिधिले तीन लाख जति कोषमा सहयोग गरेका छन्। त्यो सबै लगाएर हाम्रो कोषमा ५६ लाख जम्मा भएको छ,’ उनले भने, ‘त्यसलाई एउटा मापदण्ड बनाएर हामीले विपदका क्षेत्रमा खर्च गर्ने गरेकाछौं।’

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले फिल्डमा खटिएर राम्रो काम गरिरहेको बताउँदै अध्यक्ष गड्शिलाले आफूहरू पनि उनीहरूको साथसाथमै रहेको बताए। उनीहरूको मनोबल उच्च गर्नुका साथै अन्य व्यवस्थापनमा गाउँपालिका सक्रिरहेको अध्यक्ष गड्शिला बताउँछन्।

गाउँपालिका विपन्न परिवारका लागि राहत वितरणमा समेत सक्रिए रहेको उनले बताए। ‘अहिलेसम्म गाउँपालिकाका करिब पाँच सय परिवारलाई खाद्य सामग्री वितरण गरिसकेका छौं,’ उनले भने, ‘हामीले कोरोनासँग जुध्न आफ्ना संयन्त्रहरूलाई तयारी अवस्थामा राखेका छौं। भोलि आवश्यकता अनुसार आफ्ना संयन्त्रहरूलाई परिवर्तन गर्दै अगाडि बढ्ने छौं।’

जिल्ला, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर अगाडि बढ्ने कुरा अहिलेको प्राथमिकता भएकाले आफूहरू त्यतातर्फ पनि सक्रिए रहेको गड्शिलाले बताए। भौगोलिक दुर्गमताले भनेको र खोजेको बेलामा सबै कुरा उपलब्ध हुन गाह्रो भएकाले पनि आफूहरूले भ्याएसम्मको सबै सहयोग गरिरहेको र सतर्कता अपनाएको उनले बताए।

गाउँपालिकाका सबै ठाउँमा दरबन्दीअनुसारका चिकित्सकहरू रहेकाले स्वास्थ्यकर्मीको समस्या गाउँपालिकाले खेप्नु नपरेको उनले बताए। एमबिबिएस डाक्टर पनि गाउँपालिकाले निजी स्रोतबाट राखेकाले अहिले समस्या नरहेको उनको भनाइ छ। ‘ल्याबलगायत अन्य स्वास्थ्यकर्मी पनि छन्। करारमा राखेर भए पनि गाउँपालिकामा हामीले चिकित्सकको पर्याप्ततालाई ध्यान दिएका छौं,’ उनले भने।

उनले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्न सबै जनप्रतिनिधिको नम्बर सार्वजनिक गरिएको र ती नम्बरमा सम्पर्क गर्दा गाउँपालिकाले सहयोग गरिरहेको बताए। पहाडमा पाल्तो बस्ती हुने र एकले अर्कोलाई चिनेकै हुने भएकाले पनि त्यस्तो धेरै समस्या नपर्ने गरेको अध्यक्ष गड्शिलाले बताए।

गाउँपालिकामा कसको अवस्था कस्तो हो भन्ने सबैले बुझेकै भएकाले पनि राहत, सहयोग प्रदानमा पनि समस्या नहुने गरेको उनको भनाइ छ। विश्व नै कोरोनासँग लडिरहेकाले सबैलाई उच्च मनोबल बनाएर सरकारका निर्देशन पालना गर्न गड्शिला अनुरोध गर्छन्।

उनले वैशाख १ गते डोटीमा विशु पर्व भव्य रुपमा भनाउने भए पनि यसपटक सबैले घरभित्रै बसेर विशु मनाएको बताए। यसले पनि जनताले सरकारको निर्देशन पालना गरिरहेको प्रष्ट भएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय